सङ्कटका बेला सामाजिक कार्यमा युवाको सक्रियता
भजनी । कोभिड—१९ का कारण अस्तव्यस्त दैनिकी र सङ्कटपूर्ण समयमा सामाजिक कार्यमा युवाको सक्रियता निकै बढेको देखिन्छ । कैलाली जिल्लाका विभिन्न स्थानमा युवाले समूह बनाएर सामाजिक कार्यमा सक्रियता देखाइरहेका हुन् । यस क्रममा युवाले कतै क्वारेन्टिनमा रहेकालाई खाजा खुवाउँदै छन् त कतै क्वारेन्टिन व्यवस्थापनको सबै जिम्मा नै युवाले लिएका छन् भने क्वारेन्टिनस्थलमै मनोपरामर्श पनि युवाले दिइरहेका छन् । कैलालीको घोडाघोडी नगरपालिकास्थित घोडाघोडी क्लबमा आबद्ध युवा नगरभित्र रहेका विभिन्न क्वारेन्टिनमा खाजा खुवाउने कार्यमा निकै मेहनतका साथ लागिरहेका छन् । नगरपालिकाले क्वारेन्टिनमा बसेकालाई खाजा, खाना खुवाउन छोडेपछि क्वारेन्टिनमा बसेकाबाट गुनासो आउन थालेका कारण सबैभन्दा पहिले घोडाघोडी क्लबका पूर्वखेलाडी राजेश हमालको पहलमा खाजा खुवाउने कार्यलाई तीव्रता दिइएको क्लबका अध्यक्ष अर्जुन भट्टले जानकारी दिए । “शुरुमा हामीले विद्यालयमा बनाइएका क्वारेन्टिनमा रहेका दाजुभाइ दिदीबहिनीलाई खाजा खुवायौं । त्यसपछि हामीले सकेसम्म सहयोगी हातहरू खोजेर हरेक क्वारेन्टिनमा खाजाको व्यवस्था गरिरहेका छौँ” क्लबका उपाध्यक्ष होम तामाङले भने । कैलालीको गौरीगङ्गा नगरपालिका–९ स्थित तीनवटा विद्यालयमा सञ्चालित क्वारेन्टिनमा हरेक दिन बिहान युवाकै सक्रियतामा योग प्रशिक्षण र व्ययामका अन्य कार्यक्रम हुन्छ । “भारतबाट फर्किएर क्वारेन्टिनमा बस्दा उनीहरुलाई मानसिक तनावको समस्याले नसताओस् भन्ने सोचका साथ सम्भव भएसम्म राम्रो गर्ने प्रयास गरेका छौँ” वडामा युवाको नेतृत्व गरिरहेका मिलन ओलीले भने । गौरीगङ्गा नगरपालिका–९ कि सीता भण्डारी मनोविमर्शकर्ता हु्न् । उनी विगत लामो समयदेखि काठमाडौंलाई आफ्नो कार्य क्षेत्र बनाएर यस क्षेत्रमा लागिरहेका थिए । तर लकडाउनले गर्दा घरमै रहनुभएकी भण्डारी क्वारेन्टिनमा रहँदा मानिसमा मानसिक तनाव बढ्दै गएको, पारिवारिक चिन्ताले गर्दा समस्या थपिँदै गएको र यस्ता किसिमका चिन्ताले अपराध गर्न मनोभाव बढ्न सक्ने अवस्था रहेको भन्दै स्थानीयस्तरमा सञ्चालनमा रहेका क्वारेन्टिनस्थलमै पुगेर मनोपरामर्श दिइरहे । विपत्का बेला आफ्नो ठाउँमा आफूमा भएको सीप प्रयोग गरेर सहयोग गर्नु सबैको कर्तव्य भएको हुनाले आफ्नो कर्तव्य पूरा गरेको भण्डारीको भनाइ छ । कोरोना महामारीको अवस्थामा युवाको सक्रियतामा सामाजिक कार्य हुनु सुखद भएको गौरीगङ्गा नगरपालिकाका उपप्रमुख अञ्चला चौधरीले बताइन् । सङ्कटमा सरकार त आफ्नै ढङ्गबाट लागिरहेको हुन्छ नै तर युवाले पनि हातमा हात मिलाएर अघि बढ्दा समाजमा झनै सकारात्मक सन्देश जाने उपप्रमुख चौधरीको भनाइ छ । रासस
