नेपाली क्रिकेट टोलीको घोषणा
काठमाडाैं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट क्यानले १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । छनोट टोलीमा कप्तान मल्लसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने छन् । त्यसैगरी अविनाश बोहरा, आरिफ शेख, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, कमलसिंह ऐरी, सुशन भारी र शाहब आलम छनोट भएका छन् । नेपालले घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेशियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्नेछ । सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यही वैशाख ४ देखि ११ गतेसम्म हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले उपाधिका लागि भिड्ने छन् ।
अब सिमराका फुटबल फ्यानले फोनबाटै टिकट काट्न सक्ने, क्यासब्याक पनि पाउने
काठमाडाैं । अब सिमराका फुटबल फ्यानले फोनबाटै टिकट काट्न सक्ने भएका छन् । उनीहरूले खल्ती एपबाट टिकट काट्दा २० प्रतिशत छुट पाउनेछन् जसमध्ये ५ जनाले हरेक म्याचमा शतप्रतिशत टिकट रकम फिर्ता पाउनेछन् । साे सम्बन्धी खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेल तथा नव जन जागृति युवा क्लबका प्रेसिडेन्ट रामचन्द्र लामाबीच सम्झौता भएकाे हाे । चैत्र ३१ गतेबाट सिमरा रंगशाला, सर्लाहीमा हुन गइरहेको नव जन जागृति युवा क्लबद्वारा आयोजित ११औं जितपुर सिमरा गोल्ड कप – २०७७ फुटबल टुर्नामेन्टमा ‘खल्ती’ डिजिटल वालेट तथा पेमेन्ट गेटवे आधिकारिक टिकट पार्टनर भएको छ । ‘हामी यस जितपुर सिमरा गोल्ड कपमा आधिकारिक टिकटिंग पार्टनर हुन पाउँदा निक्कै गर्व महशुस गरेका छौं । यसले फ्यानहरुलाई लाइन नबसी आफ्नो फोनबाटै टिकट खरिद गर्न सम्भव बनाउने छ । साथै, यसले सबैलाई डिजिटल भइ आफ्नो भुक्तानी अनलाइन माध्यमबाट गर्न थप प्रोत्साहन गर्ने कुरामा म विश्वस्त छु ।’, खल्तीका सहायक प्रबन्धक भुर्तेलले भने । त्यस्तै, नव जन जागृति युवा क्लबका प्रेसिडेन्ट रामचन्द्र लामाले टिकट अनलाइन खरिद गर्न सम्भव भएकोले खेल व्यवस्थापनमा थप मद्दत पुर्याउने बताए । ‘हामी खल्ती डिजिटल वालेटसँग सहकार्य गर्न पाएकोमा निक्कै खुशी छौं । अब टिकट अनलाइन खरिद गर्न सम्भव भएकोले हामीलाई यसले खेल व्यवस्थापनमा थप मद्दत पुर्याउने कुरामा आश्वस्त छौं । हामीले अनलाइन टिकटमा क्यासब्याक र छुटको व्यवस्था पनि गरेका छौँ त्यसैले सबैलाई सकेसम्म फोनबाटै टिकट काट्न अनुरोध गर्दछौं ।’, उनले भने । यस खेलमा बिजेताले दश लाख र उपबिजेताले ५ लाख नगद राशि पुरस्कार स्वरुप पाउनेछन् । साथै रंगशालामा उपस्थित प्रशंसकहरुलाई पनि भरपुर समर्थन दिन प्रोत्शाहन गर्न ‘खल्ती’ ले २ हजार रूपैयाँ कुपन कोड हरेक खेलमा एकजनाको लागि व्यवस्था गरेको छ । यस कपका सबै इभेन्ट तथा खेल गोल नेपालले आफ्नो फेसबुक पेजको माध्यमबाट लाइभ प्रशारण गर्नेछ जहाँ दर्शकको लागि ‘खल्ती’ को कुपन कोड उपलब्ध हुनेछ । खल्ती डिजिटल वालेट नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो । ‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १७ लाखभन्दा बढी छन् ।
