थापाथली सुकुम्बासी बस्तीमा डोजर, भत्काउन थाल्यो घरटहरा

काठमाडौं । थापाथली स्थित सुकुम्बासी बस्ती हटाउने अभियान अन्तर्गत डोजर पुगेको छ। बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत बस्ती हटाउन सरकारले शनिबार बिहानदेखि अभियान सुरु गरेको हो । डोजर आइपुगेसँगै प्रहरी टोली बस्तीभित्र प्रवेश गरी घर-घरमा माइकिङ गर्दै स्थानीयलाई बाहिर निस्कन आग्रह गरिरहेको छ । सबैलाई सुरक्षित रूपमा बाहिर निकाल्न सुरक्षाकर्मी परिचालन गरिएको छ भने डोजरले अनधिकृत घरटहरा भत्काउन सुरु गरेको छ ।  सरकारले राजधानीका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्ती हटाउने निर्णयअनुसार पहिलो चरणमा थापाथली क्षेत्रमा कार्य अघि बढाएको हो ।

५ किसिमका पेट्रोलियम पदार्थ आयात, ६०.३८ अर्ब रुपैयाँ राजस्व सङ्कलन

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम ९ महिनामा पेट्रोलियम पदार्थ आयातबाट ६० अर्ब ३८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा ५७ अर्ब ५३ करोड रुपैयाँ राजस्व प्राप्त भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार वीरगञ्ज नाकाबाट उक्त अवधिमा १ खर्ब ४८ अर्ब १६ करोड रुपैयाँ बराबरका ५ किसिमका पेट्रोलियम पदार्थ आयात गरेर उक्त रकम राज्यकोषमा दाखिला भएको हो । उक्त अवधिमा ८ लाख ८ हजार ७४५ किलोलिटर डिजेल, ३ लाख ५९ हजार ८४६ किलोलिटर पेट्रोल २२ करोड ४८ लाख ७५ हजार २६६ किलोग्राम एपपी ग्यास आयात भएको छ ।

सुकुम्बासी हटाउने अभियान सुरु, थापाथलीमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति

काठमाडौं । सरकारले राजधानीका विभिन्न तीन स्थानमा रहेका सुकुम्बासी बस्ती हटाउने अभियान आजबाट सुरु गरेको छ । शनिबार बिहानदेखि बस्ती खाली गराउने काम अघि बढाइएको हो । अभियानको पहिलो चरणअन्तर्गत थापाथली क्षेत्रमा सुकुम्बासी बस्ती हटाउने तयारी गरिएको छ । सम्भावित अवरोधलाई ध्यानमा राख्दै बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । उक्त क्षेत्रमा करिब १४५ घरधुरी बसोबास गर्दै आएका छन् ।  सरकारले सार्वजनिक स्थान अतिक्रमण हटाउने तथा व्यवस्थित बसोबास सुनिश्चित गर्ने उद्देश्यले अभियान अघि बढाएको जनाएको छ ।