होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प
काठमाडौं । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि त्यहाँ थप ठूला झट्काको सम्भावना बढेको भन्दै सतर्कता बढाइएको छ । पछिल्ला दिनहरूमा लगातार देखिएको भूकम्पीय गतिविधिको शृङ्खलाबीच आएको यो कम्पनले जोखिम अझै टरेको छैन भन्ने सङ्केत दिएको छ । जापानी मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार भूकम्प स्थानीय समयअनुसार बिहान ५ः२३ बजे होक्काइडोको दक्षिणी क्षेत्रमा केन्द्रित भएर आएको हो । यसको गहिराइ करिब ८३ किलोमिटर रहेको जनाइएको छ, जुन प्रारम्भिक ६.१ म्याग्निच्युडको अनुमानलाई संशोधन गर्दै ६.२ कायम गरिएको हो । यस भूकम्पपछि कुनै सुनामी चेतावनी जारी नगरिएको भए पनि प्रभावित क्षेत्रमा बलियो कम्पन महसुस गरिएको थियो । अमेरिकी भूगर्भीय सर्वेक्षणले जनसङ्ख्या कम रहेको क्षेत्र नजिक केन्द्रित भएकाले ठूलो जनधन क्षतिको सम्भावना न्यून रहेको आकलन गरेको छ । यद्यपि, जेएमएका अधिकारीहरूले शक्तिशाली कम्पन भएका स्थानहरूमा चट्टान खस्ने र भूस्खलनको जोखिम बढेको चेतावनी दिएका छन् । जेएमएले आगामी केही दिन तथा हप्तामा यस्तै स्तरका थप भूकम्प आउन सक्ने उच्च सम्भावना रहेको उल्लेख गर्दै स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । यसअघि केही घण्टा अगाडि नै होक्काइडोभन्दा केही सय किलोमिटर दक्षिण समुद्री क्षेत्रमा ५.० म्याग्निच्युडको अर्को भूकम्प आएको थियो, जसले क्षेत्रको भूकम्पीय सक्रियता निरन्तर बढिरहेको सङ्केत दिएको छ । यो घटनाक्रम गत हप्ता उत्तरी इवाटे प्रान्तमा आएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि आएको हो, जसले ठूलो क्षति नगरे पनि देशभर त्रास फैलाएको थियो । उक्त भूकम्पको प्रभाव राजधानी टोकियोसम्म पुगेको थियो, जहाँ ठूला भवनहरू हल्लिएका थिए र छ जना घाइते भएका थिए । साथै, इवाटे क्षेत्रमा करिब ८० सेन्टिमिटर उचाइका सुनामी छालहरू देखिएका थिए भने अन्य उत्तरी क्षेत्रमा साना छालहरू ठोक्किएका थिए । त्यसपछि जेएमएले ८.० वा सोभन्दा माथिको शक्तिशाली भूकम्प आउने सम्भावना सामान्य अवस्थाभन्दा बढी रहेको चेतावनी दिएको थियो । अहिलेको ६.२ म्याग्निच्युडको भूकम्पलाई पनि सोही शृङ्खलाको एक हिस्सा मानिएको छ । जापान प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले विश्वकै सबैभन्दा भूकम्पीय रूपमा सक्रिय देशमध्ये एक हो । चार प्रमुख टेक्टोनिक प्लेटहरूको सङ्गममा रहेको यस देशमा हरेक वर्ष करिब एक हजार ५०० भूकम्प आउने गरेका छन् । यो विश्वभरका कुल भूकम्पको झन्डै १८ प्रतिशत हो । सन् २०११ मा जापानमा आएको ९.० म्याग्निच्युडको विनाशकारी भूकम्प र त्यसपछिको सुनामीले १८ हजार ५०० भन्दा बढी मानिसको ज्यान गएको वा बेपत्ता भएको थियो । त्यसयता जापानले भूकम्प पूर्वतयारी र जोखिम न्यूनीकरणमा ठूलो लगानी गर्दै आएको भए पनि पछिल्ला गतिविधिहरूले पुनः सतर्क रहनुपर्ने अवस्था देखाएका छन् । रासस
चुँदीरम्घामा भानु साहित्य उद्यान निर्माण सुरु, राष्ट्रपति पौडेलले गरे शिलान्यास
दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिका-४ चुँदीरम्घामा निर्माण गर्न लागिएको भानु साहित्य उद्यानको सोमबार शिलान्यास गरेका छन् । आदिकवि भानुभक्त आचार्यको जन्मस्थान चुँदीरम्घामा उद्यान निर्माण गर्न लागिएको हो । गत पुसमा उक्त उद्यानको विस्तृत परियोजना प्रतिवेदन भानु नगरपालिकाले स्वीकृत गरेको थियो । यस ठाउँलाई सप्तधामका रुपमा विकास गर्ने उद्देश्य राखिएको छ । स्वीकृत गुरुयोजनाअनुसार साहित्य उद्यानको पूर्ण निर्माणका लागि करिब एक अर्ब रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा सङ्घीय सहरी विकास मन्त्रालयबाट २० करोड रुपैयाँ बजेट विनियोजन भइसकेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । उक्त बजेटबाट शिखर कटेरीदेखि रम्घा डाँडासम्मको मोटरमार्ग स्तरोन्नति गरी कालोपत्रे सडक निर्माण गरिनेछ भने ५४ फिट उचाइको आदिकवि भानुभक्त आचार्यको विशाल प्रतिमा निर्माण गरिने उनले बताए । हालसम्म गुरुयोजना कार्यान्वयनका लागि करिब ४०० रोपनी जग्गा प्राप्त भइसकेको छ । उनले भने, 'गुरुयोजना कार्यान्वयनपछि उद्यानमा साहित्यिक संरचना, सांस्कृतिक प्रतीक, पर्यटकीय पूर्वाधार तथा अध्ययन, अनुसन्धानका सुविधाहरू विकास गरिने अपेक्षा गरिएको छ ।' सिङ्गो नेपाललाई भाषाको माध्यमबाट जोड्ने आदिकवि भानुभक्त आचार्यको जन्मथलो ओझेलमा परेपछि यसलाई साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाउने लक्ष्य राखिएको त्रिपाठीको भनाइ छ । उनले भने, 'राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा भानुभक्तको आचार्यको विशिष्ट पहिचान छ, यो ठाउँलाई समय सन्दर्भ अनुसारको सबै किसिमको धाम बनाउने परिकल्पना साथ अगाडि बढेका छौँ ।' साहित्यिक उद्यानमा विभिन्न संरचना निर्माण गरिनेछ । त्रिपाठीका अनुसार यहाँ भानुभक्तको विशाल सालिक, रामायण मन्दिर, मूर्ति वाटिका, भानुभक्तकालीन नमूना बस्ती, भानु साहित्य ग्राम, भानु प्रज्ञा भवन, भानु वनस्पति उद्यान, सप्तधाम, मनोरञ्जन वनभोजस्थल, प्राकृतिक वन विचरण क्षेत्र, सम्पदा संरक्षण क्षेत्र र साहित्यिक पदमार्ग प्रस्तावित गरिएको छ । भानु साहित्यिक उद्यानका लागि हालसम्म रु एक करोड ८० लाख खर्च भएको छ । साहित्यिक उद्यान निर्माणका लागि पछिल्लो दुई आर्थिक वर्षमा गरी रु एक करोड ८० लाख ४१ हजार ५०० खर्च भएको जनाइएको छ ।
शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा नेपालको शिक्षा, विज्ञान तथा प्रविधि र खेलकुदसहितको क्षेत्रमा चीन सरकारको सहयोग र सहकार्यबारे कुराकानी भएको थियो । विशेषगरी विद्यालयको पूर्वाधार, पठनपाठनमा ‘डिजिटल’ प्रणालीलगायत संस्थागत विकास एवं समसामयिक विषयमा कुराकानी भएको थियो । साथै, उनीहरुबीच नेपाल–चीनबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यमा केन्द्रित रहेर छलफल भएको छ । नेपाल सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री पोखरेलले विद्यालयको पूर्वाधार विकास, पठनपाठनमा डिजिटल प्रणालीको संस्थागत विकासका साथै चिनियाँ सरकारसँगको साझेदारी र सहकार्य वृद्धि भएको हेर्न चाहेको बताएका थिए । उनले शिक्षा क्षेत्रमा सञ्चालित परियोजना चाँडो सम्पन्न गर्न तथा नेपाली युवाहरुको रुचि अनुसारको चीन सरकारबाट प्राप्त हुने छात्रवृत्ति प्रवद्र्धन गर्ने सम्बन्धमा पनि चीन सरकारको ध्यानाकर्षण गराएका थिए । चिनियाँ राजदूत माओमिङले नेपाल सरकारका तर्फबाट राखिएका विषयमा चीन सरकार साझेदारी र सहकार्यका लागि इच्छुक रहेको बताए । सो भेटमा दुई देशबीचको आपसी हित र बहुआयामिक सम्बन्धलाई थप प्रगाढ बनाएर जाने विषयमा समझदारी बनेको छ ।