पशुपती रिन्यूएबल्सको १०.३४ प्रतिशत लाभांश घोषणा

काठमाडौं । पशुपती रिन्यूएबल्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट १०.३४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।  कम्पनीको सञ्चालक समितिको भदौ १४ गते बसेको बैठकले चुक्ता पुँजीको करसहित १०.३४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश वितरण प्रस्ताव पारित गर्न कम्पनीले असोज ५ गते चौथो वार्षिक साधारणसभा बोलाएको छ । सभा काठमाडौंको बालुवाटार प्यालेस ब्याङ्क्वेटमा बिहान ११ बजे बस्नेछ । सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ । साथै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत सभाले पारित गर्नेछ ।  पशुपती रिन्यूएबल्स लिमिटेड नेपालमा जलविद्युत् तथा सौर्य ऊर्जा परियोजना विकास गर्ने कम्पनी हो । कम्पनीले नेपालको ऊर्जा क्षेत्रमा व्यवस्थित, स्वाभाविक तथा दिगो विकासमार्फत लगानीका अवसरलाई सफलतापूर्वक अघि बढाउने लक्ष्य राखेको छ । कम्पनीको प्रवद्र्धक समूहमा अन्तर्राष्ट्रियस्तरमा प्रशिक्षित तथा अनुभवी इन्जिनियर, अर्थशास्त्री, व्यवसायी तथा व्यवस्थापन विज्ञहरू रहेका छन् । समूहले नेपालसँगै दक्षिण तथा दक्षिणपूर्वी एसिया र ल्याटिन अमेरिकी मुलुकहरूमा साना, मझौला तथा ठूला जलविद्युत् परियोजनाको विकासमा सहभागिता जनाएको छ । कम्पनीले पारदर्शी, स्वच्छ तथा नैतिक व्यावसायिक अभ्यासलाई प्राथमिकता दिँदै आएको छ । नेपालमा साना तथा मझौला जलविद्युत्, प्रिफ्याब कङ्क्रिट तथा ग्रिडमा आधारित सौर्य ऊर्जा परियोजनालगायत विभिन्न परियोजनाको प्रवद्र्धन गरिरहेको छ ।  

३ ब्रोकर कम्पनीको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । तीनवटा ब्रोकर कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । लाभांश प्रस्ताव गर्ने कम्पनीमा सनी सेक्युरिटिज, केबीएल सेक्युरिटिज र ग्लोबल आइएमई सेक्युरिटिज रहेका छन् । सनी सेक्युरिटिजले २५ प्रतिशत, केबीएल सेक्युरिटिजले ७.५ प्रतिशत र ग्लोबल आइएमई सेक्युरिटिजले ३.८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।  लाभांश प्रस्ताव पारित गर्न तीनै कम्पनीले वार्षिक साधारण सभा बोलाएका छन् । सनी सेक्युरिटिजले असोज १ गते, केबीएल सेक्युरिटिजले असोज २ गते र ग्लोबल आइएमई सेक्युरिटिजले असोज ४ गते साधारण सभा गर्ने भएका छन् । तीनै कम्पनीको साधारण सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सनी सेक्युरिटिज र केबीएल सेक्युरिटिजको साधारण सभाले सञ्चालक नियुक्ति गर्ने प्रस्तावसमेत पारित गर्नेछ ।

संस्थापक सेयरको सीमा ५ वर्षभित्र कायम नगरे लाभांश र हकप्रदमा रोक

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकिएको सीमाभन्दा बढी संस्थापक सेयर धारण गर्ने सेयरधनीलाई पाँच वर्षभित्र सीमा कायम गर्न निर्देशन दिएको छ । तोकिएको सीमाभन्दा बढी भएको सेयर आफूले धारण गरेको मितिले पाँच वर्षसम्म सीमाभित्र नल्याए बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९९ को उपदफा (३)(क) बमोजिम कारबाही हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार सीमा कायम नभएसम्म सम्बन्धित बैंक तथा वित्तीय संस्थाले त्यस्ता सेयरधनीले धारण गरेको सम्पूर्ण सेयरको नगद लाभांश तथा बोनस सेयर वितरणमा रोक लगाउनुपर्नेछ । साथै, त्यस्ता सेयरधनीलाई हकप्रद सेयरमा सहभागी हुनसमेत बन्देज लगाइनेछ । राष्ट्र बैंकले प्रचलित कानुन तथा आफ्ना निर्देशन पालना गर्ने सन्दर्भमा संस्थापक–संस्थापकबीच संस्थापक सेयर हस्तान्तरण गर्नुपर्ने अवस्था आएमा भने तोकिएको सीमाभन्दा बढी सेयर भए पनि खरिद–बिक्री वा हक हस्तान्तरण गर्न सकिने स्पष्ट पारेको छ । यसका लागि राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ । प्रतिव्यक्ति, फर्म, कम्पनी, संस्था तथा समूहका लागि तोकिएको सीमाभन्दा बढी सेयर भए पनि स्वीकृति लिएर संस्थापक–संस्थापकबीच सेयर कारोबार गर्न बाधा नपर्ने व्यवस्था गरिएको छ ।  यस्तो अवस्थामा तोकिएको सीमाभन्दा बढी सेयरधारण गर्ने सेयरधनीलाई भने उक्त अवस्था आउनुअघि आफूले धारण गरेको सेयरमा मात्र नगद लाभांश तथा बोनस सेयर वितरण गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।