१० % ब्याज पाइने एनआईएमबीको ४.४० अर्बको ऋणपत्र बिक्री खुला
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैकले आज फागुन १ गतेखेदि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधि तथा वार्षिक १० प्रतिशत ब्याजदर भएको ‘१० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०’ ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्य दरका ४ अर्ब ४० करोड रुपैयाँ बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र बिक्री गरेको हो । जसमध्ये ४० प्रतिशत अर्थात् १६ लाख १६ हजार कित्ता सर्वसाधारणलाई र ६० प्रतिशत अर्थात् २४ लाख २४ हजार कित्ता विभिन्न व्यक्ति तथा संघसंस्थालाई बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ८० हजार ८ सय कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सक्ने छन् । बैंकको ऋणपत्रमा छिटोमा फागुन ४ गते र ढिलोमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् ऋणपत्रमा आवेदन दिन सक्नेछन् ।
नागरिक लगानी कोष र सानिगाड हाइड्रोबीच सम्झौता
काठमाडौं । नागरिक लगानी कोष र सानिगाड हाइड्रो लिमिटेडबीच सेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सानिगाडका प्रबन्ध निर्देशक राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । सानिगाडको प्रतिसेयर एक सय रुपैयाँका दरले ८५ लाख ५० हजार कित्ता सेयरबापत ८५ करोड ५० लाख सेयर मूल्य बराबरको प्रत्याभूति कोषले गर्नेछ । कोषले सोमबार जारी गरेको विज्ञप्ति अुनसार सम्झौता भएको मितिले कम्पनीले ६ महिनाभित्र सेयर निष्काशन गरिसक्नु पर्नेछ । ६ महिनाभित्र सेयर निष्काशन नभएमा सम्झौता स्वतः अन्त्य हुनेछ ।
रिलायबल नेपाल लाइफको लाभांश पारित, सञ्चालकमा दुई जना निर्विरोध
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित भएको छ । माघ २९ गते सम्पन्न कम्पनीको सातौं वार्षिक साधारण सभाले प्रस्तावित १६.८४ प्रतिशत लाभांश पारित गरेको हो । यससँगै कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर र ०.८४ प्रतिशत नगद लाभांश पाउने छन् । सभाबाट सञ्चालक समितिमा दुई जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । सभाबाट कम्पनीमा पहिलो पटक सर्वसाधारण सेयरधनीहरुको तर्फबाट डा. भिष्म कार्की र दिवेश लोहनी निर्वाचित भएका हुन् । यसै वर्ष सर्वसाधारणमा प्रिमियममा सेयर जारी गरेको कम्पनीको कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ नाघेको छ । त्यस्तै, कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त सभाले नियमित एजेण्डाहरु सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/०८० को सहायक कम्पनी रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटलसहितको एकीकृत वित्तीय विवरणहरु तथा लेखापरीक्षकको नियुक्ति सम्बन्धी विभिन्न प्रस्तावहरु पारित गरेको छ ।