दुर्घटना न्यूनीकरण गर्न आजदेखि टाइमकार्ड शुरु

विराटनगर ।  दुर्घटना न्यूनीकरण गर्न मोरङको सुन्दर हरैचा नगरपालिका–७ गछियाको ट्राफिक प्रहरी पोष्टबाट आजदेखि टाइमकार्ड शुरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार टाइमकार्ड प्रदेश नं १ मा मोरङ, सुनसरी र झापाका १३ स्थानबाट शुरु भएको छ । टाइमकार्ड शुरु भएको स्थानबाट वितरण गरिएको टाइमकार्डअनुसार नचल्ने सवारी साधनलाई कारवाही गरिने र यसबट राजमार्गमा हुने सवारी दुर्घटनामा कमी आउने ट्राफिक प्रहरी निरीक्षक राकेश पोदारले जानकारी दिएका छन् ।

बैंक अफ काठमाण्डूद्वारा साई विद्या मन्दिरलाई ५ लाख सहयोग

काठमाडौं । बैंक अफ काठमाण्डूले भक्तपुरको श्री सजंय साई विद्या मन्दिरलाई विद्यालय हाता भित्र पुस्तकालय निर्माण गर्न सहयोग स्वरुप ५ लाख रुपैयाँ उपलब्ध गराएको छ । उक्त सहयोग रकम यस बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद थापालाई हस्तान्तरण गरेका हुन् । २०६८ साल बैशाख १ गतेदेखि संचालनमा रहेको उक्त विद्यालयले हालसम्म आफ्ना सबै विद्यार्थीहरुलाई निःशुल्क शिक्षा दिंदै आएको छ । बैंकले हाल ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

कोरोना भाइरस फैलिन नदिन तातोपानी नाकामा हेल्थ डेस्क स्थापना

चाैतारा । चीनमा फैलिएको नोवल कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन उत्तरी नाको तातोपानीमा हेल्थ डेस्क स्थापना गरिएको छ । भोटेकोशी गाउँपालिकासँग समन्वय गरी स्थानीयवासीमा जनचेतना जगाउने उद्देश्यले प्रचारप्रसार गर्नुका साथै हेल्थ डेस्क स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिए । डेस्कमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको र कोरोना भाइरसको लक्ष्यण देखिएमा बिरामीलाई तत्काल काठमाडौ अस्पतालमा पठाइने व्यवस्था मिलाइएको जिल्ला जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले बताएका छन् । तिब्बती भूभागमा हाल हिमपात भई सडक बन्द भएको र ल्होछार पर्वसमेत परेकाले एक सातादेखि चीनबाट सामान आयात बन्द गरिएको तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी केशव वलीले जानकारी दिए । अध्यागमन कार्यालयका अनुसार खासा क्षेत्रमा शुरुदेखि नै चिनियाँ चिकित्सकबाट स्वास्थ्य परीक्षण गरी सामान्य ज्वरो आएका व्यक्तिलाई पनि नेपाल प्रवेशमा रोक लगाउँदै आएको छ । विसं २०७२ को भूकम्पबाट बन्द रहेको नाका गत जेठ १५ गते पुनः सञ्चालनमा आएको थियो । एक दिने पासको व्यवस्था भए पनि नेपाली कामदालाई चिनियाँ पक्षले खासाभन्दा माथि प्रवेश निषेध गरेको छ । त्यहाँ जाँदा पनि बिहान गएर अपराह्न ३ बजे पुनः फर्कनुपर्ने बाध्यकारी नियम लागू गरेको अध्यागमन कार्यालयले जनाएको छ ।