काठमाडौं । प्रधानमन्त्री बालेन शाहले पाकिस्तानको ब्रोड पिक हिमालमा ज्यान गुमाएका नेपाली तथा विदेशी आरोहीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले विश्व कीर्तिमानधारी निर्मल पुर्जा (निम्स दाइ) सहित छ जना नेपाली र चार जना विदेशी आरोहीको निधनले आफू स्तब्ध भएको बताएका छन् ।
प्रधानमन्त्री शाहले पर्वतारोहण केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको उल्लेख गरेका छन् ।
उनले हिमालले धेरैलाई शिखरको गौरव दिने र कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर राख्ने उल्लेख गर्दै आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहने बताएका छन् ।
प्रधानमन्त्री शाहले निर्मल पुर्जासहित सम्पूर्ण दिवङ्गत आरोहीको भौतिक यात्रा टुङ्गिए पनि उनीहरूको साहस, समर्पण र योगदान सधैँ प्रेरणाको स्रोत बनिरहने विश्वास व्यक्त गरेका छन् ।
उनले दिवङ्गत आरोहीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त र शुभेच्छुकप्रति हार्दिक समवेदना पनि व्यक्त गरेका छन् ।