महाधिवेशनपछि रास्वपाको पहिलो केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । चितवनमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित दोस्रो केन्द्रीय समितिको पहिलो बैठक बुधबार (आज) काठमाडौंमा सुरु भएको छ । वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय ‘घण्टीघर’मा सभापति रवि लामिछानेको अध्यक्षतामा बैठक बसेको हो। बैठकको प्रारम्भमै महाधिवेशनका क्रममा पद तथा गोपनीयताको शपथ लिन छुटेका केही नवनिर्वाचित केन्द्रीय सदस्यलाई शपथ गराइएको पार्टीले जनाएको छ । महाधिवेशनपछिको पहिलो औपचारिक बैठक भएकाले संगठनलाई थप प्रभावकारी बनाउने रणनीति, महाधिवेशनको समग्र समीक्षा, आगामी राजनीतिक तथा सांगठनिक कार्यदिशा र समसामयिक राष्ट्रिय राजनीतिक घटनाक्रमबारे विस्तृत छलफल हुने कार्यसूची रहेको छ । यसैगरी, महाधिवेशनबाट पारित निर्णयहरूको कार्यान्वयन, पार्टीको संगठन विस्तार, विभाग गठन तथा आगामी कार्यक्रमहरूको रूपरेखाबारे समेत बैठकले आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ ।

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ः०० बजे बैठक बस्न लागेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।  बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुनेछ । बैठकमा समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।  

राष्ट्रपतिसँग रविको भेटवार्ता, सर्वदलीय बैठकबारे ब्रिफिङ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा लामिछानेले सुनसरी घटनापछि विकसित परिस्थितिबारे दलहरूबीच साझा धारणा बनाउन आफूले बोलाएको सर्वदलीय बैठकका निष्कर्ष राष्ट्रपतिलाई अवगत गराएको लामिछानेको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक अवस्था, शान्ति सुरक्षा, सामाजिक सद्भाव तथा कानुनी शासन कायम राख्न राजनीतिक दलहरूको भूमिकाबारे पनि छलफल भएको थियो ।  सुनसरी घटनापछि उत्पन्न परिस्थितिका विषयमा राष्ट्रिय सहमति र संयम आवश्यक रहेको भन्दै रास्वपाले बुधबार सर्वदलीय बैठक आयोजना गरेको थियो ।  उक्त बैठकमा सहभागी दलहरूले शान्ति, सामाजिक सद्भाव र कानुनी शासन कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए । राष्ट्रपतिसँग भेटवार्ताका क्रममा सभापति लामिछानेले राष्ट्रपति कार्यालयको सरकारी संयन्त्रसँग समन्वय नगरेको पाइएको छ । बैठकबारे राष्ट्रपति कार्यालयका प्रवक्तासमेत अनभिज्ञ रहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ। सर्वदलीय बैठकमा प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न सुनसरी घटनामा ९ दल एकै ठाउँ, यस्तो छ सर्वदलीय बैठकको ७ बुँदे अपील