चितवनको मेघौलीमा वन्यजन्तु पर्यटन प्रवर्द्धन गर्न ‘सफारी मार्ट’
चितवन । नेपाल पर्यटन बोर्डले पहिलो पटक चितवनको मेघौलीमा ‘सफारी मार्ट’को औपचारिक सुरुआत गरेको छ । नेपाल पर्यटन बोर्ड, स्थानीय सरकार तथा पर्यटन व्यवसायीहरूको सहकार्यमा आयोजना गरिएको पहिलो ‘वाइल्ड नेपाल सफारी मार्ट २०२६’ को उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले यस कार्यक्रमलाई नेपालको वन्यजन्तु पर्यटनलाई विश्व मञ्चमा पुर्याउने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरे । उनले भने, 'नेपाल केवल हिमालका लागि मात्र होइन, यसको समृद्ध जैविक विविधता, जीवित संस्कृति र विश्वस्तरीय वन्यजन्तु पर्यटनका लागि चिनिन्छ ।' उनले यस मार्टमा हुने छलफलहरूले लगानी, सहकार्य र नेपालको विशिष्ट वन्यजन्तु पर्यटन उत्पादन प्रवद्र्धनका नयाँ अवसरहरू खोल्ने बताए । कार्यक्रममा भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले चितवन र मेघौलीलाई विश्वस्तरीय वन्यजन्तु पर्यटन केन्द्रका रूपमा विकास गर्न तयार रहेको बताए । उनले स्थानीय सरकारको भूमिका दिगो पर्यटन पूर्वाधार र समुदाय सहभागितामा महत्वपूर्ण रहेको उल्लेख गरे । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले यस कार्यक्रमलाई नेपालको पर्यटन यात्राको ऐतिहासिक कोसेढुङ्गाका रूपमा रहेको उल्लेख गर्दै यो विशिष्ट र जिम्मेवार पर्यटन अवधारणा भएको बताए । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले मार्टलाई केवल व्यावसायिक कार्यक्रम नभई एक साझा ‘प्लेटफर्म’का रूपमा चित्रण गरे । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थापलियाले यो मार्ट रणनीतिक प्लेटफर्मका रूपमा भएको बताए । अन्तरराष्ट्रिय संरक्षणविद् तथा प्रमुख वक्ता मोहित अग्रवालले जिम्मेवार पर्यटन यात्राको विश्वव्यापी माग तीव्र रूपमा बढिरहेको बताए । उनले भने, 'विश्व अब त्यस्ता गन्तव्य खोजिरहेको छ, जहाँ पर्यटन र संरक्षणबीच सन्तुलन कायम हुन्छ र मानव तथा प्रकृतिबीच गहिरो सम्बन्ध स्थापित हुन्छ ।' कार्यक्रममा चितवनको पर्यटन क्षेत्रका अवसर र चुनौतीबारे डा विश्वराज सुवेदीले प्रस्तुति दिएको थियो भने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले संरक्षण उपलब्धि र भविष्यका प्राथमिकताबारे जानकारी गराएका थिए । रासस
९.८ मेगावाटको लुजा खोला हाइड्रो बन्ने, २०८४ चैतदेखि बिजुली उत्पादन गर्ने
काठमाडौं । ९.८ मेगावाटको लुजा खोला क्यासकेड जलविद्युत आयोजना बन्ने भएको छ । एरिस इनर्जी प्रालिले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-२ मा जलविद्युत् आयोजना निर्माण गर्ने भएको हो । आयोजना नदी प्रवाहमा आधारित (रन अफ रिभर) प्रकारको हुनेछ जसको जडित क्षमता ९.८ मेगावाट रहनेछ । आयोजनाको डिजाइन बहाव ३.३७ घनमिटर प्रति सेकेण्ड तथा कुल हेड ३४९ मिटर रहनेछ । यस आयोजनाबाट वार्षिक रूपमा करिब ६४.८१ गिगावाट घण्टा विद्युत उत्पादन हुने अनुमान गरिएको छ । आयोजना क्षेत्र दुधकोशी नदीको दायाँ किनारमा पर्नेछ, जहाँ आवश्यक संरचनाहरू निर्माण गरिनेछन् । आयोजनाअन्तर्गत पानी संकलनका लागि १० मिटर लामो, ५ मिटर चौडाइ र ५ मिटर उचाइको हेडपोन्ड निर्माण गरिनेछ, जुन समुद्री सतहबाट २ हजार २९४ मिटर उचाइमा रहनेछ । लुजा खोला जलविद्युत आयोजनाको टेलरेसबाट सिधै पानी ल्याएर हेडपोन्डमा पुर्याइनेछ । त्यहाँबाट १ हजार ७७५ मिटर लामो पेनस्टक पाइपमार्फत पानी विद्युतगृहमा पुर्याइने व्यवस्था हुनेछ । पेनस्टक पाइपको व्यास ०.