मेट्रिक ठेगाना प्रणालीअनुसार घर नम्बर राख्ने काम अघि बढ्यो
ललितपुर । ललितपुर महानगरपालिका–३ बाट मेट्रिक ठेगाना प्रणालीअनुसार घर नम्बर राख्ने काम अघि बढेको छ । महानरपालिका प्रमुख चिरिबाबु महर्जनले मङ्गलबार तीनवटा नम्बरप्लेट ‘१८७३ सत्यमोहन जोशी मार्ग’ महानगरपालिकाको कार्यालयमा, ‘२९१ पुल्चोक झम्सीखेल मार्ग’ वडा नं ३ को कार्यालयमा र ‘३५ भनीमण्डल मार्ग’ लिखित प्लेट सेन्टमेरिज विद्यालयको गेटमा टाँसेर उक्त कामको शुभारम्भ गरेका छन् । ग्वार्काेबाट महानगरपालिकाको पछाडि उत्तरी गेटसम्म मापन गरिएको १८७३ नम्बरप्लेटको दूरी हो । यसैगरी २९१ नम्बरप्लेट झम्सीखेल चोकबाट वडा नं ३ को वडा कार्यालयसम्म र ३५ नम्बरप्लेट भनीमण्डल चोकदेखि सेन्टमेरिज विद्यालयको गेटसम्मको दूरी रहेको महर्जनले जानकारी दिए । महानरपालिकाका घरघरमा नम्बरप्लेट राखेपछि एक स्थानबाट अर्काे स्थानमा सजिलै पुग्न सकिन्छ सकिने उनले बताए । वडा नं ३ मा पाँच हजार घरधुरी रहेका हुँदा हाललाई परियोजनाका रूपमा हामीले पहिला यहाँका एक हजार घरमा नम्बरप्लेट राखेकाे बताएका छन् । परियोजना अघि बढाउँदै जाँदा काम गर्न समस्या भएन भने यसैअनुरूप दोस्रो चरणको काम अघि बढाइने उनको भनाइ थियो । घर नम्बर प्रणालीको विकासले घर पत्ता लगाउने समस्याको अन्त्य भई स्मार्टसिटीको परिकल्पना सकारात्मक बनाउन सहयोग गर्ने महर्जनको बुझाइ छ । महानगरपालिकाका वरिष्ठ इञ्जिनीयर तथा नक्सा शाखा प्रमुख श्रीकुमार महर्जनले महानगरपालिकाले उक्त कामलाई दुई चरणमा अघि बढाउने जानकारी दिए । उनले भने, ‘हामीले जियो–नेष्ट–इन्डेको जेभी नामक तीन संस्थासँग सहकार्य गरेर पहिलो चरणमा घरको सङ्ख्या गणना गर्ने, तथ्याङ्क सङ्कलन गर्ने, हरेक वडा, टोल, सडक र गल्लीमा नाम दिएका छाैं ।’ नगरपालिकामा रहेका अन्य ८७ घरलाई दोस्रो चरणको योजना बनाएर नम्बरप्लेट राखिने महर्जनले बताए । महानगरपालिकाका परामशर्दाता ईश्वरमान जोशीले महानगरपालिकामा रहेको हिलो र धुलोका कारण घर गन्ती गर्न निकै समस्या परेको उल्लेख गरे । उनले भने, ‘महानगरपालिकाभित्र कूल ८८ हजार घर छन् । यी घरमध्ये ५८ हजार ४२३ आवासीय घर र बाँकी अन्य करिब ३० हजार घर व्यापारिक महल आदि छन् ।’ नम्बरप्लेट राख्न इच्छुक व्यक्तिले घरजग्गाको कर तिरिसकेको हुनुपर्ने र प्रतिनम्बरप्लेट जडान गरेवापत एउटा घरले रु एक हजार तिर्नुपर्ने जनाइएको छ । कार्यक्रममा महानगरपालिकाभित्र वार्षिक दुई हजार घर थपिँदै गएको, पहिलो चरणको परियोजनामा रु चार करोड २१ लाख ३० हजार खर्च भइसकेको र दोस्रो चरणको काम अघि बढाउन बोलपत्र आह्वान गरिने र यसमा रु नौदेखि १० करोड खर्च लाग्ने जानकारी दिइयो ।रासस
ज्यान मार्ने उद्योग मुद्दामा फरार वडाध्यक्ष यादव पक्राउ
राजविराज । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका सप्तरीको राजविराज नगरपालिका–१५ का वडाध्यक्ष रामप्रसाद यादवलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । यादवलाई व्यक्ति हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिएका छन् । फरार प्रतिवादी वडाध्यक्ष यादवलाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यस्तै बहुविवाह मुद्दाका फरार प्रतिवादीलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी साविक जमुनिमधेपुरा गाविस–९ हाल रुपनी गाउँपालिका–४ का २५ वर्षीय शत्रुधन साह र साहकी कान्छी श्रीमती २० वर्षीया सजनीकुमारी साह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रुपनी गाउँपालिका–४ का ३० वर्षीया प्रमिलाकुमारी साहले दिएको जाहेरीको आधारमा बहुविवाह मुद्दाका फरार अरोपीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विद्युत् चोरीको आरोपमा २४ पक्राउ सप्तरीमा विद्युत् चोरी गरेको आरोपमा २४ जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको संयुक्त टोलीले विद्युत् चोरी गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । टोलीले जिल्लाको बोदेबरसाइन क्षेत्रबाट १६ र राजगढ गाउँपालिकाबाट आठ गरी २४ जनालाई विद्युत् चोरीको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पक्राउ परेका २४ जनालाई विद्युत् चुहावट नियन्त्रण विनियमावली, २०५९ अनुसार हानी नोक्सानी एवं क्षतिपूर्ति दाखिला गराई छाडिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जनाएको छ ।
केदारेश्वर धामलाई सेञ्चुरी बैंकको सहयोग, भक्तजनहरू लाभान्वित हुने
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको बाँसगढी शाखाले केदारेश्वर धामलाई पानी ट्यांङ्की साथै टिकट हस्तान्तरण गरी सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस धाममा भ्रमणको लागि आउने भक्तजनको लागी सफा पानी उपलब्ध गराउनको निम्ती एक थान एक हजार लिटरको पानी ट्यांङ्की र धामको नियमित सरसफाईको लागी २० रुपैयाँका ५ हजार थान टिकट हस्तान्तरण गरेको हो । बैंकका बाँसगढी शाखाका शाखा प्रबन्धक प्रदीप खरेलले केदारेश्वर धामका सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद बास्तोलालाई उक्त पानी ट्यांङ्की र टिकट हस्तान्तरण गरेको हो । केदारेश्वर धाममध्ये पश्चिम विकास क्षेत्रको बर्दिया जिल्ला बाँसगढीमा रहेको र यो मध्यपश्चिम विकास क्षेत्रकै ठुलो शिबलिङ्ग हुनुका साथै नेपाल सरकारको सय पर्यटकीय गन्तव्यमा पर्न सफल धाम हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।