यम बराल साँझबाट उठेको रकम क्यान्सर पीडित गायिका थापालाई हस्तान्तरण
काठमाडौं । लायन्स क्लब अफ सिद्धार्थ एभरग्रिनले ‘यम बराल साँझ’बाट उठेको रकम क्यान्सर पीडित गायिका जमुना थापालाई हस्तान्तरण गरेको छ । गायन क्षेत्रमा लागेकी थापा अहिले क्यान्सरले थलिएकी कारण उपचारमा ‘लायन्स क्लब अफ सिद्धार्थ एभरग्रिन’ले सहयोग गरेको हो । अहिले केही रकम क्यान्सर पीडित गायिका थापालाई प्रदान गरिएको अध्यक्ष कल्पना बस्नेतले बताइन् । ‘लायन्स क्लब अफ सिद्धार्थ एभरग्रिन’ले १८ कात्तिकमा नेपाल प्रज्ञा प्रतिष्ठानको भवन कमलादीमा गरेको यम बराल एकल साँझबाट उठेको रकममध्ये केही सहयोग गरेको हो । सामाजिक र सांस्कृतिक परिवर्तन लागि शिक्षा’ भन्ने अभिप्रायबाट सहयोग स्वरूप यम बराल साँझ गरिएको थियो ।
‘नेपाल आइडल-५’ को उपाधि करण परियारलाई
काठमाडौं । प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै उनी विजेता बनेका हुन् । विजेता परियारले नगद २५ लाखसहित अन्य उपहार प्राप्त गरे । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ दोस्रो भएसँगै नगद १० लाख, दार्जिलिङका सचिन विश्वकर्मा तेस्रो भएर नगद पाँच लाख र दार्जिलिङकै मोहित भुजेलले चौथो स्थान हासिल गरेर पुरस्कारमा स्कुटर प्राप्त गरे । विगत चार महिनादेखि जारी प्रतियोगितामा दर्शकले दिएको मतका आधारमा विजेता चयन गरिएको हो । ‘नेपाल आइडल’को पाँचौँ संस्करणमा गायक न्हू बज्राचार्य, सङ्गीतकार कालिप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशीले निर्णायक थिए ।
वैदेशिक रोजगारीमा ठगी बढ्दै
नेपालगञ्ज । बाँकेमा दाङमा वैदेशिक रोजगारसम्बन्धी ठगीका उजुरीहरू बढ्दै गएका छन् । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय बाँकेमा सञ्चालित आप्रवासी स्रोत केन्द्रमा आर्थिक वर्ष २०७७/०७८ मा ८ उजुरी परेकामा आव २०८०/०८१ मा त्यो संख्या ४७ पुगेको सामी कार्यक्रम बाँकेका संयोजक कमलसिंह नेपालीले जानकारी दिए । यो कार्यक्रम यहाँका चार स्थानीय तहमा सञ्चालित छ । वैदेशिक रोजगारीमा जानेलाई एउटा काम भनेर अर्को काममा लगाउने, एउटा कम्पनी भनेर अर्को कम्पनीमा लैजाने र जानुपूर्व दिने भनिएको तलबभन्दा न्यून तलब दिने समस्या रहेको बताइएको छ । ‘सामी कार्यक्रम सञ्चालन भएपछि स्थानीयमा चेतना जागृत भएको अवस्था छ, त्यही भएर उजुरीको सङ्ख्या बढेको छ,’ संयोजक नेपाललीले भने । कतिपय ठगीका उजुरीमा जिल्ला प्रशासनले पीडित र पीडकलाई बोलाएर क्षतिपूर्ति दिलाएर मिलापत्र गराउने र नमिलेमा वैदेशिक रोजगार विभाग पठाउने गरेको उनले बताए । संयोजक नेपालीका अनुसार आप्रवासी स्रोत केन्द्रबाट एक वर्षमा १० हजार सात सय ३६ जना र कार्यक्रम सञ्चालन भएको चार वर्षमा २८ हजार ४ सय ६६ जनाले सूचना र परामर्श लिएका छन् । सोही कार्यक्रमका सामाजिक परिचालन अधिकृत घनश्याम वलीले यहाँका नेपालगञ्ज, कोहलपुर, खजुरा र बैजनाथमा सञ्चालित वित्तीय साक्षरता कक्षा प्रभावकारी भएको बताए । वैदेशिक रोजगार बोर्डकी सामी कार्यक्रम अधिकृत लक्ष्मी चौधरीले श्रम स्वीकृति लिई दक्ष भएरमात्रै वैदेशिक रोजगारीमा जानु उचित हुने सल्लाह दिए ।