७५ मिटरदेखि १.२ मिटरसम्म र मोटाइ ८ मिलिमिटरदेखि २२ मिलिमिटरसम्म रहने कम्पनीले जनाएको छ । विद्युतगृहमा २ वटा ५.०५२ मेगावाट क्षमताका होरिजोन्टल एक्सिस पेल्टन टर्बाइन र २ वटा ५.७६५ मेगावाट क्षमताका जेनेरेटर जडान गरिनेछन् । त्यसपछि पानीलाई २० मिटर लामो, १.५ मिटर उचाइ र २ मिटर चौडाइ भएको टेलरेस नहरमार्फत पुनः दुधकोशी नदीमा फर्काइने कम्पनीले जनाएको छ । टेलरेसको पानीको सतह समुद्री सतहबाट १ हजार ९४२ मिटर उचाइमा रहने छ । उत्पादित विद्युत १३२ केभी क्षमताको करिब २०० मिटर लामो सिङ्गल सर्किट प्रसारण लाइनमार्फत स्विचयार्डमा जोडिने योजना छ । आयोजनाबाट २०८४ चैत ३० गतेदेखि व्यावसायिक रूपमा विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ । आयोजना निर्माण तथा सञ्चालनका क्रममा वातावरणमा पर्ने सम्भावित असरलाई न्यूनीकरण गर्न स्वीकृत स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन अनुसार आवश्यक उपायहरू अपनाइने जनाइएको छ । विद्युत विकास विभागले आयोजना कार्यान्वयनका क्रममा कुनै प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र सम्बन्धित निकायमा लिखित सुझाव वा आपत्ति दिन सकिने व्यवस्था गरेको छ ।
एसईई रिजल्ट उपलब्ध गराउन १ लाखसम्म धरौटी, राजस्व खातामा दाखिला हुने
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा उपलब्ध गराउन १ लाख रुपैयाँसम्म धरौटी रकम बुझाउनुपर्ने भएको छ । एसएमएस, आईभीआर (टेलिफोन) तथा वेबसाइटमार्फत एसईई २०८२ को नतिजा उपलब्ध गराउन इच्छुक संघ–संस्था तथा कम्पनीहरूले न्यूनतम २० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म धरौटी रकम बुझाउनु पर्ने भएको हो । कार्यालयका अनुसार एसएमएस सेवा उपलब्ध गराउन ४० हजार रुपैयाँ, वेबसाइट सेवा २० हजार रुपैयाँ, एसएमएस र वेबसाइट दुवैका लागि ६० हजार रुपैयाँ तथा एसएमएस, आईभीआर र वेबसाइट तीनै सेवा उपलब्ध गराउन १ लाख रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था गरिएको छ । कार्यालयले सेवा प्रदान गर्न इच्छुक संस्थाहरूले आवश्यक विवरणसहित २०८३ वैशाख १७ गतेभित्र निवेदन पेस गर्नुपर्ने जनाएको छ । संस्था प्रचलित कानुनअनुसार दर्ता भएको हुनुपर्ने, भ्याट वा प्यानमा दर्ता भएको हुनुपर्ने तथा आर्थिक वर्ष २०८१/८२ को कर चुक्ता गरेको हुनुपर्नेछ । धरौटी रकम कोष तथा लेखा नियन्त्रक कार्यालय भक्तपुरमार्फत नेपाल बैंकमा रहेको सम्बन्धित खातामा जम्मा गरी सक्कल भौचर निवेदनसाथ पेस गर्नुपर्नेछ । सम्झौतापछि सो धरौटी रकम राजस्व खातामा दाखिला गरिनेछ । निवेदन पेस गर्दा खाम बाहिर कुन सेवा (एसएमएस, आईभीआर वा वेबसाइट) चाहिएको हो स्पष्ट उल्लेख गर्नुपर्नेछ । परीक्षा बोर्डले नतिजा प्रकाशन गरेपछि मात्र सेवा सञ्चालन गर्न पाइनेछ । नतिजा सेवा अधिकतम एक महिनासम्म मात्र सञ्चालन गर्न पाइने र त्यसपछि अनिवार्य रूपमा बन्द गर्नुपर्नेछ । नतिजा सम्बन्धी विवरण उपलब्ध गराउने वा नगराउने अधिकार बोर्डमै रहनेछ । अनधिकृत रूपमा नतिजा प्रकाशन वा गलत तथ्याङ्क सार्वजनिक गरेमा प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी पनि दिइएको छ ।