१० खेलाडीमा सीमित इंग्ल्यान्डको रोमाञ्चक जित, मेक्सिकोलाई ३–२ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम–१६ अन्तर्गत भएको अत्यन्तै रोमाञ्चक प्रतिस्पर्धामा इंग्ल्यान्डले सह–आयोजक मेक्सिकोलाई ३–२ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।  खेल मेक्सिको सिटी स्टेडियममा सम्पन्न भएको हो। इंग्ल्यान्डको जितमा जुड बेलिंघम नायक बने । उनले ३६औं र ३८औं मिनेटमा लगातार दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए । तर पहिलो हाफको ४२औं मिनेटमा जुलियन क्युनोनिसले गोल गर्दै मेक्सिकोलाई खेलमा फर्काउने प्रयास गरे । दोस्रो हाफको ५४औं मिनेटमा इंग्ल्यान्डका डिफेन्डर जरेल क्यूनसाह रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि इंग्ल्यान्ड १० खेलाडीमा सीमित भयो । त्यसको केही मिनेटअघि भीएआर समीक्षापछि उनलाई सीधा रातो कार्ड देखाइएको थियो । ६०औं मिनेटमा कप्तान ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई ३–१ को सहज अवस्थामा पुर्‍याए । तर ६९औं मिनेटमा राउल जिमेनेजले पेनाल्टीमा गोल गर्दै अन्तर ३–२ मा झारे । बाँकी समयमा घरेलु समर्थकको साथ पाएको मेक्सिकोले लगातार दबाब सिर्जना गरे पनि इंग्ल्यान्डका गोलरक्षक र रक्षापंक्तिले उत्कृष्ट प्रदर्शन गर्दै अग्रता जोगाए ।  अतिरिक्त समयमा पनि मेक्सिकोले बराबरी गर्ने अवसर पाउन सक‍ेन । यो जितसँगै प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा रहेको इंग्ल्यान्ड क्वार्टरफाइनलमा पुगेको छ । अब उसले नर्वेसँग प्रतिस्पर्धा गर्नेछ ।

