काठमाडौं । प्रधानमन्त्री बालेन शाहले पुँजी बजारसँग सम्बन्धित सरोकारवालासँग गरेको छलफलको सकारात्मक प्रभाव सोमबार सेयर बजारमा देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा नियामक निकाय, स्टक ब्रोकर र लगानीकर्ताका प्रतिनिधिसँग भएको छलफलपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले उकालो लागेको हो ।
सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढेर २७१९.२४ बिन्दुमा पुगेको छ । कारोबार भएका ३४३ कम्पनीमध्ये २३९ कम्पनीको सेयर मूल्य बढ्दा ३२ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।
यस दिन १ करोड कित्ता बढी सेयर किनबेच हुँदा कुल ५ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् अग्रस्थानमा रहँदै २९ करोड रुपैयाँ बराबरको कारोबार गर्यो । त्यसपछि रिलायन्स स्पिनिङको २४ करोड, रिडी पावरको २० करोड, कर्पोरेट डेभलपमेन्ट बैंकको १९ करोड र नेसनल हाइड्रोपावरको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
सेयर मूल्य वृद्धितर्फ एभरेष्ट कलर र रिडिज लाइन इनर्जीका लगानीकर्ताले सबैभन्दा बढी लाभ कमाएका छन् । यी दुवै कम्पनीको सेयर मूल्य करिब १४ प्रतिशतले बढेको छ ।
उपसमूहतर्फ पनि अधिकांश सूचक हरियालीमा रहे । १३ उपसमूहमध्ये १२ उपसमूहको सूचक बढ्दा म्युचुअल फन्ड समूह मात्रै ०.०२ प्रतिशतले घटेको छ ।
सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह ३.२१ प्रतिशतले बढ्यो । यस्तै, हाइड्रोपावर २.७९ प्रतिशत, होटल तथा पर्यटन १.९८ प्रतिशत, विकास बैंक १.४८ प्रतिशत, लगानी १.५५ प्रतिशत, फाइनान्स ०.९३ प्रतिशत र बैंकिङ उपसमूह ०.५५ प्रतिशतले उकालो लागेको छ ।
बजार विश्लेषकहरूले प्रधानमन्त्रीले पुँजी बजारका सरोकारवालासँग गरेको छलफलले लगानीकर्तामा सकारात्मक मनोविज्ञान सिर्जना गरेको र त्यसको प्रभाव सोमबारको कारोबारमा देखिएको बताएका छन् ।