३७.८१ लाख दर्शकले हेरे चलचित्र, १ अर्ब ८ करोडको व्यापार

काठमाडौं । वि.सं २०८२ नेपाली चलचित्रका लागि समग्रमा सुखद रहेको यस क्षेत्रका जानकारहरूले बताएका छन् । यस वर्ष विषयवस्तु प्रधानसँगै ‘स्टार’ भनिने कलाकारका चलचित्रले दर्शक पाएका छन् अर्थात् यस वर्ष सबै किसिमका चलचित्र हेर्न दर्शक चलचित्र भवनमा पुगे । चलचित्र विकास बोर्डले यस वर्ष २३० वटा नयाँ चलचित्र दर्ता र ९४ चलचित्रले चलचित्र जाँचका लागि सिफारिस प्राप्त गरेको जनाएको छ । यस वर्ष हालसम्म ५६ स्वदेशी र ९३ विदेशी चलचित्र प्रदर्शन भइसकेका छन् । यही चैत २७ मा प्रदर्शन हुने चलचित्र ‘राम नाम सत्य’ सँगै यो वर्ष प्रदर्शन हुने स्वदेशी चलचित्रको सङ्ख्या ५७ पुग्नेछ । बोर्डका अनुसार हाल  नेपालमा १७२ चलचित्र भवन रहेका छन् भने चलचित्र उपलब्ध गराउने वितरक संस्थाको सङ्ख्या ४४ पुगेको छ । यस वर्षको हालसम्म नेपाली चलचित्र हेर्न ३७ लाख ८१ हजार ५४४ दर्शक चलचित्र भवन आउँदा १ अर्ब ८ करोड ३८ लाख ५७ हजार ९१० रुपैयाँको व्यापार भएको छ । बोर्डअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (सिनेपा २ बक्सअफिस)मा रहेको तथ्याङ्कअनुसार गत कात्तिक १४ मा प्रदर्शन भएको चलचित्र ‘परान’ ले १७ करोड ७६ लाख ८४ हजार ४१० रुपैयाँ कमाई गर्दै घरेलुबजारमा सर्वाधिक कमाई गर्ने स्वदेशी चलचित्र बनेको छ । यस वर्ष सर्वाधिक कमाई गर्ने चलचित्र ‘परान’ का लागि कुल ६ लाख ३० हजार ६९१ टिकट बिक्री भएका छन् । दीपकप्रसाद आचार्यले निर्देशन गरेको उक्त चलचित्रले विशेषतः परिवारलाई नै दर्शक बनाएर चलचित्र भवनसम्म ल्याउन सफल भएको थियो । चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रवीन खतिवडालगायतका कलाकारले अभिनय गरेका छन् ।  यस्तै, यस वर्ष सर्वाधिक कमाई गर्ने सूचीको दोस्रो स्थानमा चलचित्र ‘आ बाट आमा’ रहेको छ । उक्त चलचित्रका लागि ५ लाख ४ हजार ३२९ टिकट बिक्री हुँदा १३ करोड १३ लाख ७८ हजार ५२० रुपैयाँ कमाई भएको छ । आमा र छोरा बीचको कथा देखाइएको चलचित्र हालसम्म पनि नेपालका केही चलचित्र भवनमा प्रदर्शनरत छ । सर्वाधिक कमाई गर्ने चलचित्रको सूचीको तेस्रो स्थानमा चलचित्र ‘जेरी अन टप’ रहेको छ । उक्त चलचित्रले १२ करोड २८ लाख ८४ हजार रुपैयाँ कमाई गर्न सफल भएको छ । उक्त चलचित्रका लागि ३ लाख ९६ हजार ५९७ टिकट बिक्री भएका छन् । प्रेम कथानक चलचित्र ‘ऊनको स्वीटर’ यस वर्ष विसं २०८२ मा सर्वाधिक कमाई गर्ने चलचित्र सूचीको चौथो स्थानमा रहेको छ । उक्त चलचित्रले घरेलुबजारमा ११ करोड ४१ लाख ९२ हजार १९५ रुपैयाँ कमाई गरेको छ । नवीन चौहानले निर्देशन गरेको उक्त चलचित्रका लागि ३ लाख ९२ हजार २४३ वटा टिकट बिक्री भएका छन् । यस्तै, पाँचौँ स्थानमा रहेको चलचित्र ‘जारी २’ ले ६ करोड २४ लाख १७ हजार ४५३ रुपैयाँ कमाई गरेको छ । कवि उपेन्द्र सुब्बाले निर्देशन गरेको उक्त चलचित्रका लागि २ लाख ९ हजार ३३३ टिकट बिक्री भएका छन् । यस्तै, सर्वाधिक कमाई गर्ने चलचित्रको छैटौँ स्थानमा रहेको चलचित्र ‘बलिदान’ ले ५ करोड १० लाख ५१ हजार १७२ रुपैयाँ, सातौँ स्थानमा रहेको चलचित्र ‘मोहर’ ले ५ करोड ८ लाख ९५ हजार ५१२ रुपैयाँ, आठौँ स्थानमा रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले ४ करोड ७१ लाख ३८ हजार ६८७ रुपैयाँ, नवौँ स्थानमा रहेको चलचित्र ‘माग्ने राजा’ ले ४ करोड ६९ लाख ४३ हजार ६५१ रुपैयाँ र दसौँ स्थानमा रहेको चलचित्र ‘माइतीघर’ ले ४ करोड १६ लाख ३१ हजार ८६३ रुपैयाँ कमाई गरेको छ । यस वर्ष चलचित्रमा विषयवस्तु वा कथा आकर्षणसँगै ‘स्टारडम’ भएका कलाकारको चलचित्रलाई दर्शकको साथ प्राप्त हुनु सुखद रहेको चलचित्रकर्मीको भनाइ छ ।  समग्रमा चलचित्रका लागि यो वर्ष सुखद नै रहेको निर्देशक तुलसी घिमिरेको बुझाइ छ । झन्डै ७ वर्षको विश्रामपश्चात् चलचित्र ‘पहाड’ मार्फत पुनः निर्देशनमा सक्रिय भएका उनले दर्शकको अपेक्षाअनुसारको चलचित्र निर्माण गर्न सके घरेलुबजार राम्रो रहेको विश्लेषण गरे ।  ‘यहाँ ५० करोड रुपैयाँ व्यापार गर्ने चलचित्र पनि छन् भने ५० हजार रुपैयाँ व्यापार गर्ने पनि । यसकारण दर्शकसम्म चलचित्रको जानकारी पुग्ने हो भने घरेलुबजार नै पर्याप्त छ, तर त्यो सीमित चलचित्रको हकमा देखिएको छ । ती चलचित्रको समानता हेर्ने हो भने सबै सामाजिक विषयमा आधारित चलचित्र रहेका छन्,‘ निर्देशक घिमिरेले भने, ‘नेपाली समाज र माटो सुहाउँदो चलचित्र बनाउन सके हामीले राम्रो बजार पाउँछौँ ।’

