बाँदर धपाएरै जान्छ किसानको दिनचर्या
गलकाेट । बागलुङ नगरपालिका–४ दारेगौडाका ६४ वर्षका किसान विष्णुप्रसाद आचार्य बिहानै उठेपछि घरमुनिको बारीमा बाँदर धपाउन जान्छन् । उनी जान्ने सुन्ने भएपछिको दिनचर्या ६४ वर्षको उमेरसम्म पुग्दा बदलिएको छैन । विशेषगरी मकै पाक्ने याममा उनको दिनचर्या बाँदर धपाउँदैमा जान्छ । उनको घरमुनिको बारी र खेतमा गरेर सात रोपनी जग्गामा मकैखेती छ । आखाँ झिमिक्क गर्दा साथ सारा मकै नष्ट गर्ने बाँदरको हुल हेर्दाहेर्दै बुढ्यौली लागेका आचार्य मात्र हाेइनन् । यस क्षत्रेमा फैलिएको ३ सय रोपनी जग्गामा मकैखेती गर्ने अन्य किसानको दैनिकीसमेत यसरी नै बित्ने गरेको छ । “एकछिन बारीमा नजाने हो भने मकैबाली बाँदरले सखापै पार्छ”, किसान आचार्यले भने, “खेतीपाती गर्ने काम सामान्यजस्तै भयो तर बाँदरबाट खेतीपाती जोगाउनै सकस छ ।” बाँदर धपाउने क्रममा कतिले भिरबाट लडेर ज्यानै गुमाउनुपर्ने विवशतासमेत स्थानीयवासीको छ । बिहान ५ देखि बेलुका ७ बजेसम्म बागलुङ नगरपालिका–४ कुँडुले, छापा, फेदी तथा दारेगौडाका किसान बाँदर हेर्नुपर्ने बाध्याता छ । समय कहाँबाट कहाँ पुगेपनि हामी किसान भने बाँदर धपाएर दिन फाल्नुपर्ने बाध्यताको अन्त्य आवश्यक रहेको बाँदर धपाउन खेतमा आएका अर्का किसान दिनेश सापकोटा बताउछन् । सापकोटाले किसानलाई अनुदान होइन, बाँदर धपाउने उपाय दिन सरोकारवाला निकायसँग आग्रह गरे । “हामीले पटक–पटक नगरपालिकामा बाँदर नियन्त्रणको माग राख्दै आएका छौं”, सापकोटाले भने, “बाँदर धपाएर जिन्दगी बिताउने किसानको प्रगति कहिले हुन्छ ?” बाँदरले खेतबारीमा फल्दै गरेको मकै मात्र होइन, मान्छे नभएको मौकामा घरभित्रै पसेर अन्नपात नास गर्ने गरेको किसानले गुनासो गर्दै आएका छन् । धान र गहुँको समयमा खासै दुःख नदिने बाँदरले मकै पाक्ने याममा बढी समस्यामा पारेको किसान रमेश आचार्यको गुनासो छ । खेतीपातीका लागि कुँडुले क्षेत्रको जग्गा निकै उर्वर मानिने भए पनि कालीगण्डकीको छेउ भएकाले बाँदरले सताउने गरेका छन् । बन्दाबन्दीका कारण छोरा नाति फुर्सदिला हुँदा बाँदर धपाउन केही सहज भए पनि अघिपछि खाना खाने पालो पाउनसमेत मुस्किल रहेको कृषक आचार्यले बताए । २० मिनेट मात्रै बाँदर पसेमा सारा खेतीपाटी नष्ट गर्ने भएकाले बाँदर नियन्त्रणको केही उपाय आवश्यक रहेको उनीहरुको भनाइ छ । बाँदर नियन्त्रणका लागि नेपालका केही स्थानीय तहले प्रयास गरे पनि खासै प्रभावकारी बन्न सकेको छैन । कुँडुले क्षेत्रमा कलगाडा, राते, बाह्रबिसे र सेते प्रजातिका झण्डै ३०० को हाराहारीमा आउने बाँदरले सताउने गरेको छ । वर्षभरिलाई पुग्ने खाद्यान्न एकैछिनमा सखाप पार्ने भएपछि किसान अरु कामधन्दा छाडेर बाँदर धपाउने गरेका छन् । “सबैभन्दा बढी बाँदरले रुचाउने मकै रहेछ”, किसान सापकोटाले भने, “गहुँमा सामान्य क्षति गर्छ भने धान पाक्ने बेलामा बाँदर नलाग्ने गरेको छ ।” बाँदर धपाउनका लागि खेतबारीको डिलमा किसानले छाप्रो नै बनाएर बस्ने गरेका छन् । कुँडुले क्षेत्रमा मात्र नभई सम्पूर्ण वडाभर नै बाँदरले आक्रान्त पारेको गुनासो भए पनि हालसम्म केही गर्न नसकेको बागलुङ नगरपालिका–४ का वडाध्यक्ष ध्रुवबहादुर केसीले जानकारी दिए । आगामी वर्ष बाँदर छोपेर अन्यत्र लैजाने कार्यक्रम ल्याउन नगरपालिकामा अनुरोध गर्ने उनको भनाइ छ । रासस
धनुषामा गोली हानेर एक युवकको हत्या
काठमाडौं । धनुषामा गएराती एक युवकको गोली हानी हत्या गरिएको छ। धनुषाको सबैला नगरपालिका वडा नम्बर ७ नवटोलि घर भएका युवकलाई गोली हानेर हत्या गरिएको अवस्थामा विहान शव फेलापरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घरबाहिर बोलाएर २५ वर्षीय छोरा अरुण कुमार मण्डललाई गोली हानी हत्या गरिएको प्रहरीले बताएको छ । घरदेखि करिब २ सय मिटरको दुरीमा रहेको पोखरी नजिक स्थानीयले बिहान मण्डल मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शवको हेरेपछि गोली हानेर हत्या गरिएको देखिएको छ भने आधिकारिक पुष्टि हुन बाँकी रहेको छ । हत्याको कसले गर्याे भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ ।
गएराती कारको ठक्करबाट दुईको मृत्यु
घाेडाघाेडी । कैलालीमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मङ्गलबार राति कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा पूर्वबाट पश्चिम गइरहेको बा४च २१०० नंको कारले ठक्कर दिँदा पैदलयात्री घोडाघोडी नगरपालिका–१ जनकपुर बस्ने २६ वर्षीया सोनिया चौधरी र उनका छोरा पाँच वर्षीया कृष्टन चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । कारको ठक्करबाट अन्य दुई घाइते भएका छन् । घाइते हुनेमा घोडाघोडी नगरपालिका–९ बस्ने ४५ वर्षीय डबल शाह र लम्कीचुहा नगरपालिका–१० बस्ने ४० वर्षीय जयचन्द्र सुनार रहेको प्रहरीले जानकारी दिएको छ । घाइते दुवैको घोडाघोडी अस्पताल सुखडमा सामान्य उपचारपछि कोहलपुर सिफारिस गरिएको र त्यहाँ पनि उपचार हुन नसकेपछि उनीहरुलाई काठमाडौँको बिएनबी अस्पताल पठाइएको छ । ठक्कर दिएर फरार कार चालक बर्दगोरिया गाउँपालिका–१ का राजेन्द्र मल्ललाई इलाका प्रहरी कार्यालय मसुरियाले नियन्त्रणमा लिएको छ । रासस