कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दल नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेता शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालय सुर्खेतले जनाएको छ । नेकपा (एमाले) को समर्थनमा मंगलबार शाहीले कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका थिए । मुख्यमन्त्री शाहीको बुधबार शपथ ग्रहण गर्ने कार्यक्रम छ ।
कर्णालीको मुख्यमन्त्री पदमा नेता शाहीको दाबी पेस
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाहीले कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गरेका छन् । नेकपा (एमाले)को समर्थनमा आज कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतमा पुगेर नेता शाहीले मुख्यमन्त्री पदमा दाबी पेस गरेका हुन् । नेता शाहीले आज दाबी पेस गरे पनि प्रदेश प्रमुख यज्ञराज जोशीले उनलाई बैठकको छलफलपछि बुधबार मात्रै नियुक्ति दिने प्रदेश प्रमुखको कार्यालय सुर्खेतका सूचना अधिकारी मनमाया काउचाले जानकारी दिए । शाहीले दाबी पेस गर्ने समयमा एमालेका प्रमुख सचेतक टेकराज पछाईंको पनि उपस्थिति थियो । हाल कर्णाली प्रदेशसभाका ४० प्रदेशसभा सदस्यमध्ये १४ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र १० नेकपा एमालेका प्रदेशसभा सदस्य छन् ।
प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लाई भारतले औपचारिक रूपमा आफ्नो देशको भ्रमणको निम्तो दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि निमन्त्रणा पठाइएको जानकारी दिएका हुन् । सम्मेलनका क्रममा पत्रकारले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निमन्त्रणा पठाइएको हो ? भन्ने प्रश्नमा उनले भने, ‘हो, नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणमा पठाइएको छ ।’ यद्यपि भारत भ्रमणको मिति भने तोकिएको छैन । प्रवक्ता जैसवालले भ्रमणको मिति भने दुवै देशको आपसी सहमतिमा तय हुने जानकारी दिए । भारतको निम्तो स्वीकार गरिएमा प्रधानमन्त्रीका रूपमा बालेनको यो पहिलो विदेश भ्रमण हुनेछ ।