काठमाडौं मेडिकल कलेजले २५ प्रतिशत लाभांश बाँड्ने
काठमाडौं । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडले सेयरधनीलाई २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सञ्चालक समितिको भदौ ७ गते बसेको बैठकले कम्पनीले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजीको करसहित २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज २ गते बिहान ११ बजे काठमाडौं मेडिकल कलेज, दुवाकोट, भक्तपुरमा १७औँ वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभाले कार्यकारी अध्यक्षको पारिश्रमिक वृद्धि तथा अन्य सुविधा निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ । यस्तै, अस्पतालको स्तर वृद्धि गर्न विभिन्न स्वास्थ्य उपकरण खरिद गरी विश्वस्तरीय स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्ने, घरजग्गा खरिद गर्नुपर्ने र आवश्यक स्रोत जुटाउन विभिन्न बैंकबाट कर्जा लिन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेस हुनेछ । कम्पनीको व्यवसाय विस्तारका लागि समान तथा अन्य उद्देश्य भएका कम्पनी, हाइड्रो इनर्जी तथा सोलार इनर्जीलगायत विभिन्न कम्पनी खरिद गर्न तथा त्यस्ता कम्पनीको सेयरमा लगानी गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्तावसमेत सभाले पारित गर्नेछ । यस्तै, सञ्चालक समितिको तर्फबाट कार्यकारी अध्यक्षको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि साधारण सभामा पेस हुनेछ ।
३५ अंकले घट्यो नेप्से, साढे ४ अर्बको कारोबार
काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३५.९२ अंकले घटेर २५५८.३५ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार २३ कम्पनीको सेयर मूल्य बढ्दा २५२ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ३४८ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार चिलिमे हाइड्रोपावरको भएको छ । चिलिमेको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सानिमा मिडलको १९ करोड, साहस ऊर्जाको १६ करोड, सोलु हाइड्रोको १५ करोड र रिडि पावरको १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज सर्वोत्तम पेन्ट्सको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । नेप्सेमा बुधबारकाे कारोबारमा सबै उपसूचकहरू घटेका छन् । सबैभन्दा धेरै गिरावट निर्जीवन बीमा समूहमा देखिएको छ । यो समूहको उपसूचक ४०४.०५ अंक अर्थात् ३.९० प्रतिशतले घटेर ९ हजार ९३५.५९ विन्दुमा झरेको छ । यस्तै, जलविद्युत् उपसूचक १०४.३३ अंक अर्थात् २.८४ प्रतिशतले घटेर ३ हजार ५६१.२८ विन्दुमा सीमित भएको छ । जीवन बीमा उपसूचक पनि १७५.१३ अंकले घट्दै ११ हजार ३१३.१४ विन्दुमा पुगेको छ । लगानी समूह १.२८ प्रतिशत, अन्य समूह १.४६ प्रतिशत, वित्त समूह १.१० प्रतिशत तथा लघुवित्त समूह ०.९७ प्रतिशतले घटेका छन् । विकास बैंक उपसूचक ४५.९१ अंकले घट्दा बैंकिङ उपसूचक ११.०८ अंकले ओरालो लागेको छ । होटल तथा पर्यटन समूह ०.६२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.४० प्रतिशत र म्युचुअल फन्ड उपसूचक ०.६१ प्रतिशतले घटेका छन् । कारोबार समूहमा भने सामान्य गिरावट देखिएको छ । यो उपसूचक ०.०५ प्रतिशतले घटेको छ ।
इस्टर्न हाइड्रोपावरले ५४ लाख कित्ता हकप्रद सेयर ल्याउने
काठमाडौं । इस्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गरेको छ । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचना प्रकाशित गर्दै हाल कायम रहेको चुक्ता पुँजीको ९० प्रतिशत हकप्रद सेयर जारी गर्न आयोगबाट अनुमति पाएको जानकारी दिएको हो । कम्पनीका अनुसार हालको ६० करोड रुपैयाँ चुक्ता पुँजी को १०ः९ अनुपातमा हकप्रद सेयर जारी गरिनेछ । यसअनुसार कम्पनीले ५४ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । यसअघि कम्पनीले हकप्रद सेयर निष्कासनको पूर्वस्वीकृतिका लागि विद्युत् नियमन आयोगमा निवेदन दिएको थियो । आयोगले आवश्यक संशोधनसहित हकप्रद सेयर निष्कासनको अनुमति प्रदान गरेको कम्पनीले जनाएको छ । हकप्रद सेयर निष्कासनसम्बन्धी अन्य प्रक्रिया पूरा भएपछि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमार्फत आवेदन खुला गर्नेछ ।