नेप्सेमा एकैदिन एक करोड बढीको सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा एकैदिन एक करोड बढी कित्ता सेयर सूचीकृत भएको छ । बिहीबार एकैदिन घलेम्दी हाइड्रोपावर र मितेरी डेभलपमेन्ट बैंकको हकप्रद र बोनस गरी सो मात्राको सेयर सूचीकृत भएको हो । जसमध्ये सबैभन्दा बढी घलेम्दी हाइड्रोको रहेको छ । हाइड्रोको २०० कित्ता अर्थात एक करोड १० लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । त्यस्तै, मितेरी डेभलपमेन्टको ९.५० प्रतिशत अर्थात ९ लाख ६४ हजार २५१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

थामिएन सेयर बजारको गिरावट, २ अर्ब २४ करोडमा खुम्चियो कारोबार

काठमाडौं । बुधबार पनि सेयर बजार घट्नबाट थामिएन । गत सातादेखि निरन्तर घटेको नेप्से परिसूचक बुधबार पनि ६.४६ अंकले घटेर २०२६.५९ बिन्दुमा झरेको छ । परिसूचकसँगै कारोबार रकम पनि घट्ने क्रम रोकिएको छैन । मंगलबारको तुलनामा बुधबार एकैदिन ८७ करोडले सेयर कारोबार घटेको छ । अघिल्लो दिन ३ अर्ब माथिको कारोबार भएको बजारमा बुधबार २ अर्ब २४ करोडको मात्रै सेयर किनबेच भएको छ । विगतका दिनजस्तै, बुधबार पनि सर्वाधिक कारोबार गर्नेको शीर्ष स्थानमा हिमालयन रि इन्स्योरेन्स रहेको छ । जसको एकैदिन ११ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । घट्दो बजारमा पनि चार कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । बोटलर्स नेपाल (बालाजु), हिमालय उर्जा विकास कम्पनी, समाज लघुवित्त वित्तीय संस्था र बोटलर्स नेपाल (तराई)को सेयर मूल्य १० प्रतिशतले घटेको छ । बुधबार ५६ कम्पनीको सेयर मूल्य बढेको छ भने १९० कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी दुई कम्पनीको सेयर मूल्य भने स्थीर रहेको छ । त्यस्तै, बजारमा उत्पादनमूलक बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । उत्पादनमूलक समूह पनि सामान्य अर्थात २.८४ प्रतिशतले बढेको छ ।

दिनानुदिन घट्दै सेयर बजार, तीन अर्बमा खुम्चियो कारोबार

काठमाडौं । पछिल्लो समय सेयर बजार दैनिक रुपमा घटिरहेको छ । गत बिहीबारदेखि घट्दो क्रममा रहेको सेयर बजारले आज मंगलबारसम्म निरन्तरता पाएको छ । पछिल्लो तीन दिनको अवधिमा नेप्से परिसूचक ४३.४३ अंकले घटिसकेको छ । मंगलबारको बजारमा भने परिसूचक सामान्य १.७६ अंकले घटेर २०३३.०६ बिन्दुमा झरेको छ । जबकी बुधबारको बजारमा परिसूचक २०७६.५० बिन्दुमा थियो । बजारमा परिसूचक मात्रै नभई कारोबार रकम पनि घट्दो क्रममा छ । गत बुधबार ४ अर्ब माथिको सेयर कारोबार भएको बजारमा आज मंगलबारसम्म आइपुग्दा घटेर ३ अर्ब ११ करोड रुपैयाँमा सीमित भएको छ । यसअघि अर्थात आइतबारको बजारमा ३ अर्ब ७७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । अन्य दिनजस्तै मंगलबार पनि सर्वाधिक कारोबार गर्नेको अग्रस्थानमा हिमालयन रि इन्स्योरेन्स रहेको छ । जसको एकैदिन ३१ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने सेयर मूल्य बढेर प्रतिकित्ता ६५० रुपैयाँ पुगेको छ । घटेको बजारमा पनि बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १०/१० प्रतिशतले बढेको छ । ग्रीन लाइफ हाइड्रोपावरको सेयर मूल्य भने सबैभन्दा बढी अर्थात १० प्रतिशतले घटेर प्रतिकित्ता २१८.७० रुपैयाँमा झरेको छ ।