कञ्चनपुरको महेन्द्रनगरमा महिला क्रिकेट शुरु : पहिलो खेलमा सुदूरपश्चिम विजयी

काठमाडाैं । कञ्चनपुरको महेन्द्रनगरमा राष्ट्रिय खेलकूद परिषद्को आयोजनामा बुधबारदेखि प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई नौ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको गण्डकीले २० ओभरमा सबै विकेट गुमाएर ५८ रन बनाएको थियो । गण्डकीका शिला रेग्मीले १९ र सुशिला गुरुङले १७ रन बनाए । सुदूरपश्चिमका तर्फबाट कविता कुँवर, लक्ष्मी साउद र जानकी भट्टले समान दुई विकेट तथा कविता जोशीले एक विकेट लिएका थिए  भने तीन खेलाडी रन आउट भएका छन् । लक्ष्य पूरा गर्न ब्याटिङमा उत्रेको सुदूरपश्चिमले एक विकेट गुमाएर निर्धारित २० ओभरको खेलमा सात ओभरमै लक्ष्य भेटाएको थियो । सुदूरपश्चिमका तर्फबाट कविता कुँवरले २१ तथा कविता जोशी र रेवती धामीले समान १२ रन बनाएका थिए । गण्डकीका तर्फबाट मनिषा उपाध्यायले  एक विकेट लिएकी थिइन् भने खेलको म्यान अफ दी म्याच कविता कुँवरलाई घोषित गरियो । रासस

अग्निपीडितका लागि राहत, ३९ परिवारको आवास पुनःनिर्माण सम्पन्न

काठमाडाैं । आगलागीबाट खण्डहर बनेको बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवीगाउँको बस्ती पुनःनिर्माण गरिएको छ । ढोरपाटन नगरपालिकाले अग्निपीडित परिवारलाई उपलब्ध गराएको रु एक लाख राहत रकम र नगरप्रमुख देवकुमार नेपालीले व्यक्तिगत रूपमा उपलब्ध गराएको जस्तापाताले अग्निपीडितको घर पुनःनिर्माण गरिएको हो । विसं २०७५ मङ्सिर ९ गते नवीगाउँमा भएको भीषण आगलागीबाट घरबासविहीन बनेका ३९ परिवारको आवास पुनःनिर्माणकार्य सम्पन्न भएको ढोरपाटन नगरपालिकाले जनाएको छ । नगरपालिकाले बस्ती निर्माणका लागि ३९ घरपरिवारलाई पहिलो किस्ता रु २५ हजार पहिला नै हस्तान्तरण गरेको थियो भने बस्ती निर्माण सम्पन्न भएसँगै अन्तिम किस्ता रु ७५ हजार हस्तान्तरण गरिएको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले बताएका छन् । ढोरपाटन नगरपालिकाको तर्फबाट रु एक लाख तथा नगरप्रमुखको व्यक्तिगत रङ्गीन जस्तापाता र एक/एक थान सौर्य उपकरण सहयोग गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले जानकारी दिए । आगलागीबाट खरानी बनेको नवीगाउँको पुनःनिर्माणपछि बस्तीको मुहार नै फेरिएकामा अग्निपीडित खुशी भएका छन् । “जनताका निम्ति धेरै आलोचनाका बीचमा बस्ती पुनःनिर्माण गरेका छौँ”, नगरप्रमुख नेपालीले भने, “अग्निपीडितले गाउँमै सिंहदरबार आएको बल्ल महसुस गर्न पाए ।” आगलागीबाट घर पूर्णरुपमा नष्ट भएपछि अस्थायी छाप्रोमा बस्दै आएका अग्निपीडित दिलीपकुमार विकले ढोरपाटन नगरपालिका र नगरप्रमुखको सहयोगमा नयाँ घरमा बस्न पाउँदा साँच्चिकै स्थानीय सरकार घरदैलोमा आएको भन्दै खुशी व्यक्त गरेका छन् । पहिले कुरुप देखिने नवीगाउँ अहिले एउटै रङको जस्तापाताले छाएको एकै प्रकारको घरले सुन्दर भएको छ । सुन्दर आवाससँगै सोलार पातासमेत पाएपछि आफूहरुमा खुशीकाे सीमा नरहेको अग्निपीडित काले कामीले बताए । रासस

