महिला सहयात्रा लघुवित्तले विपन्न समुदायलाई वितरण गर्यो साढे ५ लाख बराबरको राहत
काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले लकडाउनको कारणबाट प्रभावित विपन्न समुदायहरुलाई ५ लाख ५६ हजार ३ सय ३० रुपैयाँ बराबरको राहत सहयोग गरको छ । चित्लाङ मकवानपुरमा केन्द्रीय कार्यालय रहेको संस्थाको विभिन्न शाखाले उक्त रुपैयाँ बराबरको राहत सहयोग गरेको हो । साथै, यस वित्तीय संस्थाले असार मसान्तसम्मका लागि कर्जामा ३ प्रतिशत छुट दिएको छ । वित्तीय संस्थाले लकडाउनको अवस्थालाई मध्यनजर गरी ग्राहक मैत्री कर्जा नीति ल्याउँनुका साथै विपन्न परिवारलाई सम्भव भए सम्मको सहयोग गर्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. सुमित्रा मानन्धरले बताएका छन् । राष्ट्रिय स्तरको कार्य क्षेत्र भएको यस वित्तीय संस्थाको ३४ वटा शाखा कार्यालयहरु मार्फत करिव ३५ हजार सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
चोरीमा संलग्न २० अभियुक्त सार्वजनिक
भीमदत्तनगर । लकडाउनका बेला कञ्चनपुरको भीमदत्तनगर बजार क्षेत्रमा चोरीको घटनामा संलग्न २० अभियुक्तलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आइतबार पत्रकार सम्मेलन गरी बजारका पसलदेखि घरमा सामान चोरीमा संलग्न २० जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको जनाएको छ । प्रहरीका अनुसार बजार र आसपासका क्षेत्र चोरी गरिएका ४२ थान साइकलसहित अन्य सामान अभियुक्तबाट बरामद गरिएको छ । “लकडाउनका बेला चोरीमा संलग्न हुनेमध्ये अधिकांश युवा छन्”, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले भने, “यसअघि चोरी मुद्दामा कैद भोगेकासमेत पुनः पक्राउ परेका छन् ।” उनले चोरीलगायत आपराधिक घटनामा संलग्न अन्यको पनि पहिचान भइसकेको र खोजीकार्य जारी रहेको बताए । “साइकललगायत सामान हराएका व्यक्तिलाई कागजातसहित प्रहरीको सम्र्पकमा आउन सूचितसमेत गरेका छौं”, उनले भने, “अभियुक्तको अदालतबाट म्याद थप भएर अनुसन्धान अघि बढेको छ ।” चोरीमा संलग्न अधिकांश भीमदत्तनगरदेखि कैलालीका रहेको प्रहरीले जनाएको छ । रासस
सल्यानमा श्रीमतीले गरिन श्रीमानकाे हत्या
काठमाडाैं । सल्यान जिल्लामा एक महिलाले आफ्नै श्रीमानकाे हत्या गरेकी छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाकी ३६ वर्षीया ती महिलाले ३८ वर्षीय श्रीमान डिल्लीबहादुर घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आइतबार राति ८ः३० बजेतिर आफ्नै घरमा काठ चिर्ने फलामको प्रहारबाट गम्भीर घाइते भएका घर्तीको सल्यान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । हत्या आरोपमा श्रीमतीलाई इलाका प्रहरी कार्यालय लुहाममा राखिएको खतिवडाको भनाइ छ । घटना बारेमा थप अनुसन्धान भइरहेको र मृतक घर्तीको शव परीक्षणपछि घटनाको थप विवरण आउने प्रहरीले जनाएको छ ।