थाइल्याण्ड विरुद्ध नेपालको जित
काठमाडौं । एसीसी इस्टर्न टी–२० क्रिकेटमा थाइल्याण्ड विरुद्ध नेपालको जित भएको छ । ६७ रनको सामान्य लक्ष्य पछ्याएको नेपालका लागि कुशल मल्ल र पवन सर्राफले बिस्फोटक ब्याटिङ गर्दै ५.३ ओभरमा नौ विकेट जित निकालेका हुन् । ओपनिङमा आएका कुशलले अविजित रहँदै १८ बलमा ३६ रन जोडे । उनले पाँच चौका र एक छक्का प्रहार गरेका थिए । कुशलसँग राम्रो साझेदारी गरेको पवन सर्राफले पनि बिस्फोटक ब्याटिङ गरे । उनले दश बलमा तीन छक्का र दुई चौका प्रहार गरे । पारस खड्का भने पाँच बल खर्चिदै १० रन जोडेर आउट भएका थिए । टस जितेर फिल्डिङ रोजेको थाइल्याण्डले अलआउट हुँदै ६६ रन जोडेको थियो । नेपालका लागि करण केसीले तीन, अविनास बोहोराले दुई, सन्दीप लामिछानेले एक र भुवन कार्कीले एक विकेट लिए । नेपालको राष्ट्रिय टीममा भुवन कार्कीले भने शानदार डेब्यू गरेका छन् । थाइल्याण्ड विरुद्ध डेब्यू गरेका उनले पुरा चार ओभर बलिङ गर्दै ६ रन खर्चिएर एक विकेट लिएका छन् ।
कोराेना प्रभाव : राष्ट्रिय साहित्य सम्मेलन स्थगित
दमौली । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले यही फागुन २४ गतेदेखि २६ गतेसम्म आयोजना गर्न लागेको राष्ट्रिय साहित्य सम्मेलन स्थगन गरेको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण सभा–सम्मेलन नगर्न सरकारले निर्देशन जारी गरेपछि प्रतिष्ठानले मङ्गलबार प्रेस विज्ञप्ति जारी गरी साहित्य सम्मेलन स्थगन भएको जानकारी गराएको हो । ‘भाषा, साहित्य र संस्कृतिको उत्थान : साहित्यिक जागरण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ प्रतिष्ठानले आयोजना गर्न लागेको साहित्य सम्मेलनको तयारी अन्तिम चरणमा पुगे पनि हाललाई उक्त कार्यक्रम स्थगन गरिएको प्रतिष्ठानका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए । साहित्य सम्मेलनका लागि स्वदेश र विदेशबाट गरी २३७ वटा कविता प्राप्त भइसकेको थियो । “सम्मेलनको पूर्ण तयारी भइसकेको अवस्थामा अहिले संसारभरका मानिसलाई कोरोना भाइरसले त्रस्त बनाएको र नेपाल सरकार तथा जिल्ला प्रशासन कार्यालय तनहुँले आम नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी सभा–सम्मेलन आयोजना नगर्न निर्देशन जारी गरेको छ”, प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सोही कारण हाललाई साहित्य सम्मेलन स्थगित भएको छ ।” साहित्य सम्मेलनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै अनुकूल समयमा सम्मेलन आयोजना गरिने प्रतिष्ठानले जनाएको छ । सतर्कता अपनाउन प्रशासनको अपिल जिल्ला प्रशासन कार्यालय तनहुँले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सतर्कतामा जोड दिएको छ । सार्वजनिक सूचना जारी गर्दै प्रशासनले कोरोना भाइरसको सङ्क्रमणबाट जोखिमलाई मध्यनजर गर्दै भीडभाड तथा मानिसको अत्याधिक जमघट हुने स्थानमा नजान र व्यक्तिगतरूपमा नियमित सरसफाइमा ध्यान दिन आग्रह गरेको हो । प्रशासनले तनहुँ जिल्लामा हुन गइरहेको तीनदिने सनातन धर्म सांस्कृतिक विषयक अन्तर्राष्ट्रिय सम्मेलन तथा ठूला सभा, सम्मेलन, महोत्सव, महायज्ञ, भेला, भोजभतेरका लागि अत्यधिक मानिसको जमघट हुने कार्यक्रम नगर्न अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । कार्यालयले सबै स्थानीय तहहरुले कोरोना भाइरसबाट बच्ने उपायका बारेमा सचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न, निरन्तर रुघाखोकी, ज्वरोको सङ्क्रमण देखिएमा तुरुन्त स्थानीय स्वास्थ्य संस्थामा गई स्वास्थ्य परीक्षण गराउनसमेत अनुरोध गरेको छ । रासस
टी–ट्वान्टी कप क्रिकेट : थाइल्याण्ड विरुद्ध बलिङ गर्दै नेपाल
काठमाडाैं । एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटअन्तर्गत आयोजक थाइल्याण्डविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । बैंककस्थित टेर्डथाइ क्रिकेट मैदानमा अहिले शुरु भएको खेलमा थाइल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङ गर्न लागेको हो । पाँच राष्ट्र सहभागी उक्त प्रतियोगितामा फाइनल पुग्ने दुई टोलीले एशिया कप छनोटमा स्थान बनाउनेछन् । त्यसैले शीर्ष दुईमा स्थान बनाउन नेपाललाई थाइल्याण्डविरुद्धको खेलमा जित निकाल्नुको विकल्प छैन । त्यस्तै, नेपालले जित निकालेर पनि शीर्ष दुईमा स्थान बनाउनका लागि अन्य टोलीको नतिजामा भर पर्नु पर्नेछ । यसअघि दुई खेल खेलेको नेपालले दुवै खेलमा पराजय भोगेको छ । नेपाल मलेशियासँग २२ र हङकङसँग ४३ रनले पराजित भएको थियो । अब नेपालले थाइल्यान्ड र सिङ्गापुर दुवैलाई फराकिलो अन्तरले पराजित गर्नुपर्ने हुन्छ । नेपाल तालिकाको पुछारबाट दोस्रो स्थानमा छ । यता तीन खेल खेलेको थाइल्याण्डले तीनै खेलमा पराजय भोगेको छ । थाइल्यान्डले हङकङ र मलेशियासँग समान आठ विकेट तथा सिङ्गापुरसँग ४३ रनले पराजित भएसगै एशिया कप यात्राबाट बाहिरिसकेको छ । थाइल्याण्ड अङ्कविहीन रहँदै अङ्क तालिकाको पुछारमा छ । रासस