शनि विश्वकर्मा बने पहिलो नेपाल लोक स्टार,हात पारे ५० लाख

काठमाडौं । राेल्पाका शनि विश्वकर्मा लोक गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ को विजेता बन्न सफल भएका छन् । शुक्रबार भृकुटीमण्डपमा सम्पन्न ग्राण्ड फिनालेबाट नेपालले नेपालकै पहिलो उत्कृष्ट मौलिक आवाजको धनी पाएको हो । नेपाल लोक स्टारको विजेता भएसँगै विश्वकर्माले ५० लाख रुपैयाँको पुरस्कार हात पारेका हुन् । यसका साथै उनले २५ लाख रुपैयाँ बराबरकाे जीवन बीमा पनि हात पारेेेेका छन् । यस्तै चेतन गोतामे (स्याङ्जा) लोकस्टारको दोस्रो बन्न सफल भएका छन् । उनले २५ लाख रुपैयाँ पुरस्कार र १५ लाख बराबरकाे जीवन बीमा हात पारेका छन्। विनोद दनुवार (उदयपुर) ले भने प्रतियोगितामा तेस्रो स्थान हात पारे । उनले १० लाख रुपैयाँ नगद पुरस्कारका साथै १० लाख रुपैयाँ बराबरकै जीवन बीमा प्राप्त गरेेेेका हुन् । यस्तै रामकुमार नेपाली इलेक्ट्रिफाइङ्ग पर्फर्मेन्स अवार्ड हात पार्न सफल भए। उनले लिट्मस केबलको तर्फबाट २ लाख रुपैयाँ हात पार्न सफल भए । फिनालेमा रामकुमार नेपाली (रामेछाप), शनि विश्वकर्मा (रोल्पा), चेतन गोतामे (स्याङ्जा) र बिनोद दनुवार (उदयपुर) बीच प्रतिस्पर्धा भएको थियो । ‘नेपाल लोक स्टार’का अनुसार गएको शनिबार दिउँसो १२ बजेबाट शुक्रबार दिउँसो १२ बजेसम्म स्रोता तथा दर्शकले गरेको भोटको आधारमा विजेता घोषित भएका हुन् । नेपाल लोक स्टारमा निर्णायकको रुपमा वरिष्ठ कलाकार तथा गायक जयनन्द लामा, गायक रामजी खाँड, सुनिता दुलाल र वरिष्ठ संगीतकार बीबी अनुरागी रहेेेेका थिए । अडिसनदेखि विभिन्न राउण्डहरु पार गर्दै नेपाल लोक स्टार को ग्राण्ड फिनालेमा ४ प्रतिस्पर्धी पुग्न सफल भएका थिए ।

कात्तिक १३ गते पनि सार्वजनिक बिदा दिने सरकारको निर्णय, नेवार समुदायको माग पूरा

काठमाडौँ । सरकारले कात्तिक १३ गते सार्वजनिक बिदा दिने भएको छ । मन्त्री परिषद्का निर्णय सार्वजनिक गर्दै बिहीबार सञ्चार मन्त्री गोकुल बास्कोटाले नेवारी समुदायले १३ गते मात्रै भाइटीका लगाउने भएपछि बिदा घोषणा गरिएको बताए । पञ्चाङ्ग निर्णायक समितिले तिहारमा कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिन सरकारलाई सुझाएको थियो । सोहीअनुसार क्यालेन्डर तयार गरिएको थियो । तर, नेवार समुदायले पञ्चाङ्ग निर्णायक समितिको निर्णय अस्वीकार गर्दै आएका थिए।

बिएसआर मुभिजको पहिलो शाखा बागलुङमा, संचालनमा दुई सिनेमा हल 

काठमाडौं । गोंगबुस्थित बीजी मलमा रहेको बीएसआर मुभिजको पहिलो शाखा बागलुङमा सञ्चालनमा आएको छ । सो मुभिजको उद्घाटन कलाकार नीर शाहले गरेका हुन् । उक्त मुभिज बीएसआर ग्रुपको लगानीमा बागलुङ बजारमा अत्याधुनिक सुविधा सहितको मल्टिप्लेक्स सञ्चालनमा आएको हो । जसको चार सय २६ सिट क्षमता रहेको छ । यसैगरी, बिहीबारबाट व्यवसायिक रुपमा सञ्चालनमा आउने दुईवटा हलहरु मध्ये औडी–१ मा २०० र औडी–२ मा २२६ सिट क्षमता छ । यसरी, थ्रिडी प्रविधिसहित सुरु भएको बीएसआर सिनेमामा चलचित्र हेर्ने दर्शकलाई चलचित्रमा भैरहेका सबै कृयाकलाप वास्तविक जस्तै महसुस गराउने छ । अत्याधुनिक साउण्ड सिष्टममा दर्शकले पर्दामा जुन दिशामा जस्तो वस्तु देखिन्छ सोही दिशाबाट आवाज आएको महसुस गर्न सक्ने र एसी, डिजिटल सराउण्डिङ साउण्ड सिष्टम, लक्जरी सिटले बागलुङ र आसपास क्षेत्रका दर्शकलाई नयाँ अनुभव दिने बीएसआर मुभिजका निर्देशक राजु गिरीले बताएका छन् । बीएसआरले अन्तर्राष्ट्रिय जगतमा प्रचलनमा रहेको पछिल्लो प्रविधि डल्बी अटमस साउण्ड सिष्टम नेपालमा भित्र्याउँदै दुई वटा अत्याधुनिक सिनेमा हल काठमाडौँको बिजी मलमा विसं २०७३ देखि सञ्चालन गरिरहेको छ ।