जलवायु अभियन्ता अटल देव ढकाल बने पहिलो ‘ग्लोकल टिन हिरो दक्षिण एसिया २०२६’

काठमाडौं । नेपालका जलवायु न्यायका अभियन्ता अटल देव ढकालले गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो दक्षिण एसिया २०२६ को ऐतिहासिक पहिलो उपाधि जित्न सफल भएका छन् । युवा नेतृत्व, सामाजिक प्रभाव र क्षेत्रीय एकताको उत्सवका रूपमा आयोजना गरिएको यस प्रतियोगिताको महाफाइनल सेप्टेम्बर मंगलबार ललितपुरस्थित ‘द प्लाजा’ मा सम्पन्न भएको हो । 

नेपाल, भारत, श्रीलंका, भुटान र बंगलादेश गरी पाँच राष्ट्रका प्रतिनिधिहरूलाई एउटै मञ्चमा जोड्दै ग्लोकल टिन हिरोले पहिलोपटक क्षेत्रीय स्तरमा यो उपाधि प्रदान गरेको हो । 

विजेता ढकालले अन्तर्राष्ट्रिय पहल युङ्गो अन्तर्गत पहाड र हिमनदी कार्य समूहको नेतृत्व गर्दै जलवायु वित्त, जोखिममा रहेका पारिस्थितिक प्रणालीको संरक्षण र अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा युवाको प्रतिनिधित्वका लागि आवाज उठाउँदै आएका छन् । 

कोप-३१ अघि एक लाख युवाको आवाज बुलन्द पार्ने लक्ष्यका साथ काम गरिरहेका उनलाई जलवायु कार्य र वातावरणीय न्यायमा पुर्याएको उल्लेखनीय योगदानका लागि सो उपाधि प्रदान गरिएको हो । कार्यक्रमको सुरुवात बाढी पीडितहरूको सम्झनामा एक मिनेट मौन धारण गरी गरिएको थियो । 

कार्यक्रममा ग्लोकल प्राइभेट लिमिटेडका कर्पोरेट प्रबन्धक बिराट सिंह ठकुरी, गोल्छा ग्रुपकी सीमा गोल्छा, प्रिज्मा एडभर्टाइजिङका प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्य, पद्म ज्योति समूहका निर्देशक साउरभ ज्योति, युनेस्कोका प्रतिनिधि जाको दु तोइत र ग्लोकलका प्रमुख कार्यकारी अधिकृत आशिष ठाकुर लगायतले युवा नेतृत्व र सहकार्यको महत्त्वबारे मन्तव्य व्यक्त गरेका थिए । 

सोही अवसरमा एलुम्नाई एक्सिलेन्स अवार्ड आशिष पन्थीलाई प्रदान गरिएको थियो भने नेपालस्थित बंगलादेश, श्रीलंका र भुटानका कूटनीतिक प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो । दक्षिण एसियाली महाफाइनलमा नेपालका ढकालसहित अन्य चार देशका राष्ट्रिय विजेताहरूलाई समेत सम्मान गरिएको थियो ।

जसमा बंगलादेशकी मुनाजिया स्निग्धा मून (सामाजिक उद्यमशीलता र मानसिक स्वास्थ्य), भुटानकी उग्येन शेडेन तोब्गे (युवा अभियान र समावेशी शिक्षा), भारतका राघुल आर (महिला सुरक्षा प्रविधि ‘शीस्फियर’ का संस्थापक) र श्रीलंकाका मोहमद अमाजिर मोहमद अमानथ (खगोलशास्त्र र विज्ञान शिक्षा) रहेका छन् । 

सन् २०१५ मा काठमाडौं उपत्यकाबाट सुरु भएको ग्लोकल टिन हिरो १२ वर्षको यात्रा पूरा गर्दै अहिले दक्षिण एसियाली क्षेत्रकै ठूलो किशोर सशक्तिकरण मञ्चका रूपमा स्थापित भएको छ ।

यस ऐतिहासिक संस्करणलाई गोल्छा ग्रुपले उपाधि साझेदारका रूपमा सहयोग गरेको थियो भने भारतीय दूतावास, युएई दूतावास, युएनएफपीए, प्लान इन्टरनेशनल, युएन विमेन, कोइका, नबिल बैंक, होन्डा, कान्तिपुर, द काठमाडौं पोस्ट लगायतका बहुसंख्यक संस्था तथा ब्रान्डहरूले रणनीतिक, संस्थागत र सञ्चार साझेदारका रूपमा सहकार्य गरेका थिए ।

Share News