काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहसँग छलफल गरेपछि उनी सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गृहमन्त्री गुरुङले गत साउन १० गते सुनसरीमा भएको झडपमा ज्यान गुमाएका ओमप्रकाश मेहता तथा सोही घटनामा घाइते भई उपचारका क्रममा आज मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग भेट गरी समवेदना व्यक्त गर्नेछन् ।
भेटका क्रममा घटनापछिको सुरक्षा अवस्था, पीडित परिवारको अवस्था तथा सरकारले अघि बढाएको राहत, छानबिन र शान्ति स्थापनासम्बन्धी पहलका विषयमा पनि जानकारी लिने तयारी गरिएको छ ।
गृहमन्त्री गुरुङसँगै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता पनि सुनसरी जाने कार्यक्रम रहेको छ । मन्त्री मेहताको गृह जिल्ला समेत सुनसरी भएकाले उनी पनि पीडित परिवारसँग भेटघाटमा सहभागी हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।