नेपाल बैंकद्धारा मानव कल्याण समाजलाई तीन लाख बराबरको आर्थिक सहयोग

काठमाडौं । नेपाल बैक लिमिटेडले भक्तपुरको चांगुनारायणस्थित मानव कल्याण समाज(सेवा घर) लाई तीन लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो ८३औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त संस्थामा आश्रय लिईरहेका आमा बुवाहरुको स्वास्थ्य र सरसफाईको लागि सो मात्राको सहयोग गरेको हो । बैंकको प्रदेश नम्बर ३ प्रादेशिक कार्यालयका प्रमुख सुन्दर पन्थीले समाजका संचालक सुमित्रा चौलागाईलाई एक समारोहका बीच उक्त राशीको चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा प्रादेशिक कार्यालय प्रमुख पन्थीले मानव सेवा नै माधव (भगवान) सेवा भएको सन्दर्भमा मानव सेवा समाजलाई सघाउन पाएकोमा खुसी व्यक्त गरेका छन् । समाजका अध्यक्ष चौलागाईले सहयोग निम्ति बैंकलाई धन्यवाद दिएकी छिन् । उक्त समारोहमा नेपाल बैंकका मुख्य प्रबन्धक सुर्य प्रकाश भट्ट, वरिष्ठ पबन्धक उज्ज्वल पोख्रेल, राम गोपाल श्रेष्ठ, प्रबन्धक अनुप अर्याल, उप प्रबन्धक विनोद गिरी, सहायक प्रबन्धक जीवराज ढकाल, सहयोग समन्वयकर्ता हेमराज वराल , मानव कल्याण समाजका पदाधिकारीहरुकोे उपस्थिति थियो ।

सागको ओलम्पिक टर्च र्याली आजबाट शुरू, सातै प्रदेशमा हुने

काठमाडौं । १३औं दक्षिण एशियाली खेलकूद (साग) को ओलम्पिक टर्च र्याली स्वयम्भूबाट शुरु भएको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले आज स्वयम्भूमा ओलम्पिक टर्च प्रज्वलन गरी ओलम्पियन समूहलाई हस्तान्तरण गरेका हुन् । सागको महत्वबारे देश भरी फैल्याउने उद्देश्यले टर्च र्यालीलाई सातै प्रदेशको मुख्य शहरमा पुर्याउने कार्यक्रम रहेको छ । ओलम्पिक टर्च काठमाडौँबाट आजै प्रदेश नं १ को राजधानी विराटनगरमा पुर्याइने कार्यक्रम रहेको छ । त्यसैगरी दोस्रो दिन प्रदेश नं २ को जनकपुर, तेस्रो दिन प्रदेश नं ३ को हेटौँडा र चितवन, चौथो दिन प्रदेश नं ५ को लुम्बिनी र बुटवल, पाँचौँ दिन कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं ५ को नेपालगञ्ज, छैटौँ दिन सुदूरपश्चिम प्रदेशको धनगढी तथा सातौँ दिन गण्डकी प्रदेशको पोखरा लगिने कार्यक्रम छ । आठौँ दिन टर्चलाई पोखरामा नगर परिक्रमा गराइने छ । सोही दिन पोखराबाट टर्चलाई काठमाडौँ ल्याइने छ । नवौँ दिन काठमाडौँको विभिन्न स्थान परिक्रमा गराइ त्यसै दिन साग उद्घाटनस्थल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दीप प्रज्वलन गरिने कार्यक्रम छ । र्यालीमा ओलम्पियनहरु तेक्वान्दोका दीपक विष्ट, एथलेटिक्सका बैकुण्ठ मान्नधर र राजेन्द्र भण्डारी, पौडीकी नयना शाक्य, बक्सिङका उमेश मास्के, जुडोकी देवु थापा, एथलेटिक्सका जितबहादुर केसी र एथलेटिक्सका ज्ञानबहादुर बोहरा, सुटिङका टीकाराम श्रेष्ठ, एथलेटिक्सका राजकुमारी पाण्डे, कान्छीमाया कोजु र मुकुन्दहरि श्रेष्ठ तथा खेलाडी सङ्घका अध्यक्ष एवं करातेका दीपक श्रेष्ठ सहभागी छन् । साग यही मङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौँ, पोखरा र जनकपुरमा हुँदैछ । रासस

भूपू सैनिकहरुको नवीकरण र रुजु कार्य शुरु

बलेवा । बागलुङमा पेन्सन क्याम्प शुरु भएको छ । विगतका वर्षहरुमा जस्तै चहलपहल नदेखिए पनि भारतीय सेना र विभिन्न संस्थाबाट अवकाश प्राप्त भूपूसैनिकको बागलुङ बजारमा चहलपहल देखिन थालेको छ । प्रत्येक ६ महिनामा हुँदै आएको क्याम्प यस वर्ष १ वर्षको अन्तरालमा बिहीबारदेखि शुरु भएको हो । यसअघिका क्याम्पमा भूतपूर्वहरुले पैसा नै बोकेर जान्थे तर यस पटक भने आफू ज्यूँदै रहेको, पेन्सनरको मृत्यु भएको, परिवारले पाउने पेन्सनको विषयमा जानकारी र मृतकको पेन्सन पट्टा दाखिलाको काम मात्रै हुनेछ । एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकमा खोलिएका खातामार्फत प्रत्येक महिना निवृत्तिभरण पाउनेहरुको खातामै रकम जाने भएकाले पेन्सन क्याम्पमा भूतपूर्वहरुको चाप भए पनि आर्थिक चाप कम देखिएको हो । क्याम्प मङ्सिर १३ गतेसम्म चल्ने जिल्ला सैनिक बोर्ड बागलुङका सेक्रेटरी पूर्णबहादुर थापाले जानकारी दिएका छन् । सदरमुकाम बागलुङमा रहेको क्याम्पबाट विगतमा करिब ८० करोड रकम वितरण हुन्थ्यो तर गत वर्षदेखि बैंकको खातामै रकम जम्मा हुने भएकाले यसपालि रकम वितरण भने क्याम्पमा हुनेछैन । सैनिक बोर्डका अनुसार साबिकको धौलागिरि अञ्चलमा आठ हजारभन्दा धेरै पेन्सनर रहेका छन् । केहीले पछिल्लो सयम बैंकबाटै पेन्सन बुझ्ने गरेका छन् । वर्षमा दुई पटक हुने गरेको क्याम्पले चहलपहल बढ्ने गरेको बागलुङ बजारमा यस वर्ष भने सामान्य चहलपहल देखिएको छ । तर क्याम्पमै रकम वितरण हुँदाको जस्तो आर्थिक कारोवार भने नभएको व्यवसायीहरु बताउँछन् । भारतीय सेना र भारतका विभिन्न सङ्घसंस्थाबाट अवकाश प्राप्त भूपूलाई पेन्सन दिनका लागि हरेक वर्ष नवीकरण गर्ने प्रक्रिया थालिएको छ । बैंक खातामा पेन्सन आउने भए पनि पेन्सनरहरु भने बैंकमा समेत लाइन लाग्ने गरेका छन् । “हरेक अङ्ग्रेजी महिनाको अन्तिम दिन पेन्सन रकम खातामा आउँछ”, थापाले भने, “खातामा रहेको रकम जहिले पनि निकाल्न मिल्छ तर भीडभाड हुने गरेको छ ।” पेन्सन खातामा जम्मा भएको रकममा ब्याजसमेत प्राप्त हुने भए पनि पेन्सनरहरुले नबुझेका कारण बैंकमा भीडभाड हुने गरेको थापाको भनाइ छ । रासस