दोस्रो बजारमा सूचिकृत नभएका कम्पनीले पनि एनआईसी क्यापिटलबाट शेयर रजिष्ट्रारको सेवा लिन सक्ने

काठमाडौं । एनआईसी एशिया क्यापिटलको आइडिया टु आइपिओ सेवा अन्तर्गत धितोपत्रको दोस्रो बजारमा सूचिकृत नभएका कम्पनीहरुले पनि सेयर रजिष्ट्रारको सेवा लिन सक्ने भएका छन् । एनआईसी एशिया क्यापिटलले नेपालमै पहिलो पटक मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित आइडिया टु आइपिओ सेवामार्फत सो सेवा लिन सक्ने जनाइएको हो । सो सेवा अन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको आइडिएसनदेखि कम्पनी स्थापना, कम्पनीको विस्तार हुँदै आइपिओ जारी गर्ने चरणसम्म कम्पनीलाई पुर्याउन आवश्यक पर्ने लगानीको श्रोत व्यवस्थापन तथा आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । कम्पनीले दोस्रो बजारमा सूचिकरण नभएका पब्लिक कम्पनी तथा प्राइभेट कम्पनीहरुलाई समेत शेयर रजिष्ट्रार अन्तर्गतका विभिन्न सेवा उपलब्ध गराउने जनाएको छ ।

इष्टर्न साहारा कम्पनीको साधारण सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

काठमाडौं । इष्टर्न साहारा कम्पनी लिमिटेडको साधारण सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड नियुक्त भएको छ । इष्टर्न साहारा कम्पनी लिमिटेडले सर्वसाधारणमा प्रति कित्ता सेयर मुल्य एक सयका दरले ३० लाख कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । फागुन १ गतेका दिन एक विशेष कार्यक्रममा इष्टर्न साहारा कम्पनी लिमिटेड र ग्लोबल आइएमई क्यापिटल लिमिटेड बीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । २०७९ सालमा पब्लिक कम्पनीको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको इष्टर्न साहारा कम्पनी लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बिर्तामोड नगरपालिका, चारपाने, झापामा रहेको छ भने लियाजन अफिस बानेश्वर हाइट, काठमाडौंमा रहेको छ । कम्पनीले छरिएर रहेको स-सानो पुँजीलाई एकीकृत रुपमा परिचालन गर्दै मुख्य रुपमा ग्रिन फाइनान्सिङलाई प्रवद्र्धन गर्ने तथा कार्बन उत्सर्जनलाई न्यूनिकरण गर्ने परियोजनामा लगानी गर्ने उद्देश्य राखेको जनाएको छ । हाल कम्पनीले जलविद्युत, कृषि पर्यटन, अटोमोवाइल्स, सौर्य उर्जाका क्षेत्रसँग सम्बन्धित परियोजनामा लगानी गरेको छ । बैंकिङ्ग, सहकारी, लघुवित्त तथा हाइड्रोपावर क्षेत्रसँग सम्बन्धित प्रतिष्ठित व्यक्तिहरु, ख्याती प्राप्त व्यवसायी, उद्यमी, चार्टर्ड एकाउन्टेन्ट तथा अन्य प्रोफेसनल लगायतका प्रबुद्ध व्यक्तिहरुको समुहद्वारा संस्थापित र सञ्चालित यस कम्पनीले स्वः पूँजीको क्षेत्रमा आफ्ना लगानीलाई विस्तार र विविधिकरण गरी मुलुकको ग्रिन फाइनान्सिङमा टेवा पुर्याई आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्य लिएको छ ।

आईजीआई प्रुडेन्सियलको साढे ७ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्स कम्पनीका संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको साढे ७ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो । कम्पनीका अनुसार सेयरधनीहरूले आफ्नो नाममा रहेको सेयरहरूमध्ये ७ लाख ६६ हजार ५९३ कित्ता सेयर बिक्रीमा राखेका हुन् । उक्त सेयरको मूल्य तोकिएको छैन । उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनु पर्ने छ । यदि उक्त समयमा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्रीमा राखिने बैंकले जनाएको छ ।