सेयर बजारमा ४ अर्बको कारोबार
काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ अंकले घटेर २७३८ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ९८ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३४६ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिलाइन्स स्पिनिङको भएको छ । रिलाइन्सको २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै आँखु खोला जलविद्युतको २१ करोड, नेसनल हाइड्रोको १९ करोड, शिवम् सिमेन्टको १७ करोड र एनआरएन इन्फ्राइस्ट्रक्चरको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोपान फर्मास्यूटिकल्सको आईपीओ बाँडफाँट
काठमाडौं । सोपान फर्मास्यूटिकल्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले बिहीबार (आज) बिहान बाँडफाँड गरेको हो । आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिएको हो । गोलाप्रथाबाट बाँडफाँड गर्दा ३ लाख ४७ हजार ४९० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने बाँकी सबै आवेदकको हात खाली भएको छ । कम्पनीले गत वैशाख ३ गतेदेखि वैशाख ८ गतेसम्म सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँका दरले ३४ लाख ७४ हजार ९०० कित्ता आईपीओ बिक्री खुला गरेको थियो । २७ लाख ६८ हजार ७४३ जनाको आवेदन परेकोमा २७ लाख ३० हजार ९८७ जनाको आवेदन मात्र स्वीकृत भएको छ ।
नर्भिक हस्पिटलको आईपीओ संस्थागतलाई बिक्री खुला, २१ वैशाखसम्म आवेदन दिनुपर्ने
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले बुक बिल्डिङ विधिमार्फत साधारण सेयर (आईपीओ) निष्काशन प्रक्रिया अघि बढाएको छ । कम्पनीले पहिलो चरणमा संस्थागत लगानीकर्ताहरूका लागि सेयर बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँमध्ये २० प्रतिशत अर्थात् २० करोड ४१ लाख २० हजार रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका २० लाख ४१ हजार २०० कित्ता सेयर जारी गर्नेछ । जसमध्ये ४० प्रतिशत अर्थात् ८ लाख १६ हजार ४८० कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताहरूलाई बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । नर्भिकको सेयर खरिद गर्न इच्छुक योग्य संस्थागत लगानीकर्ताहरूले वैशाख २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गोप्य शिलबन्दी आशयपत्र पेश गर्नुपर्नेछ । पेश भएका आशयपत्रहरू वैशाख २२ गते साँझ ५ बजे नेप्सेमा खोलिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले गत वैशाख ११ गते योग्य संस्थागत लगानीकर्ताहरुसँग रोडशो कार्यक्रम गरेको थियो । कम्पनीले संस्थागत लगानीकर्ताहरुका लागि सेयर मूल्य १ हजार १ सय रुपैयाँ प्रस्ताव गरेको छ ।