पहिलोपल्ट मिस कर्पोरेट नेपाल आयोजना हुँदै
काठमाडाैं । नेपालमा पहिलोपल्ट कर्पोरेट संस्थामा काम गर्ने महिलाहरुका लागि लक्षित गरी सौन्दर्य प्रतियोगिताको आयोजना हुने भएको छ। मिस कर्पोरेट नेपाल नाम दिइएको सौन्दर्य प्रतियोगितामा नेपालभरका कर्पोरेट संस्थामा काम गर्ने १८ बर्षदेखि २८ वर्षसम्मका महिलाले सहभागिता जनाउन पाउने आयोजक तथा अनुजा मिडियाकी संस्थापक अनुजा आचार्यले जानकारी दिइन्। त्यस्तै भर्खरै स्नातक सकेका महिलाले पनि प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्। असारको १० गते फिनाले हुने बताइएको सौन्दर्य प्रतियोगिताका सहभागीले आकर्षक पुरस्कारसँगै कर्पोरेट क्षेत्रमा काम गर्न पाउने आयोजकले जनाएको छ। कार्यक्रममा उच्च अदालतका न्यायाधीश नवराज थपलियाले कर्पोरेट क्षेत्रमा महिला नेतृत्व कम भएको बताए। उनले सबैभन्दा धेरै महिलाले काम गर्ने भनिएको बैंकमा समेत उच्च ओहोदामा महिला पुग्न नसकेको उल्लेख गरे। यस्ता सौन्दर्य प्रतियोगिताले कर्पोरेट क्षेत्रमा महिलालाई पनि उच्च ओहोदामा पुर्याउन मद्दत गर्नेमा थपलियाले विश्वास व्यक्त गरे। यता, नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले भने ४० प्रतिशत महिला बैंकमा काम गर्ने बताउँदै कर्पोरेट क्षेत्रमा लैंङ्गिक समानता रहेको बताए। कर्पोरेट क्षेत्रको सबैभन्दा धेरै महिला कामदार भएको क्षेत्र नै बैंक हो। नविल बैंकले महिला सशक्तिकरणसँगै मिटू लगायतका बिषयमा समेत छलफल गर्ने गरेका छाैं, ‘ उनले भने। अब हुन लागेको मिस कर्पोरेट नेपालले यसलाई अझै महत्वपूर्ण रुपमा अगाडी लैजाने उनको भनाइ छ। एक कार्यक्रमको आयोजना गर्दै अनुजा मिडियाले कुनै पनि पेशामा आबद्व भएका महिलाले आफ्नो कार्यक्षेत्र एवम् सौन्दर्यसंगै अन्य केहि फरक गतिविधिबाट आफ्नो प्रतिभा प्रदर्शन गर्दै देश तथा युवावर्गलाई सशक्त एवम् प्रेरित गर्न सक्षम होस् भन्ने उद्देश्यले यस प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिएको हो । यस प्रतियोगिताले कर्पोरेट संस्थामा काम गर्ने महिलाहरुका लिडरसिपको समेत विकास हुने आयोजकको विश्वास रहेको छ । कार्यक्रममा बोल्दै मिडियाकी अध्यक्ष अनुजा आचार्यले उक्त प्रतियोगिताले कुनै न कुनै पेशामा आबद्व भएका महिलाभित्र लुकेको क्षमता प्रस्फुटन गर्नमा मद्दत गर्ने बताइन् । उनले सौन्दर्य प्रतियोगिता ग्यामर तथा फोटोसुट मात्र नभई आफ्नो भित्री प्रतिभा प्रस्फूटन गर्ने माध्यम समेत रहेको भाव व्यक्त गरेकी छिन् । कार्यक्रममा गायक निर्णय श्रेष्ठ, ब्यबसायीहरु रजत श्रेष्ठ, मोहन ओझा, सन्जीव थापा, बिष्णु बहादुर कार्की लगायतका ब्यक्तित्वहरुको उपस्थतिथी थियो । आगामी वैशाख २० र २१ अडिसन राउण्डबाट शुरु हुने उक्त प्रतियोगिताबाट असार १० विजयी चुनिनेछन् । प्रतियोगिताको लागि इच्छुक एवम् योग्य १८ वर्षदेखि २८ वर्षसम्मका महिला समूहले मिस कर्पारेट नेपाल’ को वेबसाइटमा गएर आफ्नो नाम दर्ता गर्न सक्नेछन् ।