‘दिमाग घोच्ने मान्छे’ वृत्तचित्र अब डी गो प्लेटफर्ममा

नेपालका दूरदर्शी चिन्तक र राजनीतिक सुधारक स्व. उज्वल थापाको जीवनयात्रामा आधारित बहुप्रतिक्षित वृत्तचित्र 'दिमाग घोच्ने मान्छे' अब आधिकारिक रूपमा डी गो (DGO) OTT प्लेटफर्ममा हेर्न सकिने भएको छ । यस वृत्तचित्रको प्रदर्शनबाट संकलन हुने आम्दानीको मुख्य अंश 'उज्वल थापा फाउन्डेसन' लाई प्रदान गरिने निर्माण पक्षले घोषणा गरेको छ । यस पहलले उज्वल थापाले सुरु गरेका सामाजिक तथा नागरिक अभियानहरूलाई संस्थागत रूपमा निरन्तरता दिन थप सहयोग पुग्ने विश्वास लिइएको छ । एक पुस्तालाई झक्झक्याउने कथा 'दिमाग घोच्ने मान्छे' ले उज्वल थापाको बाल्यकाल, अमेरिकाको शिक्षा, र नेपाल फर्किएपछि उद्यमशीलता मार्फत देश परिवर्तन गर्न उनले गरेको संघर्षलाई मसिनोसँग केलाएको छ। दुर्लभ भिडियो फुटेज र उनका साथीहरू, सहयात्रीहरू तथा आलोचकहरूको अनुभव मार्फत बुनिएको यो चलचित्रले एक यस्तो मान्छेको चित्रण गर्छ, जसले समाजलाई प्रश्न गर्न र आफैंले जिम्मेवारी लिन सिकाए। यो वृत्तचित्र केवल एक व्यक्तिको जीवनी मात्र नभई, समृद्ध नेपालको सपना देख्ने हरेक नेपालीका लागि एक प्रेरणाको स्रोत हो । प्रसारण तथा शुल्क विवरण नेपाल र विश्वभर रहेका दर्शकहरूले डी गो (DG) को एप मार्फत यो वृत्तचित्र हेर्न सक्नेछन् । विभिन्न क्षेत्रका लागि शुल्क निम्नानुसार तय गरिएको छ : नेपाल : रु. १९९ अमेरिका र अष्ट्रेलिया : $४.९९ बाँकी विश्व : $२.९९ उज्वल थापा फाउन्डेसनका बारेमा यो फाउन्डेसन उज्वल थापाको विचार र सपनाहरूलाई जीवित राख्न स्थापना गरिएको हो, जसले विशेषगरी युवा नेतृत्व विकास, वैकल्पिक राजनीति र नागरिक सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएको छ ।

