काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुनसरी घटनाको सन्दर्भमा सरकारको भूमिकाप्रति प्रश्न उठाउँदै प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाएर समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सरकारको सक्रियता पर्याप्त नभएको टिप्पणी गरे । ‘माननीय सभापतिमार्फत हामीले सरकारलाई प्रश्न राखेका छौँ । यतिखेर सरकार के गर्दैछ ? कहाँ छ ?’ उनले भने ।
सरकारले समन्वयकारी भूमिका खेल्न नसकेको उल्लेख गर्दै थापाले सरकार बन्दुकको गोली वा सामाजिक सञ्जालको स्टाटसमै सीमित हुन नहुने बताए ।
‘सरकार अभिभावक मात्र होइन, नेतृत्वकर्ता पनि हो । नेतृत्वको सबैभन्दा ठूलो शक्ति भनेको सबै पक्षसँग सहकार्य गर्न सक्ने क्षमता हो। सरकारले सबैलाई विश्वास गर्नुपर्छ र सबैले पनि सरकारमाथि विश्वास गर्न सक्ने वातावरण बनाउनुपर्छ,’ उनले भने ।
थापाले यस्तो परिस्थितिमा प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाई राष्ट्रपतिसँग परामर्श गर्ने, प्रदेश तथा स्थानीय सरकारसँग संवाद बढाउने र साझा प्रयासका लागि आधार तयार गर्नुपर्ने धारणा राखे ।
उनले सरकारको पहल नहुँदा पनि रास्वपाले प्रमुख राजनीतिक दलहरूलाई एकै ठाउँमा ल्याएर बैठक आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे। साथै, नेपाली कांग्रेसले पनि परिस्थितिलाई सामान्य बनाउन आवश्यक भूमिका निर्वाह गरिरहेको जानकारी बैठकमा गराएको उनले बताए ।
महामन्त्री थापाले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको मूल शक्ति भएको उल्लेख गर्दै सुनसरी मात्र होइन, स्थानीय तहसम्म पनि सर्वदलीय बैठक आयोजना गरी तनाव समाधानका लागि साझा पहल गर्नुपर्ने धारणा राखे । त्यसका लागि कांग्रेस आवश्यक भूमिका खेल्न तयार रहेको उनले बताए ।