मौलिक संस्कृति संरक्षणको सन्देशसहित तिहार गीत ‘गाउँघरै घमाइलो’ सार्वजनिक

काठमाडौं । नेपाली गाउँघरको आत्मीयता, मौलिक संस्कृति र तिहारको उल्लास समेटिएको गीत ‘गाउँघरै घमाइलो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । २०८३ सालको तिहारलाई लक्षित गरी तयार पारिएको गीतले नेपाली समाजका सांस्कृतिक परम्परा, पारिवारिक सम्बन्ध र चाडपर्वको खुसीलाई प्रस्तुत गरेको छ ।

पूर्वी नेपालका गीतकार तथा पूर्वन्यायाधीश भीमकुमार ओझाको शब्द र लगानीमा तयार भएको गीत उनकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा चर्चित सङ्गीतकार सन्तोष बिसीको सङ्गीत रहेको छ । सन्तोष बिसी, अञ्जु गौतम, जुन प्रसाई र पार्वती भुजेलले गीतमा स्वर दिएका छन् । नारायण दङ्गालले सङ्गीत संयोजन गरेको गीत बागबजारस्थित शङ्करा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । रेकर्डिङमा सागर पुन तथा मिक्सिङ र मास्टरिङमा इन्जिनियर कुमार सानुको प्राविधिक योगदान रहेको छ ।

चर्चित कोरियोग्राफर यम गुरुङको कोरियोग्राफी रहेको म्युजिक भिडियोमा गीतकार ओझा स्वयं, उनकी धर्मपत्नी देवी ओझा, आयुष्मा खत्री, सरिता ओझा, सुधीर श्रेष्ठ, रिना थापा मगर, अनिस क्षेत्री र ज्योति खड्काले अभिनय गरेका छन्।

गीतकार ओझाका अनुसार ‘गाउँघरै घमाइलो’ मनोरञ्जनमा मात्र सीमित सिर्जना नभई गाउँघरको सम्झना, नेपालीपनको मिठास र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका संस्कार तथा संस्कृतिप्रतिको प्रेम अभिव्यक्त गर्ने प्रयास हो। आधुनिकताको प्रभावसँगै ओझेल पर्दै गएका मौलिक संस्कार र सांस्कृतिक परम्परालाई नयाँ पुस्तामाझ परिचित गराउँदै तिनको संरक्षण र निरन्तरतामा योगदान पुर्याउनु गीतको मुख्य उद्देश्य रहेको उनले बताए।

तिहारको झिलिमिली, आँगनमा बल्ने दीप, देउसी–भैलोको गुञ्जन, दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता र आफन्तजनको न्यानो मायाजस्ता पक्षलाई गीतले शब्द, सङ्गीत र दृश्यका माध्यमबाट जीवन्त बनाउने प्रयास गरेको छ।

विशेषगरी रोजगारी, अध्ययन तथा अन्य कारणले विदेशमा रहेका नेपालीलाई गाउँघर र परिवारको सम्झना गराउनुका साथै स्वदेशमा रहेकाहरूमा मौलिक संस्कृति र परम्पराप्रतिको गौरव बढाउने अपेक्षा गरिएको छ।

गीत सार्वजनिक गर्न पाउँदा आफू हृदयदेखि नै हर्षित भएको उल्लेख गर्दै गीतकार ओझाले आफ्नो सिर्जना दर्शक तथा श्रोतामाझ पुर्याउन पाउनु सुखद अनुभूति भएको बताए।

आफ्नो माटो, आफ्ना मान्छे र आफ्नै संस्कृतिसँग जोडिएका भावनालाई कलात्मक रूपमा प्रस्तुत गरिएको ‘गाउँघरै घमाइलो’ ले तिहारको उल्लाससँगै आत्मीयता, सद्भाव र सांस्कृतिक संरक्षणको सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ। 

Share News