कालिञ्चोक दर्शनको ८.९४ प्रतिशत लाभांश घोषणा

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २३ गते बसेको बैठकले ८.९४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीले गत आर्थिक वर्ष २०८२÷८३ को नाफाबाट हाल कायम चुक्ता पुँजी ६३ करोड रुपैयाँको ८.५ प्रतिशतका दरले ५ करोड ३५ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ०.४४ प्रतिशत नगद गरी कुल ८.९४ प्रतिशत अर्थात् ५ करोड ६३ लाख ६८ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुले प्राप्त गर्नेछन् ।  

एक्सेल डेभलपमेन्ट बैंकको २०औं साधारणसभा सम्पन्न, ३ नयाँ सञ्चालक निर्वाचित

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट तीन जना सञ्चालक निर्वाचित गर्नुका साथै बैंकको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ । बुधबार बैंकका सञ्चालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयलको अध्यक्षतामा सम्पन्न सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट पर्शुराम दाहाल, यज्ञप्रसाद शर्मा र चिराग गोयललाई सञ्चालकमा निर्वाचित गरेको हो । सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्नुका साथै लेखापरीक्षक नियुक्ति र बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधनलगायतका प्रस्तावसमेत पारित गरेको छ । कोशी प्रदेशलाई कार्यक्षेत्र बनाएर बैंकिङ सेवा दिँदै आएको एक्सेल डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय झापाको बिर्तामोडमा रहेको छ । बैंकले हाल झापा, इलाम, मोरङ, पाँचथर, सुनसरी, उदयपुर, संखुवासभा र धनकुटाका विभिन्न ४७ स्थानमा शाखामार्फत सेवा दिँदै आएको छ । आगामी दिनमा कोशी प्रदेशका अन्य जिल्लामा समेत शाखा विस्तार गर्ने बैंकको योजना छ । बैंकका अनुसार हाल करिब १३ अर्ब ८२ करोड रुपैयाँ कर्जा लगानीमा रहेको छ भने १८ अर्ब ५३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । सभाको उद्घाटन सञ्चालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयल र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष हेमराज ढकालले संयुक्त रूपमा गरेका थिए ।  बैंकका प्रमुख कार्यकारी अधिकृत डा. इन्द्रकुमार कट्टेलले बैंकका वर्तमान गतिविधि तथा प्रगतिबारे जानकारी गराएका थिए ।  कार्यक्रममा संस्थापक सेयरधनी सुरेशकुमार अग्रवाल र हेमराज ढकालले बैंकको आगामी प्रगति तथा उन्नतिका लागि शुभकामना व्यक्त गरेका थिए ।  

माछापुच्छ्रे क्यापिटलको सातौँ साधारण सभाबाट ७ प्रतिशत लाभांश पारित

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बुधबार काठमाडौंको गैरीधारास्थित बालुवाटार प्यालेस बैंक्वेटमा सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो । सभामा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । सम्बोधनका क्रममा कोइरालाले माछापुच्छ्रे क्यापिटलको निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्दै आगामी दिनमा कम्पनीले थप सफलता हासिल गर्ने विश्वास व्यक्त गरे । कम्पनीका प्रमुख कार्यकारी अधिकृतले स्वागत मन्तव्य दिँदै गत आर्थिक वर्षमा हासिल भएका प्रमुख उपलब्धि, सामना गर्नुपरेका चुनौती र आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए । साधारण सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ । यस्तै, आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण पनि सर्वसम्मत रूपमा पारित भएको छ । सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत स्वीकृत गरेको छ । त्यसैगरी, कम्पनीको चुक्ता पुँजीको ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ । करसहित कुल २ करोड ४३ हजार ७६५ रुपैयाँ नगद लाभांश वितरण गरिने कम्पनीले जनाएको छ । सभाको समापनमा अध्यक्ष विश्वम्भर न्यौपानेले कम्पनीप्रति विश्वास र निरन्तर साथ दिने सम्पूर्ण सेयरधनी तथा सरोकारवालाप्रति आभार व्यक्त गरे । उनले नियामक निकाय, लेखापरीक्षक, सेवाग्राही, कानुनविद्, सञ्चारकर्मी, साझेदार संस्था, कर्मचारी तथा माछापुच्छ्रे बैंकप्रति पनि धन्यवाद व्यक्त गरे । सबै सरोकारवालाको निरन्तर सहयोग र विश्वासका साथ कम्पनीलाई आगामी दिनमा अझ सुदृढ, सक्षम र प्रतिस्पर्धी संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता उनले व्यक्त गरे ।