‘झोला हराएको मान्छे’ मंसिर २४ गते देखी मण्डला नाटकघरमा मन्चन हुँदै

काठमाडौं। नाटक ‘झोला हराएको मान्छे’ यही मंसिर २४ गतेबाट मन्चन हुने भएको छ। उक्त नाटक अनामनगर स्थित मण्डला नाटकघरमा पौष १७ गते सम्म मन्चन हुन लागेको हो। विधमान देशको परिस्थिति हेर्दा हरेक दिन सयौँ युवाहरु वैदेशिक रोजगारीका शिलशिलामा झोलामा सपना बोकेर विदेशिन बाध्य छन् तिनै युवाहरुको मनोभाव हो “झोला हराएको मान्छे।” नाटकको स्लिम जीवनले लेखेका हुन् भने कथालाई नाटय रुपान्तरण अभिनेता दिपेन्द्र शाहिले गरेका हुन्। नाटकको तयारी गर्दै कलाकारहरु कथाको पृष्ठभूमि २०७० साल ताकाको हो जब देशमा राजनीतिक अस्थिरता र सिनेमा हलहरुमा नेपाली कथानक चलचित्र छड्के चलिरहेको थियो। त्यहि बेला नेपालको पुर्वी पहाडी जिल्ला भोजपुरबाट विदेश जान भनेर रुद्र प्रसाद पोख्रेल काठमाडौं आउँछ तर आकस्मात उसले झोला हराउँछ। नाटक रुद्रेको झोला खोज्ने संघर्षको वरपर घुम्नेछ। नेपालबाट लोपोन्मुख लज्जावती झारलाई नाटकले प्रतिनिधीत्व गर्दैछ। क्याप मोशन पिक्चर्स र एम्प्टी स्ट‍म्याक क्रियशनलको प्रस्तुतिमा बनेको ‘झोला हराएको मान्छे’मा नविन चन्द्र अर्याल, सुनीशा बँजगाई, चन्द्र नेपाली, विकाश लामा, सन्जित प्रताप मल्ल, गणेश पौँडेल(ताण्डव), जयराम ढकाल, स्लिम जीवन, विशाल श्री, आनन्द महत, मोहन राई, सबीना थापा, अरुण सिंह पौँडेल, सन्जिप योगी लगायतका कलाकारको अभिनय हेर्न सकिनेछ। नाटक सोमबार बाहेक हरेक साँझ ५ बजे र शनिबार अतिरिक्त शो १ बजे पनि रहनेछ।

आज बालाचतुर्दशीः पशुपतिलगायत शिवालयमा शतबीज छर्न लाखौं भक्तजन

काठमाडौं । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानैदेखि पशुपतिलगायत देशभरका शिवालयमा शतबीज छर्न लाखौँ भक्तजनको लर्को छ । हिजो बिहानैदेखि पशुपतिलगायत शिवालयमा महादीपदान गरी बसेका भक्तजनले आज बिहानै नदीमा स्नान गरी शतबीज छर्न शुरु गरेका हुन् । बालाचतुर्दशीसमेत भनिने मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान स्नान गरी शिवालय क्षेत्र विशेषगरी पशुपति क्षेत्रको मृगस्थलीमा धानका सय गेडा छरे दिवङ्गत पितृले मोक्ष पाउने शास्त्रीय मान्यता छ । हेमाद्रिलगायत धर्मशास्त्रका पुस्तकमा वर्णन गरिएअनुसार धानको १०० गेडा छर्ने विधि भएपनि हाल कतिपयले व्यवहारमा मकै, गहुँ, हलेदो, जौ, कागुनोलगायत अन्न शतबीजका रूपमा छर्ने गरेका छन् । मार्गशीर्ष कृष्ण त्रयोदशीको राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीपदान गरेपछि खानका लागि अन्न छरिएको हो भन्ने मान्यतासमेत छ । शतबीज छरेमा दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास छ । यसै विश्वासका आधारमा पशुपति क्षेत्रको विशेषगरी मृगस्थली, विश्वरूप, सूर्यघाट, कैलाशडाँडा, उमाकुण्ड, गौरीघाटलगायत क्षेत्रमा बिहानैदेखि शतबीज छर्ने भक्तजनको भीड लागेको छ । गत वर्षदेखि बालाचतुर्दशीको मेला भर्न पशुपति क्षेत्रमा आएका भक्तजनलाई चिसो नहोस् भनी पशुपति क्षेत्र विकास कोषले त्रिपालको व्यवस्था गरेको थियो । यस वर्ष त्रिपालमुनि बसेर महादीपदान गर्ने भक्तजनसँग शुल्क लिन नपाउने व्यवस्था गरिएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । कसैले शुल्क उठाएको पाइएमा कारवाही गर्ने उनले बताएका छन् । यसका लागि पशुपति क्षेत्रको सुरक्षा कडा बनाइएको छ । चारवटै सुरक्षा निकायको समन्वयमा पशुपति क्षेत्रको सुरक्षा कडा बनाइएको हो । यस वर्षदेखि यो नयाँ व्यवस्था गर्दा रातभर दीपदान गरेर बस्नेलाई सुविधा पुगेको छ । विसं २०७४ सम्म त्रिपालको समेत व्यवस्था नहुँदा श्रद्धालु चिसोले कठ्याङ्ग्रिने गरेका थिए । पशुपतिसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, वसन्तपुरस्थित हनुमानढोका दरबारअघिको सानो पशुपतिनाथ भनेर चिनिने शिवालयलगायत देशभरका शिव मन्दिरमा भक्तजनले दिवङ्गत पितृका नाममा शतबीज छरिरहेका छन् । बालाचतुर्दशीका दिन पशुपति क्षेत्रमा आउने भक्तजनले वासुकी र गुह्येश्वरी मन्दिरमा पनि विशेष पूजा गर्ने विधि छ । पशुपतिलगायत देशभरका शिवालयमा आज सोमबार परेकाले पनि पितृका नाममा शतबीज छर्नेबाहेकका भक्तजनको समेत उपस्थितिका कारण बढी भीड छ । शतबीज छरिसकेर विधिपूर्वक हवनसहित चतुर्थी गरेपछि बालाचतुर्दशी पर्व समाप्त हुन्छ । रासस

माइती इण्डियाको प्रयासमा दुई चेलीको उद्धार

काठमाडौं । माइती ईन्डियाको प्रयासमा आज दुई चेलीको उद्धार भएको छ । काठमाडौंबाट दिल्ली पुर्याइएका अवस्थामा ती चेलीहरूको उद्धार भएको हो । काभ्रे जिल्ला घर भएकी वर्ष २५ रिता (नाम परिवर्तन) काठमाण्डौँको बाटो हुँदै दिल्लीमा राम्रो नोकरी लगाइदिने प्रलोभनमा ललाइफकाई ल्याई कोठीमा बेच्दै गर्दाको अवस्थामा भेटिएकी हुन् । त्यसैगरी, अर्की झापाको चेलीलाई मितेनी साइनो लगाई राम्रो तलब, राम्रो काममा लगाइदिने प्रलोभनमा पारी विरगन्जको बाटो हुँदै दिल्ली पुर्याइएका दूवै जनालाई माइती ईण्डियाको प्रयासमा र समाजसेवी बालकृष्ण पाण्डेको सहयोगमा आज उद्धार गर्न सफल भएको छ । नेपाल दूतावास नयाँ दिल्ली, दिल्ली पुलिस सबैसँग समन्वय गरी ती दुई चेलीहरुलाई नेपाल फर्काइँदै गरेको माइती इन्डियाको ट्रष्टी सीता अधिकारीले बताएकी छन् ।