नोक्सानीबाट पौने ३ करोड नाफामा चन्द्रागिरि हिल्स, १९ करोड आम्दानी

काठमाडौं । चन्द्रागिरि हिल्सले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २ करोड ८३ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीले १ करोड २४ लाख ३१ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले १९ करोड ६ लाख ९ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको यस्तो आम्दानी १३ करोड ८७ लाख ७ हजार रुपैयाँ रहेको थियो । यस अवधिमा कम्पनीको सञ्चालन आम्दानीमा उल्लेख्य वृद्धि भएको देखिन्छ ।

समीक्षा अवधिमा कम्पनीले ३७ लाख ४० हजार रुपैयाँ अन्य आम्दानी र १४ करोड २३ लाख ५३ हजार रुपैयाँ कुल नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको अन्य आम्दानी १ करोड २ लाख ८८ हजार रुपैयाँ र कुल नाफा ११ करोड ५८ लाख ३२ हजार रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको बिक्री लागत ४ करोड ८२ लाख ५६ हजार रुपैयाँ, कर्मचारी खर्च ५ करोड ७ लाख १७ हजार रुपैयाँ र प्रशासनिक खर्च १ करोड २ लाख ९९ हजार रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको कुल खर्च ६ करोड १० लाख १७ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बिक्री लागत २ करोड २८ लाख ७५ हजार रुपैयाँ, कर्मचारी खर्च ४ करोड १७ लाख ९१ हजार रुपैयाँ, प्रशासनिक खर्च ३ करोड ३३ लाख ९६ हजार रुपैयाँ र कुल खर्च ७ करोड ५१ लाख ८८ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ६१ करोड ७ लाख ९५ हजार रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा ११ करोड ९३ लाख ९५ हजार रुपैयाँ सञ्चित रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी गत आर्थिक वर्षको असोज मसान्तमा ०.८१ रुपैयाँ ऋणात्मक रहेकामा चालु आर्थिक वर्षको सोही अवधिमा १.७६ रुपैयाँ धनात्मक भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १०७.४१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४२०.९६ गुणा रहेको छ ।

कम्पनीका अनुसार समीक्षा अवधिमा आर्थिक गतिविधिमा क्रमिक सुधार आउँदा विगतमा जेनजी आन्दोलनका कारण भएको आर्थिक क्षतिको केही हदसम्म पूर्ति भएको छ । 

यद्यपि, विश्वव्यापी भूराजनीतिक परिस्थितिको प्रभाव कायम रहनुका साथै रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण सडक तथा आवागमनका मार्ग अवरुद्ध हुँदा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा कमी आएको कम्पनीले जनाएको छ ।

Share News