सुन्दरीजलकै धारामा आउँदैन खानेपानी

काठमाडाैं । मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल सुन्दरीजल क्षेत्रमै खानेपानी अभाव हुँदा स्थानीयवासी समस्यामा परेका छन्। सुन्दरीजल बागमती र मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल हो । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ बाट २७ दशमलव ५ किमी सुरुङ पार गरी आउने मेलम्चीको पानी गोकर्णेश्वर नगरपालिका-१ महाकालमा प्रशोधन हुन्छ । दैनिक मेलम्चीबाट आउने १७ करोड ५० लाख लिटर पानी प्रशोधन गरेर राजधानी पठाउने यस क्षेत्र वरपरका स्थानीयवासी भने सुक्खा मौसममा काकाकुल छन् । यहीँबाट बागमती नदीको करिब नौ करोड लिटर पानी राजधानीका विभिन्न स्थानमा वितरण गरिन्छ। वर्षायाममा बागमतीबाट करिब १३ करोड लिटर पानी वितरण गरिन्छ । यस क्षेत्रका गोकर्णेश्वर र कागेश्वरी मनोहरा दुई नगरपालिकाका अधिकांशले मेलम्चीको परै जाओस् पहिलेदेखि राजधानीमा वितरण गरिँदै आएको बागमती नदीको पानी पनि पिउन पाएका छैनन् । खानेपानीको समस्या भएपछि स्थानीयबासी परम्परागत ढुंगेधारा र कुवामा निर्भर हुन बाध्य छन् । कागेश्वरी मनोहरा नगरपालिका-४ डाँछीका स्थानीय सन्ध्या श्रेष्ठ खानेपानी लिन गोकर्णेश्वर नगरपालिका-१ रूप्सेटारको धारामा जानुपर्ने बाध्यता रहेको बताइन् । ‘पानी लिन करिब आधा घण्टा पैदल हिँडेर जान र आउनै समय लाग्छ,’ उनले भनिन‍्, ‘कहिले त पानीको लाइनमा एक घण्टा बस्दा दुई घण्टा समय १० लिटर खानेपानी खोज्दैमा बित्छ ।’ धारामा धेरै मानिस खानेपानीको लाममा बस्ने गरेकाले घण्टौँ कुर्नुपर्ने बाध्यता रहेको उनको अनुभव छ । यस्तो उनीजस्तै हजारौं स्थानीयले लामो समयदेखि भोग्दै आएका छन् । आधारभूत खानेपानी सेवा बिस्तार गर्ने विषयलाई नगरपालिकाले प्राथमिकतामा राखे पनि स्थानीय सरकारले एक कार्यकाल पूरा गर्दा पनि समस्या समाधान हुन सकेको उनीहरू बताउँछन् । स्थानीय सरकारले विभिन्न खानेपानी आयोजना पूरा गरेको प्रतिवेदन बनाए पनि दिगो हुन नसक्दा संविधानमा मौलिक हकका रूपमा उल्लेख गरिएको स्वच्छ खानेपानीको हकबाट वञ्चित हुनुपरेको स्थानीयवासीको गुनासो छ । गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिले मुहानवासीले खानेपानी नपाए मेलम्चीको पानी बागमतीमा बगाउने चेतावनी दिँदासमेत समस्या समाधान हुन सकेको छैन । गोकर्णेश्वरका नगर प्रवक्ता नारायणबहादुर सुवेदी काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बिच्छ्याउनुपर्ने पाइप नगरपालिकाकै बजेट विनियोजन गरी पानी माग गर्दा पनि सम्बोधन नभएको बताए । विसं २०७९ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद सन्तोष चालिसे विसं २०७४ सालमा गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका थिए । नगर प्रमुख हुँदा उनले मुहानवासीले खानेपानी नपाए मेलम्ची र बागमतीको पानी सहरमा वितरणका लागि नपठाई बागमतीमा बगाउने चेतावनी दिएका थिए । तर, अहिले सुन्दरीजल क्षेत्रकै स्थानीयवासीले खानेपानी नपाउँदा यही क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद चालिसेले वेवास्ता गरेको स्थानीय रामबहादुर तामाङको गुनासो छ । यही क्षेत्रबाट समानुपातिक सांसद निर्वाचित भएकी शान्ति श्रेष्ठले तीन महिनाअघि खानेपानी मन्त्रीलाई दिएको ज्ञापन पत्रमा गोकर्णेश्वर नगरपालिका- १, २, ३ र ४ वडाको खानेपानी समस्यालाई बेवास्ता गरी वडा नम्बर ५ भन्दा माथिकालाई मात्र समेटेकामा आपत्ति जनाइएको छ । जनप्रतिनिधिलाई आफ्नै निर्वाचन क्षेत्रका बारेमा राम्रो ज्ञान नहुँदा समस्या भोग्नुपरेको स्थानीयवासीको गुनासो छ ।

