एक सातापछि बढ्यो सेयर बजार, दुई अर्बमा खुम्चियो कारोबार

काठमाडौं । निरन्तर एक सातासम्म घटेको सेयर बजार सोमबार दोहोरो अंकले बढेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक १३.२८ अंकले बढेर १९९२.३० बिन्दु पुगेको छ । कारोबार खुलेको करिब आधा घण्टामा बढेर ११९७ बिन्दुसम्म पुगेको परिसूचक त्यसपछि ओरालो लागेर १९७३ बिन्दुसम्म झरेको थियो । तर, कारोबारको अन्तिम घडीमा पुनः ह्वात्तै बढेर बजार बन्दा हुँदा परिसूचक १९९२ बिन्दुसम्म पुगेको छ । परिसूचक बढेपनि कारोबार रकम भने निरन्तर घट्दो क्रममा छ । अघिल्लो दिन तीन अर्ब बढीको सेयर कारोबार भएको बजारमा सोमबार भने दुई अर्बमा सीमित भएको छ । ३१४ वटा स्क्रीप्स कारोबारमा आएको बजारमा कूल २ अर्ब एक करोड ७७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् । जसमध्ये सोनापुर मिनिरल्स एण्ड आयलको सर्वाधिक अर्थात ९ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको कारोबार रकमसँगै सेयर मूल्य पनि ३० रुपैयाँले बढेर प्रतिकित्ता ४३८ रुपैयाँ पुगेको छ । बजारमा बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १६ हजार २३२ रुपैयाँ पुगेको छ । आइतबार नकारात्मक सर्किट लागेको समाज लघुवित्त वित्तीय संस्थाको सेयरमा सोमबार पनि नकारात्मक सर्किट नै लागेको छ । जसको सेयर मूल्य १० प्रतिशत अर्थात १९५.८० रुपैयाँले घटेर प्रतिकित्ता एक हजार ७६२.९० रुपैयाँमा झरेको छ । सोमबारको बजारमा फाइनान्स, लघुवित्त र म्युचुअल फण्ड घटेका छन् भने बाँकी समूह बढेर हरिया देखिएका छन् ।

सर्वोत्तम सिमेन्टको आईपीओ : पहिलो दिनमै मागभन्दा बढी आवेदन, कतिले भरे सेयर ?

काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओमा पहिलो दिन नै मागभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरीङ (सीडीएससी)का अनुसार आइतबार नै करिब तीन गुणा बढी आवेदन परेको हो । सीडीएससीका अनुसार आइतबार साँझसम्ममा एक लाख ५६ हजार २०७ जनाले तीन अर्ब १२ करोड बढीको ८६ लाख ६० हजार ६४० कित्ता सेयरको लागि आवेदन दिएका छन् । कम्पनीले फागुन १३ गतेदेखि सर्वसाधारणमा कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयरको निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्तासहित सो मात्राको सेयर बिक्रीमा राखेको हो । उक्त सेयर किन्नको लागि लगानीकर्ताले प्रतिकित्ता ३६०.९० रुपैयाँका दरले आवेदन दिनुपर्ने व्यवस्था छ । फागुन १६ गतेसम्म निष्काशन हुने उक्त सेयरमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सीडीएससीको सफ्टवेयर मेरोसेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। जसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको कम्पनी भन्ने बुझिन्छ ।

बोनसपछि हकप्रदको घोषणासँगै सन नेपालको सर्वाधिक कारोबार, सेयर मूल्य पनि बढ्यो

काठमाडौं । आइतबारको सेयर बजारमा सन नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ । इन्स्योरेन्सको एकैदिन २५ करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । कारोबार रकममा मात्रै नभई कारोबार संख्याको आधारमा पनि सन नेपालको सबैभन्दा बढी छ । कम्पनीको एकैदिन ४ लाख १५ हजार ९४९ कित्ता सेयर ४ हजार ९२५ पटकमा किनबेच भएको छ । त्यस्तै, आइतबारको बजारमा कम्पनीको सेयर मूल्य पनि बढेको छ । दिनभरको कारोबारमा कम्पनीको सेयर मूल्य २८.८० रुपैयाँले बढेर प्रतिकित्ता ५९९.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ । जुन अघिल्लो कारोबारको तुलनामा ५.०४ प्रतिशतले बढी हो । यससँगै, आइतबारको टप गेनरको सूचीमा सन नेपाल पाँचौं स्थानमा रहेको छ । यद्पि आइतबारको बजारमा कम्पनीको सेयर प्रतिकित्ता अधिकतम ६२८.१० रुपैयाँसम्म कारोबार भएको थियो । कम्पनीले बोनसपछि हकप्रद सेयर निष्काशन गर्ने घोषणा गरेसँगै त्यसको प्रभाव दोश्रो बजारमा परेको बजार जानकारहरु बताउँछन् । आइतबार मात्रै कम्पनीले २३.८० प्रतिशत बोनस र बोनसपछि २७ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको थियो । साथै, कम्पनीले कर प्रयोजनको लागि ४ करोड ८४ हजार २११ रुपैयाँ बराबरको नगद लाभांश पनि वितरण गर्ने घोषणा गरेको छ । फागुन ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजीको २३.८० प्रतिशत बोनस वितरण गर्ने घोषणा गरेकोे हो । हाल कम्पनीको चुक्ता पुँजी तीन अर्ब २० करोड रुपैयाँ छ । प्रस्तावित बोनस पछि कम्पनीको चुक्ता पुँजी तीन अर्ब ९६ करोड रुपैयाँ नाघ्ने छ । उक्त कायम पुँजीको २७ प्रतिशत अर्थात एक बराबर ०.२७ अनुपातको हकप्रद सेयर जारी गर्ने प्रस्ताव कम्पनीले गरेको छ । उक्त प्रस्ताव पारित भएपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब नाघ्ने छ । इन्स्योरेन्सले नियामक निकाय नेपाल बीमा प्राधिकरणले तोकेको ५ अर्ब पुँजी पुर्याउन उक्त प्रस्ताव गरेको हो । जुन प्राधिकरणले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै कम्पनीले सो मात्राको बोनस पछि हकप्रद सेयर जारी गर्ने छ ।