दलित भएकै कारण घरबेटीले कोठा छोड्न दबाब दिएको विद्यार्थीको आरोप
काठमाडौं । काठमाडौंमा डेरा गरी बस्ने विद्यार्थीहरुलाई घरबेटीले दलित भएकै कारण अपमान र घर छोड्न दबाब दिएको भन्दै पीडित विद्यार्थीहरुले प्रहरीमा उजुरी दिने घोषणा गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरुले यस्तो जानकारी गराएका हुन् । कैलाली र दैलेख स्थायी घर भई काठमाडौंमा विभिन्न क्याम्पसमा अध्ययनरत चार जना विद्यार्थीहरुलाई दलित भन्दै घरबेटीले अपमान गरेको उनीहरुको गुनासो छ । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर–१० मा रहेको श्रीकृष्ण बिडारीको घरमा डेरा गरी आफूहरु बसिरहेको उनीहरुले जानकारी दिए । उनीहरुले दिएको जानकारीअनुसार उक्त घरमा उनीहरु गत मंसिर १३ गतेदेखि बसेका हुन् । त्यस घरमा डेरा गरेरै बसेकै दिन घरबेटी श्रीकृष्णकी छोरीले आफूहरुसँग परिचय गरेको दिपा नेपालीले जानकारी दिईन् । उनले अघि भनिन्,‘हामी त्यो घरमा बसेकै दिन घरबेटीकी छोरीले हामीसँग परिचय गरेकी थिइन् । त्यसको भोलिपल्ट घरबेटी बिडारी दम्पत्तिद्धयले तपाईहरु ‘दलित हुनुहुँदो रहेछ, समाजले पनि तपाईहरुलाई यहाँ बसेको रुचाउँदैन्, र यही घरमा भाडामा बस्नेहरुले पनि घर छोडेर जान्छु भने’ भनेर कोठा छोडेर जान दबाब दिए ।’ उनले आफूहरुलाई जातकै कारण कोठा छोड्नका लागि दबाब दिएको गुनासो पोखिन् । उनले भनिन्,‘मैले एक कार्यक्रममा मानवअधिकारवादीसँग यस्तो भयो भनेर गुनासो पोखेको थिएँ, त्यहीँबाट मानवअधिकारकर्मीले हाम्रो घरबेटीलाई फोन गरेका थिए । उनका अनुसार अब हामीलाई बसुञ्जेलसम्म बस्न दिने भनेर घरबेटीले भनेका थिए र हामीलाई पनि परिचय दिएर बस्नुहोला भने । तर, एक्कासी घरबेटीले आफूहरुलाई विभिन्न बहाना देखाएर घर छोड्न दबाब दिएको पनि उनले गुनासो पोखिन् । घरबेटीमात्रै नभएर त्यही घरमा भाडामा बस्ने अन्य सदस्यहरुले पनि घरबेटीसँग मिलेर आफूहरुमाथि अभद्र तथा गाली, बेईज्जति शब्द प्रयोग गरेको गुनासो पोखिन् । जातीय विभेद गरेर आफूहरुमाथि स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने अधिकारमाथि कुण्ठित गरेको र बारम्बार मानसिक तथा मनौवैज्ञानिक दबाब दिएको पनि उनले गुनासो पोखिन् । उनले भनिन्,‘हामी पढ्ने विद्यार्थीहरुमाथि यो ठूलो मानसिक यातना हो ।’ आफूहरु कानूनी उपचारमा जाने उनीहरुले घोषणा गरिन् । उनले आजै प्रहरी प्रशासनमा उजुरी दिने पनि आफूहरुको तयारी रहेको बताईन् । आफूहरुमाथि जातीय विभेद नगर्न पटक–पटक आग्रह गर्दापनि निजी घरबेटीले कुरै नसुनेको र अमानवीय व्यवहार गरेको गुनासो पोखिन् । कार्यक्रममा कैलाली घर भई सोही घरमा बस्ने दिपाका भाइसमेत रहेका राज नेपालीले आफूहरुमाथि २१औं शताब्दीमा पनि जातीय विभेद गरिएको भन्दै गुनासो पोखे । आगामी दिनमा दलित भएकै कारण आफूहरुले भोगेजस्तो पीडा अरुले भोग्न नपरोस भनेर मिडियामा यो कुरा लिएर आएको र कानूनी उपचारमा जान लागेकोपनि उनले स्पष्ट पारे । उनले भने,‘घरबेटीले दिएको चरम यातनाको कारण हाम्रो पढाईमा अवरोध सिर्जना भयो । यसले विद्यार्थीको भविष्य अन्यौल बनाएको छ ।’ उनले जातीय भेदभाव तथा छुवाछुत ऐन–२०६८ अनुसार निज घरबेटीलाई कारबाही गर्नसमेत सरकारसमक्ष माग गरे । आफूहरुमाथि घरबेटीले श्रृंखलावद्ध रुपमा घर छोड्न दबाब दिएको र जातीय विभेद गरेको गुनासो पोखे । कार्यक्रममा अर्की पीडित गायिकासमेत रहेकी धना परियारले जातीयताको कुरा गरेर आफूहरुमाथि घरबेटीले दिएको दबाब गलत र मानव अधिकारविरुद्ध रहेको टिप्पणी गरिन् । उनले पनि घरबेटीलाई कानूनबमोजिमको हदैसम्मको कारबाहीको माग गरिन् । उनले आफू अपांग समेत रहेको जनाउँदै अपांगता भएकै कारण जागिर नपाएको गुनासो पोख्नि । उनले भनिन्,‘जातीयताकै आधारमा घरबेटीले कोठा छोड्न दबाब दिएका छन् ।’ उनले भनिन्,‘के हामी यो देशका नागरिका होईनौं र ? हामीमाथि अमानवीय व्यवहार गरियो । यो निकै दुःखदायी कुरा हो ।’ उनले यस्तो अवस्थाको सामना गर्नुपर्दा कहिलेकाहीँ रातै नपरिदिए हुन्थ्यो जस्तो लाग्ने गरेको पनि सुनाईन् । उनले भनिन्,‘घरबेटीले मात्रै होईन, त्यही घरमा भाडामा बस्नेहरुले पनि हामीलाई निस्किन दबाब दिए ।’ कार्यक्रममा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी विपीन बिकले २१औं शताब्दीमा आएरपनि जातीय विभेद गर्नु गलत भएको भन्दै विद्यार्थीहरुमाथि जातीय विभेदन र यातना दिने घरबेटी बोगटीलाई कारबाहीको माग गरे ।
