काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र कारोबारलाई थप सुदृढ, प्रभावकारी र विश्वसनीय बनाउन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई १९ बुँदे निर्देशन दिएको छ । बोर्डले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै नेप्सेलाई निर्देशन दिएको हो ।
बोर्डले नेप्सेबाट स्वीकृति प्राप्त ग्राहक कारोबार व्यवस्थापन प्रणालीको आईटी अडिट तथा भीएपीटी गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । यस्तै, धितोपत्र कारोबार प्रणालीमा देखिँदै आएका समस्या पहिचान गरी नयाँ उपकरणको कारोबारसमेत सहज हुने गरी प्रणालीलाई आधुनिक, सक्षम र सुरक्षित बनाउन भनिएको छ ।
कार्यकारी निर्देशक विनयदेव आचार्यका अनुसार कृत्रिम बौद्धिकता (एआई) आधारित प्रविधिबाट धितोपत्र कारोबार गर्न सकिने व्यवस्थाका सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास, नेपालको आवश्यकता, नेप्सेको पूर्वाधार तथा आवश्यक कानुनी व्यवस्थाबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न पनि बोर्डले निर्देशन दिइएको छ । साथै, अर्को व्यवस्था नभएसम्म टीएमएसमा एआई आधारित प्रविधिको प्रयोगबाट कारोबार आदेश प्रविष्ट भएमा त्यसको पहिचान गरी रोक्ने व्यवस्था गर्न र यसबारे लगानीकर्तालाई जानकारी गराउन भनिएको छ ।
नयाँ लगानीकर्ता तथा विद्यार्थीलाई सेयर बजारको प्राविधिक अभ्यास गराउन सञ्चालनमा ल्याइएको आधिकारिक डेमो ट्रेडिङ प्लेटफर्मलाई निरन्तर र निर्बाध रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउन बोर्डले निर्देशन दिएको छ । यस्तै, धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२ को विनियम ७ बमोजिम आफ्टर मार्केट अर्डर प्रभावकारी रूपमा लागू गर्न तथा दोस्रो बजार कारोबार मोबाइल एपमार्फत गर्न आवश्यक व्यवस्था मिलाउन भनिएको छ ।
हाल सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले सञ्चालनमा ल्याएको सीकेवाईसी प्रणालीलाई टीएमएस खाता खोल्दा प्रयोग गर्न सकिने व्यवस्था गर्न पनि बोर्डले निर्देशन दिएको छ । नेप्से सूचकाङ्कलाई अल इक्विटी इण्डेक्सका रूपमा कायम राख्दै फ्री फ्लट सेयरका आधारमा नयाँ सूचकाङ्क विकास गरी बेन्चमार्क इण्डेक्सका रूपमा प्रयोग गर्न तत्काल प्रक्रिया अघि बढाउन बोर्डले भनेको छ । त्यस्तो सूचकाङ्कका आधारमा सर्किट ब्रेकरको नियम पुनरावलोकन गर्नसमेत निर्देशन दिइएको छ ।
यसैगरी, कारोबार सत्रको अन्तिम १५ मिनेटको कारोबारलाई आधार बनाएर नेप्से इण्डेक्स गणना गर्ने विधि पुनः सञ्चालन गर्न सकिने वा नसकिने, कारोबार समयको अन्त्यमा हुने मार्केट अर्डरको व्यवस्थापन तथा सूचीकृत कम्पनीको दोस्रो बजार कारोबारमा लागू रहेको दैनिक १५ प्रतिशतसम्मको घटबढसम्बन्धी सर्किट ब्रेकरको व्यवस्था पुनरावलोकन आवश्यक भए÷नभएको विषयमा अध्ययन गरी एक साताभित्र सुझावसहित बोर्डमा पेस गर्न भनिएको छ ।
बोर्डले सूचीकृत कम्पनीहरूको वित्तीय सबलता, तरलता तथा संस्थागत सुशासनका आधारमा वर्गीकरण गर्ने प्रक्रियालाई वस्तुनिष्ठ बनाउन निर्देशन दिएको छ । पुँजी, प्रतिफल, तरलतालगायतका आधारमा लगानीयोग्य र अनुमानयोग्य नेप्से इण्डेक्स, जस्तै नेप्से–३० तथा नेप्से ाइ क्याप, विविधीकरण गर्दै नेप्से सूचकाङ्कलाई अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउन प्रचलित सूचकाङ्क गणना गर्ने संस्थासँग सहकार्य अघि बढाउन पनि भनिएको छ ।
हाल गणना भइरहेको सेन्सेटिभ इन्डेक्सलाई कानुनी तथा प्रक्रियागत व्यवस्था मिलाएर पुनरावलोकन गर्न, संगठित संस्थाको सूचीकरणपछि पहिलो कारोबार मूल्य निर्धारणसम्बन्धी व्यवस्थालाई वैज्ञानिक तथा अन्तर्राष्ट्रिय अभ्यासअनुकूल बनाउन पनि बोर्डले निर्देशन दिएको छ ।
लामो समयदेखि कारोबारमा सक्रिय नभएका सूचीकृत कम्पनीका सम्बन्धमा कानुनी तथा प्रक्रियागत सुधारका विषयमा अध्ययन गरी सिफारिस गर्न बोर्डले भनेको छ ।
सूचीकृत संगठित संस्थाका आधिकारिक सूचना प्रवाहलाई व्यवस्थित गर्न पोर्टल विकास गरी लागू गर्न, प्रत्येक महिना कम्तीमा एउटा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न तथा धितोपत्र कारोबारको टी+२ अवधिमा ग्राहकलाई रकम उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न पनि नेप्सेलाई निर्देशन दिइएको छ ।