धूलो धुँवाको बन्ध्याकरण
भूतखेल चौरमा पुग्दा बिहानको उज्यालो परिपक्क भइसकेको थिएन । चौरमा टेकिसकेको थिएँ । म र सुरक्षाकर्मीबीचको दूरी मात्र दुई सय मिटरको फरकमा थियो । चौरमा कर्तव्यपरायण सुरक्षाकर्मीले मलाई हातकै इशारामा आदेश दिए, जानुस् ! म नाजवाफ भएँ, फर्किएँ । २०७१ देखि यता त्यो चौरले दिनका दिन मुठीका मुठी मेरा स्वेच्छिक पसिना चुसिसकेको छ । तर, पहिलोपटक म फर्काइएँ । क्लेस मात्र पनि गुनासो ममा छैन । चौरसँग मेरो भावनात्मक सामिप्यता छ । फर्काइएको ठयाक्कै ५ वर्षअघि ज्यान बचाउन चार महिनाकी छोरीलाई काखी च्यापेर सपरिवार त्यो चौरमा पुग्दा तीनै सुरक्षाकर्मीले म र मेरो परिवारको हेरविचार गर्थे । हेरविचारकै निरन्तरता हो । अहिले फर्काइएँं, के को गुनासो ? चौरले आज मेरो तीन फन्काको बोझ बोक्नु परेन । साथमै रहेकी मसानकाली देवीले मेरो अनुनय विनय झेल्नु परेन । साँझमा छिमेकीसँग खेलिने ब्याडमिन्टन कोर्ट पनि दिनभरको वर्षातले आहाल भएको छ । हाम्रा आठ पाउको बुर्कुसीबाट त्यो पनि मुक्त भयो । तर, त्यसको बोझ मेरो दैनिकीले झेल्नु परिरहेको छ । मुक्तिको अभिलाषा त ममा पनि खड्किएकै छ । लामो समयदेखि कायम बन्दाबन्दीका कारण मनको राप, ताप र सन्ताप दबाएर घरका बन्दी दिवारमा आँखा घुमाउँदा शरीर लठेब्रिएको छ । ओछ्यानबाटै शुरु हुने दैनिक सयौँ फोनका घन्टी बज्दैनन् अचेल । औसतमा दैनिक झन्डै दर्जन फोन आउँछन्, जान्छन् । सयौँका अगाडि दर्जनको भारी हल्का लाग्ने । त्यसैमा पनि धेरै परिवारका ! फोनको घन्टी मेरो मोबाइलमा बज्छ । आमा दिनहुँ सोध्नुहुन्छ, नानीहरुलाई कस्तो छ ? सावाको भन्दा ब्याजको औधी माया मान्ने बेला हो यो ! फेरि पनि केहि गुनासो छैन । हेर्दाहेर्दै फोनमै भएपनि बात मार्न पाए हुन्थ्यो भन्ने दिन आए । मानसिक थकानसँगको सम्बध बिच्छेदले डेढ महिना पार गर्यो । शारीरिक थकानसँगको एक दिवसीय बिच्छेदले त्यो रातको निद्रा उत्रियो । ‘निद्रा नलाग्नु पाप हो’ झट्ट सम्झें महाकविलाई । ओशो रजनीशको ‘म मृत्यु सिकाउँछु’ किताव अध्ययनकै क्रममा छु । रजनीश भन्छन्, ‘मानिसलाई निदाउन नदिनु नै सबैभन्दा ठूलो सजाय हो ।’ निद्रा नलागेपछि आफ्नै ओछ्यान पनि बोझ हुन्छ, बिझाउँछ । निद्रा नै नलाग्ने गरी न त पाप, न त मस्त निदाउने गरीको पुण्य दुवैमा अनुभवहीन छु म । फेरि केका लागि सजाय ? उठेँ । एउटा मधुर प्रश्न छ, त्यता सुत्ने बेलामा कता ? रातको साम्राज्य रात नढल्किँदै सुत्नु भन्छ हाम्रो शास्त्रले, म प्राय त्यसै गर्छु । जबर्जस्ती उठ्दा पनि रात छिप्पिइसकेको छैन । होसियारीपूर्वक ढोका खोलेँ । नत्र आमाका कलिला सावा कुबेलामा उठ्ने जोखिम ज्युँका त्यूँ हुन्छ । एउटा मात्र ढोका खोल्दैमा कौशीमा पुगिँंदैन, अर्को पनि उसै गरी खोलेँ । कौशीको बायाँपट्टि तीन–चार गमलामा मुस्किलले हुर्काइएका फूल छन् । लालुपाते, रबर, धुपी र अर्को एउटा छ, घरका कसैलाई नाम थाहा नभएको ‘बेनामे’ । यी मध्ये तीनवटाले बसन्तमा आफ्नो अनमत्त बैंश पस्केका छन् । बाँकी एउटाले यो फुर्सदको लाभ उठाएर भर्खरै पालुवा फेर्न थालेको छ । म भने मेरो अनिद्राको पाप पखाल्न, सजाय खेप्ने तयारीमा लागेँ । एक जना भतिज डाक्टर त्यो साँझ घरमा आएका थिए । अंकल अवको दुई–तीन दिनको चन्द्रमा यस्तो हुन्छ, उस्तो हुन्छ, बढ्ता प्रकाश दिन्छ, भन्दै मोबाइलमा नानाभाती देखाउँदै थिए । ‘काशी जानु कुतीको बाटो’ खासै चासो देखाइनँ । आफूलाई कोरोनाले साधेको निशाना कहिले सकिएला भन्ने भइरहेको छ । होकि क्या हो ? साँझको संवाद याद आयो । आखिर चन्द्रमाको प्रकाशले प्रदीप्त बनेका हुन् त यी फूल ? बिहान मसानकालीमा झुकाउन नपाएको शीर झुकाएँ । गहिरोसँग हेरेँ । फूलको सौन्दर्य हेरेर लिनू, टिपेर वा छोएर होइन । कतै पढेको थिएँ, भगवानलाई चढाउने फूल पनि टिप्नु हुँदैन, खसेको चढाउँदा पनि बराबर फल पाइन्छ । हा… छुन्छु, मनले मानेन । छोई हेरेँ । अघिपछि धुलाले फुर्सै हुने हात यसपटक चिल्लै फर्के । घरको पर्खालभित्र सीमित क्षेत्र र संख्यामा हुर्काइएका फूलको स्वच्छन्दताले मलाई झन्डै तीन दशक पुरानो मेरो विद्यालय जीवनमा फर्काइदियो । रजनीशको भनाइ ताजै छ, ‘पङ्खा जोडले घुमेको बेलामा त्यसका तीनवटै पखेटा देखिँदैनन् ।’ बसन्तले मैमत्त मेरो नजिकै भएका ती तीनै फूल देख्न छाडेँ । ‘हाँडीकोट’को त्यो सुसुप्त पुनरावृत्तिले वर्षौंको परिश्रम खर्चेर बउलाएका ती निर्दोष फूल छायामा परे । हाँडीकोट बागलुङ्को दक्षिणी भेगमा अवस्थित घना जङ्गलले घेरिएको एक ऐतिहासिक पर्वत हो । समुद्री सतहबाट २ हजार ३ सय ३ मिटरको उचाइमा रहेको यस पर्वतमा सम्वत् १५१० सम्म मगरहरुको राज्य रहेको विश्वास गरिन्छ । मेरो विद्यालय जीवन त्यही पर्वतको पारिपट्टि बितेको हो । घरका फूलले आफ्नो बैंशको स्वच्छन्दतायुक्त उन्मुक्त हाँसो बाहिर पोख्न नपाए पनि यसपटक कौशीमा पोख्ने सौभाग्य पाएका छन् । हाँडीकोटले हाम्रो कुर्कुरे बैंश (टीन एज) को बेसोमती हाँसोलाई चुपचाप सहेरै, हामीलाई गरिखान यता लखेटिदिएको हो । चुचुरोबाट पाल्पा तानसेनसम्मको दृष्यावलोकन गर्न सकिने हाँडीकोट यो बसन्तमा साच्चै हेर्नलायक हुन्थ्यो । जङ्गल हरियोको पनि उन्नत चरणमा पुगेको कालो देखिन्थ्यो । जङ्गलको कन्चन पानीका घुट्का–घुट्का पेटमा पुग्दा त्यत्रो उकालो उक्लँदाको भोक, प्यास र थकान एकैपटकमा निमिट्यान्न हुन्थ्यो । त्यो निर्मल प्राकृतिक सौन्दर्य, ऐतिहासिक पृष्ठभूमि र हाम्रो कुर्कुरे बैंशको यो त्रिकोणात्मक संगमलाई त्यो अजङ्ग पर्वत हाँडीकोटले धेरै सिकायो । मैले जे जति प्रकृतिलाई न्याय गर्न सिकेँ, त्यहीँको प्राकृतिक सौन्दर्यले पुलकित भएर सिकेको हुँ । वाह्र वर्षको अन्तरालमा गएको वर्ष म त्यहाँ पुग्दा हाँडीकोटको फेदी पनि कोपरिएका, चिथोरिएका थिए । सोचेँ यो हाँडीकोटबाट मैले जे पाएँ, त्यो मेरो भावी पुस्ताले अब पाउनेछैन । दिनको सत्य म फर्कें । कुर्कुरे बैंश र विद्यालय उमेर अब खोजेर कहाँ पाइन्छ ? उतै छाडिएछ । पूर्वी क्षितिजमा सूर्योदयले आफ्नो साम्राज्य फिँजाउने बेलाको रापिलो प्रकाशले म मेरो रात्रीकालीन निजी साम्राज्यबाट ब्यूँझेँ । हाँडीकोटको सुसुप्त पुनरावृतिलाई चेतन मष्तिस्क हुँदै शब्दमा उतारी सकेको छु । पर्दा खोलेँ । फुर्के उज्यालो टक्क मेरो आँखामा पर्यो । यदि मैले त्यो पर्दा त्यसरी नै चैत १० गते उघारेको भए ? हिँजोको त्यो घटना यदि घट्दैनथ्यो भने म यतिखेर भूतखेल चौरका लागि हिँडिसकेको हुन्थेँ । म राज्यको नागरिक हुँ, राज्यले निर्दिष्ट गरेका नीति नियमको पालना गर्नु मेरो कर्तव्य हो । मैले भूतखेलको विकल्पमा आफ्नै घरको छतलाई रोजेँ । त्यो छत मेरो देशको राजधानी काठमाडौंको आकासमुनि पर्छ । भूगोल काठमाडौंकै उत्तरतर्फ । पैसा नपरेका, छरछिमेकीले दिएका र आफन्तसँग अनुनय विनय गरी ल्याइएका फूल त्यही खुल्ला छतमा छन् । ती पनि सबै बसन्तको बैंशले