राउटेलाई नागरिकता दिइने, बस्ती प्रवेशका लागि शुल्क

  काठमाडाैं । कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई सरकारले नागरिकता दिने भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दैलेखको गुराँस गाउँपालिकाले दिएको परिचयपत्रका आधारमा नागरिकता दिने भएको हो । सो गाउँपालिकाले गत वर्ष परिचयपत्र वितरण गरेको थियो । सोही परिचयपत्रका आधारमा नेपाली नागरिकता प्रदान गरिने मन्त्रालयका सचिव डा. मानबहादुर विकेले बताएका छन् । राउटे समुदायको क्षेत्रमा काम गरिरहेका सरोकारवालासँगको अन्तरक्रियामा मन्त्रालयका सचिव डा. विकेले भने, “सामाजिक सुरक्षाभत्ता वितरणलगायतका अन्य सरकारी कामकाजमा सहजता हुने भएकाले नागरिकता वितरण गर्न लागिएको हो ।” उनले राउटे समुदायसँग काम गरिरहेका सरोकारवालासँगको सहकार्य र समन्वयमा नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाउने बताए । यसरी, अघिल्लो वर्ष गुराँस गाउँपालिका–८ को ठेगाना राखेर परिचयपत्र पाएका उनीहरुले गुराँस गाउँपालिकाकै स्थायी बासिन्दाको रुपमा नागरिकता पाउने भएका हुन् । “राउटे समुदायले जहाँबाट परिचयपत्र पाएका थिए, त्यहीँको ठेगाना राखेर नेपाली नागरिकता दिने प्रक्रिया शुरु गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले बताएका छन् । प्रक्रिया पुर्याएर राउटे बस्तीमै पुगेर नागरिकता वितरण गर्ने प्रमुख जिल्ला अधिकारी बाँस्कोटाको भनाइ छ । सुर्खेतको गुर्भाकोट नगरपालिकाको बेतीनी खोला किनारबाट दुई साताअघि दैलेखको गुराँस गाउँपालिका–५ कान्छी बजारमा बस्ती सारेका छन् । राउटे समुदायको जनसङ्ख्या १४६ छ । उनीहरु कल्याल, रास्कोटी र राजवंशी ठकुरी छन् । राउटे बस्ती हेर्न शुल्क बाह्य नागरिक मनपरि रुपमा राउटे बस्तीमा प्रवेश गर्दा उनीहरुको परम्परागत संस्कार र संस्कृति लोप हुँदै गएको र विकृति बढ्दै गएको भन्दै गुराँस गाउँपालिकाले बस्ती हेर्न जानेसँग शुल्क लिन थालेको छ । लोपोन्मुख राउटे समुदायको संरक्षण र सुरक्षाका लागि बस्ती हेर्न जानेसँग शुल्क लिन थालिएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए । गाउँपालिकाले गाउँपालिकाभित्रका नागरिकका लागि रु १०, नेपाली नागरिकका लागि रु २०, विदेशी नागरिकका लागि रु ५००, अडियो भिडियो डकुमेन्ट्री मोबाइलका लागि रु १००, अडियो, भिडियो र क्यामराका लागि रु एक हजार शुल्क तोकेको छ । शुल्क तोकिएको बोर्ड राउटे बसोबास क्षेत्र प्रवेशद्वारमै राखिएको छ । गाउँपालिकाका अध्यक्ष ओलीका अनुसार बस्ती प्रवेशका लागि शुल्क लिन थालेपछि राउटे बस्तीमा मनपरि रुपमा प्रवेश गर्नेको सङ्ख्या घटेको छ । बस्ती हेर्न जानेबाट उठेको रकम राउटे समुदायको उत्थान र संरक्षणमा लगाउने अध्यक्ष ओलीले बताएका छन् । अहिले राउटे समुदाय बसेको क्षेत्र गुराँस–५ कान्छी बजारको खुला चौरलाई डोरीको सहायताले घेरबार गरिएको छ । गाउँपालिकाले बस्ती प्रवेश गर्नेका लागि शुल्क उठाउन दुई कर्मचारी खटाएको छ । एइआइएन लक्जेम्वर्गको सहयोग, गुराँस गाउँपालिकाको समन्वयमा सोसेक दैलेखमार्फत सञ्चालित राउटे परियोजनामार्फत एक अहेव र दुई जोडी शिक्षक राउटे बस्तीमा खटिएका छन् । रासस