क्यानको नेतृत्वमाथि छानबिन गर्न आयोग गठन गरौँ : सांसद आचार्य

काठमाडौं । नेकपा(एमाले)का सांसद भीमप्रसाद आचार्यले आइसिसी टि ट्वान्टी प्रतियोगितामा आर्थिक अनियमितता भएको भन्दै छानबिनको लागि आयोग गठन गर्न माग गरेका छन् । बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद आचार्यले आइसिसी टी ट्वान्टी प्रतियोगितामा आर्थिक अनियमितता भएको समाचारहरू आएका भन्दै छानबिन गरी दोषिलाई कारबाही गर्न आयोग गठन गर्न माग गरेका हुन् । उनले क्यानको नेतृत्वबाट अनियमितता भएको कुरा आएकाले छानबिन गर्नुपर्ने बताए । सर्वोत्कृष्ट खेलाडी सन्दीप लामिछानेलाई १५ सदस्यीय खेलाडीको टोलीमा समावेश नगरेर नेपाललाई हराउने षड्यन्त्र गरिएको जानकारी दिए । ‘अमेरिकामा बस्ने नेपालीबाट अवैध रुपमा चन्दा उठाइ क्यानको खातामा नराखी दुरुपयोग गरेको भन्ने गुनासो आएको छ, आइसिसी टी ट्वान्टी प्रतियोगितामा नेपाललाई हराउन गरिएको षड्यन्त्र, आर्थिक अनियमितता र भइरहेका जुन आरोप लागिरहेको छ, त्यो नेपालको शीर निहुँराउने भएको यस्तो गलत क्रियाकलापको सन्दर्भमा निष्पक्ष छानबिन आयोग गठन गरेर सरकारले यथाशिघ्र छानबिन गरोस्’, उनले भने । उनले अनावश्यक मान्छेको नाम पनि टोलीमा राख्दा नेपालको प्रतिष्ठामा आघात पुगेको बताए ।

अष्ट्रेलिया विश्वकपको सुपर आठमा प्रवेश

काठमाडौं । अष्ट्रेलियाले नामिबियालाई हराउँदै आइसिसी टि–२० विश्वकप २०२४ को सुपर आठमा पुगेको छ । वेस्टइन्डिजको सरभिभियन रिचर्ड्स रङ्गशालामा भएको खेलमा अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले पराजित गर्दै विश्वकपको सुपर आठमा प्रवेश गरेको हो । समूह ‘बी’ मा रहेको अष्ट्रेलियाले लगातर तेस्रो जित निकाल्दै विश्वकपको सुपर आठमा पुगेको हो । अष्ट्रेलियाले यसअघि ओमानलाई ३९ र इंग्ल्याण्डलाई ३६ रनले हराएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार नामिबियाले जितका लागि दिएको ७३ रनको सामान्य लक्ष्य पछ्याएको अष्ट्रेलियाले पाँच दशमलव चार ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाका लागि ट्रविस हेडले सर्वाधिक ३४ रनको योगदान दिए । उनले १७ बलमा पाँच चौका र दुई छक्कासहित ३४ रनमा अविजित रहेका हुन् । त्यस्तै डेविड वार्नरले २० जोड्दा कप्तान मिचेल मार्सले १८ रन बनाए । नामिबियाका डेविड विजाले एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको नामिबिया १७ ओभरमा सबै विकेट गुमाउँदै ७२ रनमा समेटिएको थियो । नामिबियाका लागि कप्तान जेराल्ड इरास्मसले ४३ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ३६ रनको योगदान दिए । त्यस्तै माइकल भान लिंगेनले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंंकमा रन बनाउन सकेनन् । समूह ‘बी’मा अष्ट्रेलिया तीन खेलमा छ अंकका साथ शीर्षस्थानमा छ । त्यसैगरी सोही समूहमा रहेको स्कटल्याण्ड तीन खेलमा दुईमा जित र एक खेलमा अंंक बाँड्दै पाँच अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया तीन खेलमा एक जित र दुई खेलमा हारसहित दुई अंकका साथ तेस्रो स्थानमा छ । इंग्ल्याण्ड दुई खेलमा एक अंकका साथ चौथो स्थानमा छ । ओमान तीन खेलमा जितविहीन हुँदै विश्वकपबाट बाहिरिसकेको छ । विश्वकपमा सहभागी प्रत्येक समूहका शीर्ष दुई स्थानमा पुग्ने टोली सुपर आठमा पुग्ने प्रावधान रहेको छ ।