भरतपुर महानगरलाई ध्रुम्रपानरहित शहर बनाइँदै
चितवन । भरतपुर महानगरपालिकाले सुर्तीजन्य वस्तुको बिक्रीवितरण स्थलको दैनिक अनुगमन गर्न शुरु गरेको छ । महानगरका प्रवक्ता अरुण पीडित भण्डारीले सुर्तीजन्य वस्तुको बेचबिखन अनुगमन तथा सार्वजनिक स्थलमा यसको सेवनमा प्रतिबन्ध गरिएको जानकारी दिए । उनले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ अनुसार अनुगमन गरिएको र महानगरलाई सुर्तीजन्य पदार्थरहित बनाउन अभियान प्रभावकारी बनेको बताए । अनुगमन टोलीले शैक्षिक सङ्घसंस्था, सरकारी कार्यालय, अस्पताल बालगृहलगायत निकाय आसपासका क्षेत्रमा हुने सुर्तीजन्य पदार्थको बिक्री भए/नभएको अनुगमन गरिरहेको छ । शैक्षिक सङ्घसंस्था, अस्पताल लगायतका निकायको एक सय मिटरको वरपर सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न ऐनले रोक लगाएकाले त्यसको कार्यान्वयमा महानगरका अधिकारीहरु जुटेका हुन् । महानगरका उपसचिव प्रधुन्नप्रसाद उपाध्यायकोे नेतृत्वमा प्रत्येक दिनजसो बजार अनुगमन गरिँदै आइएको छ । अनुगमनका क्रममा ३५ पसलमध्ये १३ पसलमा यस्ता सामग्री पाइएको र चुरोट सेवन गर्दै गरेका दुईजना व्यक्तिलाई समेत कारवाही गरेको उनले जानकारी दिए । महानगरपालिकालाई ध्रुम्रपानरहित शहर (स्मोक फ्री सिटी) बनाइँदैछ । आगामी डिसेम्बरमा विशेष समारोहबीच औपचारिक घोषणाका लागि महानगरपालिकाले तयारी थालेको हो । महानगरप्रमुख रेनु दाहालका अनुसार ध्रम्रपानरहित शहर घोषणा गर्न समिति निर्माण गरी हरेक महिनाको एक दिन बैठक बसेर गृहकार्य शुरु गरिएको छ । गत महिना इन्डोनेसियाको बोगर नगरमा भएको कार्यक्रममा उनले भरतपुर महानगरलाई ‘स्मोक फ्री’ सिटी बनाउने प्रतिबद्धता जनाएकी थिइन् । सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐनको दफा ४ अनुसार सार्वजनिकस्थल, सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक सवारीसाधन, बालगृह, सार्वजनिक शौचालय, उद्योग कलकारखाना, मनोरञ्जनस्थल, होटल रेष्टुरेन्ट, खेलकूदस्थल, व्यवसायस्थल, धार्मिकस्थल, सार्वजनिक सवारीसाधन, प्रतीक्षालय तथा ध्रुम्रपान र सुर्तीजन्य पदार्थ सेवन गर्न पूर्णतः निषेध गरिएको छ । होटल रेष्टुरेन्टहरुमा तोकिएको स्थानमा मात्र यसको सेवन गर्न पाइनेछ । तोकिएको स्थानमा अठार वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन नपाइने व्यवस्था महानगरले गरेको छ । रासस
सिद्धार्थ बैंकले दाङको तुलसीपुरमा गर्यो वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । सिद्धार्थ बैंकले दाङको तुलसीपुरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा उक्त कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो । उक्त कार्यक्रम साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ्ग कर्जा सम्बन्धी जानकारी जस्तै व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, कर आदिका महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको थियो । कार्यक्रममा त्यस क्षेत्रका ४५ भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी भएका थिए । देशभरि सबैक्षेत्र र वर्गको साना तथा मझौला व्यापारीहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले आगामी दिनहरुमा पनि बैंकले यस किसिमका वित्तिय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताएको छ । बैंकले देशभर १८२ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, २०४ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।