‘ए रुपा’बाट भाइरल बनेका प्रहरी हवल्दार

शेरबहादुर सिंह काठमाडौं । पाँच महिना अघि बजारमा आएको- ‘ए रुपा तेरो लेहंगा जवरजस्त छ, तेर आँखोमा सारा दुनियाँ मगन मस्त छ’ बोलको देउडा गीत चर्चित छ । ​​​​​सुदूरपश्चिममा झन्डै दुई दशकदेखि देउडा गायनमा सक्रिय लोक तथा देउडा गायक शेरीराम औजीको स्वर ‘ए रुपा’ बोलको कुमाउनी प्याटनको गीतमात्रै नभएर उहाँका हरेक गीतले सुदूरका देउडा पारखीहरूको मन जितिरहेका छन् । उक्त गीत बजारमा आउँदा केही समय भाइरल भएको थियो । युट्युबमा ‘ए रुपा’ बोलको गीतले ५४ लाख भ्युज पाएको औजीको भनाइ छ । बेलाबखत लोकप्रिय देउडा गीतहरू बजारमा ल्याएर सामाजिक सञ्जालदेखि युट्युब, टिकटक लगायतमा बजार तताउने गीत ल्याउँदै आएका देउडा गायक औजीको परिचय देउडा गायकमा मात्रै सीमित छैन । औजी नेपाल प्रहरी सङ्गठनका प्रहरी सहायक हबल्दार हुन् । १७ वर्ष जागिर पार गरिसकेका औजीले आफ्नो प्रहरीको जिम्मेवारीसँगै साङ्गीतिक यात्रालाई पनि निरन्तरता दिइरहेको बताउँछन् । ‘स्कुल पढ्दा देखि नै देउडा गायनमा औधी रुचि भएकाले बैतडीमा विद्यालयहरूको जिल्लास्तरीय गायनमा पनि प्रथम भएको थिएँ,’ उनले सुनाए ।  बैतडीको पञ्चेश्वरी गाउँपालिका-६ बिजुलमा जन्मिएका औजी २०६३ सालदेखि सुदूरपश्चिमको देउडा गाउन थालेका हुन् । ‘गाउँबाट एसएलसी पास गरेर २०६६ सालमा प्रहरी जवानमा भर्ना हुनुअघि दुईवटा गीत बजारमा ल्याइसकेको थिएँ,’ हाल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका कार्यरत औजीले भने, ‘ड्युटी सकेर ब्यारेक पस्यो, फुर्सद भयो कि गायन, नयाँ सृजनामा समय खर्चिने बानी भइसक्यो ।’ वि.सं २०६३ मा किशोरावस्थामै बैतडीबाट महेन्द्रनगर झरेर औजीले ‘घर छुट्यो, घरबार टुट्यो देउडा’ बोलको पहिलो गीत रेकर्ड गराएको बताए । पछिल्लो समय महेन्द्रनगरका कलाकार मासुम विष्टको लय र शब्द सङ्कलन तथा गायक औजीको ‘ए रुपा’ बोलको गीत सुदूरपश्चिममा मात्रै नभएर भारतको सीमावर्ती कुमाउ, पिथौरागढ र गडवाल क्षेत्रमा पनि चर्चित छ । हाल भीमदत्त नगरपालिका-५ सुकासाल बस्दै आएका औजीले सुदूरपश्चिममा एक सयभन्दा बढी गीतमा स्वर दिइसकेको बताए । औजीका दर्जनभन्दा बढी गीत अहिले पनि सुदूरपश्चिममा चर्चित छन् । ‘लागूऔषधसम्बन्धी सचेतना तथा प्रहरीका पनि गीतहरू ल्याएको छु, चलिरहेका छन् । ड्युटीपछिको मेरो गायन यात्रालाई प्रहरी सङ्गठन र घरपरिवारले साथ दिएकाले हर्षित छु,’ उनले भने ।  ‘प्रहरीलाई खबर गरौँ’ हरघडी आउँछ प्रहरी, सेवा गर्न आउँछ प्रहरी’ ‘घटना र दुर्घटना विपद् भएमा हरक्षण तयारी छौँ फोन गरौँ सयमा’ बोलको प्रहरीको गीत तीन वर्षअघि बजारमा औजीले ल्याएका थिए । यहाँ प्रहरीले गर्ने सचेतनामूलक कार्यक्रममा गायनमा पनि औजीले सचेतनामूलक प्रस्तुत दिने गरेका छन् । ‘मेरो पहिलो गीत ‘घर छुट्यो घरबार टुट्यो’ त्यो बेला सुदूरपश्चिमका रेडियो एफएमहरूमा पनि निकै बज्थ्यो,’ औजीले भने, ‘अहिले पनि पहिलो गीत ओझेलमा छैन, दर्शक श्रोताले मन पराएकै छन् ।’ सुदूरपश्चिमका अर्का परिचित देउडा गायक महेशकुमार औजी गायक शेरीराम औजीका साङ्गीतिक क्षेत्रका एक प्रेरणा हुन् । ‘महेश औजी नाताले पनि दाई पर्नुहुन्छ । घरका सबै सदस्यहरूले पनि मेरो गायनको यात्रालाई प्रोत्साहन गरिरहन्छन्,’ उनले भने ।  उनले सुदूरका नौवटै जिल्लाको कला, संस्कृति पर्यटकीय गन्तव्य समेटिएको देउडा गीत ‘मेरी माया शीतलु छायाँ’ सुदूरपश्चिममा अर्को लोकप्रिय देउडा गीत हो । प्रहरीको ड्युटी सकेर फुर्सदमा गीतसङ्गीतकै दुनियाँमा समय खर्चिने औजी बिदाका बेला सुदूरपश्चिममा हुने मेला महोत्सवमा पनि स्टेज प्रस्तुति दिने गर्छन् । ‘ड्युटी मेरो पहिलो प्राथमिकता हो । गीतसङ्गीतलाई पनि निरन्तरता दिने योजनासहित साङ्गीतिक क्षेत्रलाई पनि सँगै लगेको छु,’ उनले भने ।  उनले देउडा गीतहरू स्रोता दर्शकहरूले निकै मन पराएकै कारण देउडा गायनमा गरेको लगानीको प्रतिफल राम्रै आइरहेको बताए । ‘यहाँसँगै भारतीय सीमावर्ती क्षेत्रबाट पनि साङ्गीतिक प्रस्तुतिका लागि बोलावट हुन्छ । समय मिलेमात्रै प्रस्तुतिका लागि जाने गरेको छु,’ उनले भने । रासस

ब्राजिललाई स्तब्ध पार्दै नर्वे पहिलोपटक विश्वकप क्वार्टरफाइनलमा

काठमाडौं । फिफा विश्वकप २०२६ को प्रिक्वार्टरफाइनलमा नर्वेले पाँच पटकको विश्व च्याम्पियन ब्राजिललाई २–१ ले पराजित गर्दै सनसनीपूर्ण रूपमा क्वार्टरफाइनलमा स्थान बनाएको छ ।  न्यूयोर्क–न्यु जर्सी स्टेडियममा भएको रोमाञ्चक खेलमा नर्वेका स्टार स्ट्राइकर अर्लिङ हालान्ड नायक बने । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा हालान्डले ७९औं मिनेटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाए । खेल अतिरिक्त समयमा जाने अनुमान भइरहेका बेला उनले ९०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । यससँगै उनले प्रतियोगितामा आफ्नो गोल संख्या सात पुर्‍याएका छन् । ब्राजिलले खेलको इन्ज्युरी नेयमारको पेनाल्टी गोलमार्फत अन्तर घटाए पनि त्यसअघि नर्वेले बनाएको अग्रता जोगाउन सफल भयो । नेयमार दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । कार्लो एन्सेलोटीको प्रशिक्षणमा रहेको ब्राजिलले खेलभर बलमा नियन्त्रण राखे पनि अवसरलाई गोलमा परिणत गर्न सकेन । नर्वेका गोलरक्षक ओर्यान न्यालान्डले महत्वपूर्ण बचाउ गर्दै टोलीलाई खेलमा टिकाइराखे । यो जितसँगै नर्वेले विश्वकप इतिहासमै पहिलो पटक क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । अब नर्वेले क्वार्टरफाइनलमा मेक्सिको र इंग्ल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । ब्राजिल भने लगातार छैटौं विश्वकपमा युरोपेली टोलीसँग नकआउट चरणमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।