काठमाडौं । ललितपुर विशाल बजार मल्टिप्लेक्स कम्पनी लिमिटेड (लबिम मल)ले गत आर्थिक वर्ष २०८२/८३ मा ६४ करोड ५० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । कम्पनीको आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा २७ करोड ३० लाख रुपैयाँ अर्थात् ७३.३८ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको कुल सञ्चालन आम्दानी ३७ करोड २० लाख रुपैयाँ थियो ।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा ३५ करोड ६० लाख रुपैयाँ, आर्थिक वर्ष २०७९/८० मा ३४ करोड ५० लाख रुपैयाँ, आर्थिक वर्ष २०७८/७९ मा २८ करोड १० लाख रुपैयाँ र आर्थिक वर्ष २०७७/७८ मा २० करोड ५० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो ।
सन् २००१ को डिसेम्बरमा स्थापना भएको कम्पनीले ललितपुरको पुल्चोकमा भाडामा लिएको जग्गामा व्यावसायिक परिसर विकास गरेको हो । कम्पनीले सन् २०१६ को अप्रिलदेखि ‘लबिम मल’ नामबाट व्यावसायिक सञ्चालन सुरु गरेको थियो भने पूर्ण रूपमा व्यावसायिक सञ्चालन सन् २०१७ देखि सुरु भएको थियो । कम्पनीले पाटन बहुमुखी क्याम्पससँग जग्गा भाडामा लिएको हो । सम्झौताअनुसार जग्गाको भाडा अवधि सन् २०१६ को मार्चदेखि २५ वर्षका लागि रहेको छ ।
लबिम सन् २०२६ को जुलाईमा पब्लिक कम्पनीमा रूपान्तरण भएको हो । त्यसअघि कम्पनीले सन् २०२६ को मेमा ललित सिनेमाज प्राइभेट लिमिटेडलाई औपचारिक रूपमा अक्वायर गरेको थियो । अक्वायरपछि लबिम मलमा सञ्चालन हुँदै आएका मल्टिप्लेक्स सिनेमा हल तथा क्यूएफएक्स ब्रान्डअन्तर्गतका चलचित्र प्रदर्शनसम्बन्धी सेवाहरू कम्पनीको सञ्चालनमा एकीकृत भएका छन् ।
सन् २०२६ को जुलाई मध्यसम्म राजेश कुमार सिद्धिको कम्पनीमा करिब ३३ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीको नेतृत्व प्रमुख कार्यकारी अधिकृत दीपेक्षा विक्रम राणाले गर्दै आएका छन् ।
लबिम मलको अकुपेन्सी दर आर्थिक वर्ष २०८०/८१ मा करिब ९८ प्रतिशत तथा आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ मा करिब ९६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८२/८३ मा चलचित्र सञ्चालनलाई कम्पनीको व्यवसायमा एकीकृत गरेपछि आम्दानीका स्रोत विस्तार तथा विविधीकरण भएका छन् । चलचित्र सञ्चालनबाट कुल बिक्रीमा करिब २२ करोड ६० लाख रुपैयाँ योगदान भएको छ ।
कम्पनीको ब्याज, कर, ह्रासकट्टी तथा परिशोधनअघिको नाफा पनि बढेको छ । यस्तो नाफा आर्थिक वर्ष २०८०/८१ मा २३ करोड ९० लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा २४ करोड ८० लाख रुपैयाँ र आर्थिक वर्ष २०८२/८३ मा बढेर ३१ करोड ५० लाख रुपैयाँ पुगेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा ब्याज, कर, ह्रासकट्टी तथा परिशोधनअघिको नाफा दर करिब ६७ प्रतिशत रहेकोमा चलचित्र व्यवसायका प्रत्यक्ष सञ्चालन खर्चका कारण आर्थिक वर्ष २०८२/८३ मा घटेर करिब ४९ प्रतिशतमा कायम भएको छ ।
यद्यपि, कम्पनीको करपछिको नाफा बढेको छ । करपछिको नाफा आर्थिक वर्ष २०८१/८२ मा ८ करोड ७० लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८२/८३ मा बढेर १४ करोड रुपैयाँ पुगेको छ । करपछिको नाफा दर आर्थिक वर्ष २०८०/८१ मा करिब १५ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा २३ प्रतिशत र आर्थिक वर्ष २०८२/८३ मा करिब २२ प्रतिशत कायम भएको छ ।
कम्पनीको नगद सिर्जना क्षमता पनि बढेको छ । कुल नगद सञ्चिति आर्थिक वर्ष २०८०/८१ मा १२ करोड १० लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा १५ करोड ३० लाख रुपैयाँ र आर्थिक वर्ष २०८२/८३ मा बढेर २१ करोड ५० लाख रुपैयाँ पुगेको छ ।
यद्यपि, कम्पनीको मुख्य सञ्चालन एउटै व्यावसायिक सम्पत्ति लबिम मलमा केन्द्रित रहेको छ । साथै, जग्गा भाडा सम्झौताको अवधि २५ वर्ष रहेको र उक्त अवधि समाप्त भएपछि सम्पत्ति जग्गाधनीलाई फिर्ता गर्नुपर्ने व्यवस्था रहेको छ ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल ५३ करोड ८५ लाख रुपैयाँ ऋण लिएको छ । यसमध्ये ५३ करोड ३५ लाख रुपैयाँ दीर्घकालीन र ५० लाख रुपैयाँ अल्पकालीन ऋण रहेको छ ।