आईसीसी टी-२० विश्वकपको उपाधि भारतलाई
काठमाडौं । दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारत आइसिसी टि–२० क्रिकेट विश्वकप २०२४ को च्याम्पियन बनेको छ । भारतले १७ वर्षपछि विश्वपकको ट्रफी उचालेको हो । यसअघि भारतले सन् २००७ मा पहिलेपटक टि–२० विश्वकपको उपाधि जितेको थियो । वेष्टइन्डिजको बार्बाडोसस्थित कोन्सिङ्टन ओभलमा भारतले दक्षिण अफ्रिकालाई एक सय ७७ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा दक्षिण अफ्रिका निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदा मात्र एक सय ६९ रनमा समेटियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्वाधिक ५२ रनको योगदान दिए । उनले २७ बलमा दुई चौका र पाँच छक्काको सहयोगमा ५२ रन बनाएका हुन् । त्यस्तै क्विन्टर डि ककले ३९ र क्रिस्टन स्टब्सले ३१ रन बनाए । भारतका हार्दिक पांड्याले सर्वाधिक तीन विकेट लिए भने अरसदीप सिहं र जसप्रित बुमराहले समान दुई–दुई विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ७६ रनको योगफल बनाएको थियो । भारतका लागि विराट कोहलीले ५९ बलमा छ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ७६ रन बनाए । यसैगरी अक्षर पटेलले ४७ र शिवम दुबेले २७ रन जोडे । दक्षिण अफ्रिकाका लागि केशव महाराज र एनरिच नोर्ट्जेले समान दुई–दुई विकेट लिए भने मार्को यानसन र कागिसो रबाडाले समान एक–एक विकेट लिए ।
मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत बढी
महोत्तरी । राष्ट्रिय जनगणना-२०७८ को तथ्यांकअनुसार मधेसमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको संख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ । राष्ट्रिय जनगणनामा उल्लेख गरिएको विवरण अनुसार १५ देखि १७ वर्षभित्र विवाह गर्ने २७.७ प्रतिशत छन् । यसैगरी १० देखि १४ वर्षको उमेरभित्र विवाह गर्ने ९.३ प्रतिशत र १० वर्ष उमेर मुनि विवाह गराइने ०.२ प्रतिशतसहित यो संख्या ३७.२ प्रतिशत हुन्छ । १८ र २० वर्ष उमेरबीच विवाह गर्ने ३९.५ प्रतिशत छन् । दुलाहाको उमेर २० देखिए पनि दुलही १७ वर्षका पाइएका छन् । उमेर नपुगी विवाह भएका महिला ३९.५ को आधा हुँदा कूल उमेर नपुगी विवाह हुनेको संख्या ५० प्रतिशतमाथि पुग्ने देखिएको बालविवाहविरुद्ध सामाजिक अभियान सञ्चालन गर्दै आएको रत्यौली युवाक्लबका अध्यक्ष वैद्यनाथ चौधरीले जानकारी दिए । मधेसमा विवाह हुने सालाखाला औसत उमेर नै १८ वर्ष रहेको राष्ट्रिय जनगणना, २०७८ को तथ्यांक अभिलेखमा उल्लेख छ । पुरुषको उमेर २० वर्ष भए पनि महिला १७ वर्षसम्मका पाइएका छन् । बालविवाहको यो पाटोबाहेक अनमेल विवाह हुँदा पनि बालविवाहमा पर्ने किशोरी नै बढी रहेका देखिएको चौधरीले बताए । पछिल्ला केही वर्षयता अनमेल विवाह घट्दै गए पनि समाजमा पाको उमेरका पुरुषको सम्पति हेरेर उमेर नपुगेकी छोरी दिनेहरू समाजमा अझै बाक्लै रहेका उनको भनाइ छ । बालविवाहको यो अवस्था अन्त्य गर्न जिल्लाका स्थानीय तहले विभिन्न सामाजिक सङ्घसँगको सहकार्यमा सामाजिक जागरण अभियान सञ्चालन गर्दै आएका छन् । मटिहानी, बलवा, मनराशिशवा, जलेश्वर र लोहारपट्टी नगरपालिका तथा पिपरा र महोत्तरी गाउँपालिकामा बालविवाहविरुद्ध सामाजिक जागरणका लागि विवाह प्रणाली सुधार परियोजना सञ्चालन भइरहेका मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए । यी सात स्थानीय तहका ४९ वटा विद्यालयमा बालविवाह अन्त्यका लागि जीवनोपयोगी शिक्षा र व्यवहार परिवर्तनसम्बन्धी सैद्धान्तिक कक्षा, छलफल र अभ्यास भइरहेका जनाउँदै यसबाट सकारात्मक परिणाम प्राप्त भइरहेको नगरप्रमुख मण्डलले बताए । बालविवाह न्यूनीकरणका लागि स्थानीय सरकारले विद्यालयमा बालबालिका र अभिभावकबीच जनचेतनामूलक कार्यक्रम, सडक नाटक प्रदर्शन, बालक्लबको गठन, तालिम र बालमैत्री शासनलगायत कार्यक्रम सञ्चालन गराइरहेका छन् । मटिहानी नगरपालिकाले उमेर पुगेपछि छोराछोरीको विवाह गराउने अभिभावक, विवाह विधि सम्पन्न गराउने गुरु÷पुरोहित तथा मोल्वी (इस्लाम धर्मावलम्बीका पुरोहित) लाई सामाजिक सम्मान गर्दै आएको छ ।
फेसियल हाउसले पायो ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड’
काठमाडौं । युनिसेक्स सैलुन फेसियल हाउसले ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड, २०२४’ प्राप्त गरेको छ । उत्कृष्ट युनिसेक्स सैलुन सञ्चालन गरी यस क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै लि–डिभाइन इभेन्ट कम्पनीले फेसियल हाउसलाई सो अवार्ड प्रदान गरेको हो । लि–डिभाइनले बिहीबार काठमाडौंको लाजिम्पाटस्थित होटेल र्याडिसनमा आयोजना गरेको भव्य समारोहकाबीच प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना, नेपाली चलचित्रका नायक भुवन केसी र भारतकी प्रख्यात अभिनेत्री एवम् राजनीतिज्ञ जया प्रदालगायतले सो अवार्ड फेसियल हाउसलाई हस्तान्तरण गरेका हुन् । जया प्रदा भारतको चलचित्र उद्योग र राजनीतिमा सफल व्यक्तिका रूपमा परिचित छिन् । फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ व्युटिसियन सुष्मा महराको अनुपस्थितिमा सो अवार्ड फेसियल आउसका प्रबन्धक वीरेन तामाङले ग्रहण गरेका थिए । लि–डिभाइनले ‘इन्डो–नेपाल ह्वेयर कल्चर कम्स एलाइभ’ नाराका साथ ‘कल्चरल फेस्टा’ नाम दिएर छैठौँ संस्करणको इन्टरनेशनल एक्सिलेन्स अवार्ड, २०२४ आयोजना गरेको हो । कार्यक्रमलाई नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको नेपाल महिला चेम्बरले प्रस्तुत गरेको थियो ।