निफ ‘मेन इभेन्ट’मा प्रवेश, आउन थाले विदेशी अतिथि

काठमाडौं । आगामी चैत १९ देखि २३ सम्म हुन लागेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को नवौं संस्करणको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बताएको छ । ‘विश्वका कथाहरूको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलिचत्र महोत्सव’ भन्ने नाराका साथ फ्युचर फर्वाड थिममा आयोजना हुन लागेको यस महोत्सवको प्राविधिक र व्यवस्थापकीय पक्षलाई आयोजक समितिले अन्तिम रूप दिएको हो । निफका अध्यक्ष केपी पाठक भन्छन्, ‘प्रि-इभेन्ट सकिए लगत्तै हामी मेन इभनेन्ट प्रवेश गरेका हौं । विदेशी अतिथिहरू आउने क्रम सुरु भइसक्यो ।’ निफको उद्घाटन समारोहका विशेष अतिथि बलिउडका प्रसिद्ध निर्देशक रमेश सिप्पी भने १८ गते साँझ ६ बजे नेपाल आइपुग्ने उनले बताए । उनीसहित कलाकार किरण जुनेजा र नेपाली मुलका भारतीय चलचित्र निर्माता निलकण्ठ रेग्मी पनि निफमा सहभागी हुनेछन् । चैत १९ गते सिभिल मलमा हुने उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा नेपाल सरकारकी सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेतको उपस्थिति रहने बताइएको छ । निफको दोस्रो दिन चैत २० गते दिउँसो ३ बजे पर्यटन बोर्डमा निर्देशक सिप्पी र महानायक राजेश हमालबीच ‘सिनेमा संवादः रमेश सिप्पी र राजेश हमालसँग’ शीर्षकको संवाद कार्यक्रम तय भएको छ । जहाँ उनीहरूले आफ्नो व्यक्तिगत अनुभव, सिनेमा क्षेत्रको यात्रा र सिनेमाको भविष्यबारे केन्द्रित रहेर कुराकानी तय भएको आयोजकले बताए । त्यस्तै, युवा मेकरहरुलाई लक्षित गरी निफमा पाँच दिने एआई फिल्म वर्कसप पनि राखिएको छ । निफ अविधभर यो जारी रहनेछ । निफका संयोजक शिव पुरी भन्छन्, ‘यो फिल्म निर्माणमा एआईको प्रयोगबारे वर्कसप हो ।’ यस वर्कसपमा नेपाली विज्ञहरूले एआई-डिजिटल कन्टेन्टबारे कानुनी जटिलता र प्रतिलिपी अधिकारबारे पनि वर्कसप दिनेछन् । पुरी भन्छन्, ‘एआई प्रयोग गरी बनाएका सामाग्रीको कानुनी पाटोबारे पनि वर्कसपमा चर्चा हुन्छ ।’ त्यस्तै, निर्माताका खोजीमा रहेका लेखकहरूलाई उनीहरूको पहुँचमा पुर्‍याउने उद्देश्यले ‘फिचर पिच’ कार्यक्रम पनि राखिएको छ । जहाँ लेखकहरूले निर्मातालाई आफ्नो कथा सुनाउन पाउनेछन् । यो संस्करणमा ४० देशका ८८ फिल्मले प्रतिस्पर्धामा सहभागी भएका छन् । ६ वटा चिनियाँ र ४ वटा रुसी प्रतिस्पर्धाबाहिर रहेर विशेष प्रदर्शन गरिने आयोजकले बताएको छ ।   रसियन हाउसमा रसियन फिल्म डेज आयोजना गरिनेछ । अन्य दिन पनि यस स्थानमा प्रदर्शन हुने फिल्महरु निशुल्क हेर्न पाइनेछ । यसपटक निफमा सिजाङ प्यानोरमा पनि आयोजना गरिएको छ । जस अन्तर्गत ६ वटा चिनियाँ सिनेमा र वृतिचित्र प्रदर्शन गरिनेछ । पर्यटन बोर्ड र छायाँ सेन्टरमा यी फिल्महरू नि:शुल्क हेर्न पाइनेछ । प्रतिस्पर्धमा रहेका मध्येका फिल्महरु सिभिल मल र छाया सेन्टरमा भने सशुल्क प्रदर्शन हुनेछ । निफ अन्तर्गत १० वटा अन्तर्क्रियात्मक कार्यकम राखिएको छ । जसमा विभिन्न देशका मेकरहरुले ‌आफ्नो अनुभव सेयर गर्नेछन् ।