आज दिउँसो केही स्थानमा चट्याङसहित वर्षा हुने

काठमाडौं । आज दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा देशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा मधेस प्रदेशलगायत कोशी प्रदेशको तराईको थोरै स्थानमा र बाँकी तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङ हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ ।

काँकडभिट्टाबाट १६.८१ अर्बको पेट्रोलियम भित्रियो, साढे ७ अर्ब राजस्व संकलन

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकडभिट्टाबाट १६ अर्ब ८१ करोड ३६ लाख ३० हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार सो अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, कोइलालगायत वस्तु आयात भएका छन् । पेट्रोलियम पदार्थ आयातबाट चालु आवको ९ महिनामा ७ अर्ब ४४ करोड ७८ लाख १८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको उनले बताए ।  कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा ७ अर्ब ७५ करोड ९४ लाख रुपैयाँ बराबरको ८३ हजार ४४८ किलोलिटर पेट्रोल आयात भएको छ । त्यसैगरी, ५ अर्ब ८७ करोड १८ लाख रुपैयाँ बराबरको ५५ हजार २४ किलोलिटर डिजेल आयात भएको छ । त्यसैगरी, १ अर्ब ९० करोड ५९ लाख रुपैयाँ बराबरको १९ हजार १३६.६९३ मेट्रिक टन एलपी ग्यास, ५७ करोड ५१ लाख रुपैयाँ बराबरको ५ हजार ९८८ किलोलिटर एटीएफ तथा ७० करोड १२ लाख रुपैयाँ बराबरको ३४ हजार ५२४।.४९० मेट्रिक टन कोइला आयात भएको सूचना अधिकारी हुमागाईँले बताए । 

सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता

काठमाडौं । सरकारले देशभरका सडक सुरक्षा प्रणालीमा नीतिगत एवं संरचनागत सुधार गर्न प्रतिबद्ध रहेको जनाएको छ ।  गत बिहीबार रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा भएको जिप दुुर्घटनामा २० जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले दुर्घटना छानबिन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने बताएको छ ।  दुर्घटनाको सुक्ष्म छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको गृह मन्त्रालयले गठन गरेको समितिले प्रस्तुत गर्ने प्रतिवेदनका निष्कर्ष र सुझावलाई तत्काल कार्यान्वयन गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक विज्ञप्ति निकालेर जनाएको छ ।  लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षकको संयोजकत्वमा गठित समितिको समयावधि आज समाप्त हुँदैछ । सडक दुर्घटना नागरिकको जीवन र परिवारको भविश्यसँग जोडिएको संवेदनशील विषय भएकाले प्राविधिक तथा मानवीय कमजोरी सुधार्न सरकार दृढताका साथ अघि बढ्ने प्रतिबद्धता विज्ञप्तिमा व्यक्त गरिएको छ ।