उनमत्त छन् । फक्रेका छन् । फूलेका छन् । छतको शोभा बढाएका छन् । चिल्ला छन् । यो वैशाखमा तापूतापू लाग्ने घाम जताजता जान्छन् त्यतैत्यतै गुन्द्री तानेर उनकै छतमा बस्ने मेरा परम छिमेकीलाई आनन्द दिलाएका छन् । हाँडीकोट जस्ता दर्जनौँ पर्वतले त्यो आकास र यो भूगोल घेरिएको छ, छोपिएको छ । ती सबै अहिले घरबाटै नाङ्गा आँखाले स्पष्ट देख्न सकिन्छ । मानिलिनुहोस् लकडाउन पूर्ण रुपमा हटेको एकाध हप्तामा मैले मेरो छतमा आउने अनुमति तपाईंलाई दिएँ भने ? हामी प्रकृतिका श्रेष्ठ जीव हौँ । श्रेष्ठले शिष्टता समस्त जीवचरमा र सिङ्गो भूगोलमा प्रदर्शन गर्नु पर्छ । इमान्दारीसाथ भन्छु, त्यो हामीमा पटक्कै छैन । शिष्टताको प्रदर्शन अमुक वस्तुमा पनि हुनु पर्छ, तब मात्र तपाईं श्रेष्ठ हुनुहुन्छ र तपाईंप्रति सबैबाट न्याय हुन्छ । माया–प्रेम, संवेग–आवेग यी सबै कुर्कुरे बैंशका चारित्रिक विशेषता हुन् । ती सबैलाई नियन्त्रण वा प्रदर्शन गर्न प्रकृति अनिवार्य सहारा हो । मानव सभ्यता र जातीमाथि बेलाबेलामा आइलाग्ने बज्र प्रहार प्राकृतिक दोहनकै परिणती हो । तपाईं हाम्रो माया–प्रेम, संवेग–आवेगलाई जसरी नियन्त्रण र प्रदर्शन गर्न प्रकृति सहारा बन्यो । त्यसैगरी हाम्रा हरेक उमेरगत सजिला अप्ठ्यारामा प्रकृति सहारा बन्छ । विज्ञानको बिरासतालाई समेत निमेषमै निषेध गर्ने अदभूत शक्ति प्रकृतिसँग रहन्छ भन्ने शास्वत सत्यलाई अब स्वीकार्नैपर्ने हुन्छ । दक्षिण एशियाका संवेदनशील मानव वस्तीमा जनसंख्याको चाप तिब्रोत्तर छ । बढ्दो सहरीकरण व्यक्ति–व्यक्तिमा मौलाएको पछिल्लो प्रदर्शन कसैलाई देखाउनलायक भय पनि धेरैलाई देख्नलायक छैन । सम्पदाहरुको दोहनसँगै निर्माण हुने भौतिक संरचना भित्र–भित्रै प्राकृतिक विपत्तिको चुनौतीसँग पौठेजोरी खेल्दै होलान् । सधैँ विज्ञान र भौतिकताले जित हात पारे पनि अन्तिम जीत प्रकृतिको हुन्छ जुन प्रिय–अप्रिय जे पनि हुन सक्छ । भूगोल माथिको त्रि–ध्रुव्रीय धक्का भूकम्प, सुनामी र न्युक्लियर बिष्फोटका थरीथरी घटनाहरुको विभत्स आकृतिले हाम्रो होस हवास उडाइदिन्छ । हामीमा बढ्दो भौतिक आशक्ति र त्यसैलाई प्रगती ठान्ने प्रवृत्ति दुर्बल मानवीय प्रयत्नबाहेक केही होइन । सम्भवतः धूलो धुवाँको अस्थायी बन्ध्याकरण गरिदिएको वैश्यिक महामारी कोरोना भाइरस (कोभिड– १९) पनि यस्तै उपक्रमको परिणती त होइन । धन्यवाद !
गाउँलेको दुःखमा सघाउँदै प्रवासी
गलकाेट । तीन साताअघि भएको आगलागीले गलकोट नगरपालिका–७ मल्मका जुक्तबहादुर खड्काको घरबास गुम्यो । खाद्यान्न, लत्ताकपडासहित सरसमान सबै जले । लाखौँको भौतिक क्षति भयो । त्यसको केही दिनपछि सोही वडाका लक्ष्मण सुनारको साउदी अरबमा निधन भयो । हृदयाघातका कारण मृत्यु भएका सुनारको परिवारलाई बच्न पर्यो । श्रीमती, बालबच्चा बिचल्लीमा परे । गत फागुनमा रोजगारीका लागि साउदी अरब पुगेका सुनारको शव उतै रोकिएको छ । परिवारका सदस्यलाई अन्तिमपटक मुख हेर्ने धोको छ । बन्दाबन्दीले शव ल्याउन कठिन छ । प्रक्रिया झण्झटिलो र खर्चिलो छ । यसरी गाउँका दुई छिमेकी परिवारलाई परेको विपद्ले जापानमा रहेका गलकोटेको मन कुँडियो । दुःख, अप्ठेरोमा सघाउन बानी परेका उनीहरुले खड्का र सुनार परिवारका लागि सहयोग अभियान चलाए । एक सातामै झण्डै १५ लाख जुट्यो । अग्निपीडित खड्का परिवारका लागि ८ लाख १९ हजार २ सय ४४ सङ्कलन भएको अभियानकर्मी दुर्गा थापाले बताए । उनीसहित दिल थापा ‘रामु’ प्रकाश केसी, कृष्ण केसी, दिनेश थापा, तुलवीर थापालगायत अभियानमा जुटेका थिए । “जापानमा रहनुभएका १ सय ४७ भन्दा बढी गलकोटेहरु यो अभियानमा जोडिनुभएको छ”, उनले भने, “हामी सबैको प्रयासले यो सम्भव भएको हो ।” अभियान थालेको एक साताभित्रै उक्त रकम सङ्कलन भएको उनको भनाइ छ । सोही अवधिमा सुनार परिवारको राहतका लागि रु छ लाख १७ हजार ६ सय २० सङ्कलन भएको जापानबाट दिनेश थापाले जानकारी दिए । उनका अनुसार दुवै घटनापछि सङ्कलित सहयोग रकम वडा कार्यालयमा पठाइसकिएको छ । “वडामार्फत राहत प्रदान गर्ने गरी रकम पठाइसकेका छौँ”, दिनेशले भने, “उक्त रकम पीडित परिवारको हितमा सही ढङ्गले सदुपयोग होस् ।” वडाध्यक्ष टीकाबहादुर थापाले जापानबाट राहत रकम वडाको खातामा आइसकेको बताए । अग्निपीडित खड्का परिवारको घर निर्माणमा उक्त रकम सहयोग गरिने उनको भनाइ छ । “पीडित परिवारको पनि राय लिएर उपयुक्त काममा सहयोग गर्छौं”, वडाध्यक्ष थापाले भने । सुनार परिवारमा पनि बालबच्चाको पढाइ र उनीहरुको सुरक्षित भविष्यका लागि राहत रकम प्रदान गर्ने वडाको सोच छ । कमाउन विदेश पुगेका लक्ष्मणको अल्पायुमा निधन भएपछि परिवारमा सङ्कट आइलागेको छ । अग्निपीडित खड्का परिवारको व्यथा पनि सानो छैन । न्यून आय भएको परिवार भएका कारण सबैको सहयोगको खाँचो छ । यसअघि पनि विभिन्न सङ्घसंस्था र व्यक्तिले उक्त परिवारलाई राहत प्रदान गरेका थिए । महिला जागरण केन्द्र मल्म, रेडक्रस बागलुङ, लायन्स क्लब अफ धवलागिरिलगायतका सङ्घसंस्थाले राहत रकम र खाद्यान्न सामग्री दिएका थिए । जिल्ला प्रशासन कार्यालयले पनि १० हजार उपलब्ध गराएको थियो । रासस