भरुवा बन्दुकसहित तीन जना पक्राउ
काठमाडौं । मुलुकभरका विभिन्न स्थानबाट भरुवा बन्दुकसहित तीन जना पक्राउ परेका छन् । खार्पुनाथ गाउँपालिका– ४ ६३ वर्षीय मक्कबहादुर रोकायालाई भरुवा बन्दुक १ थान, फलामको रटको गोली १२ थान र बारुद ९० ग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, हुम्लाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । त्यसैगरी, प्युठान, ऐरावती गाउँपालिका– ६ धाइरेचौरस्थित टुनिचौर सामुदायिक वनबाट भरुवा बन्दुक १ थान शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी चुजाठाँटीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । रुकुम-पूर्व, सिस्ने गाउँपालिका– ५ माथिल्लो हेप्लास्थित चिसापानी खोला छेउबाट भरूवा बन्दुक १ थान शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी बिट रुमालवाराबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । उनलाई नियन्त्रणमा लिएर प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
विराटनगर एयरपोर्टबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ
काठमाडौं । स्रोत नखुलेको २६ लाख बढी रकमसहित विराटनगर एयरपोर्टबाट दुई जना पक्राउ परेका छन् । शुक्रबार विराटनगरबाट काठमाडौंबाट जाने क्रममा चेकजाँच गर्दा ३५ वर्षीय दिलिप तामाङ र ३६ वर्षीय भारतका मोहिदिल अली पक्राउ परेका हुन् । शुक्रबार बुद्ध एयरको उडानबाट विराटनगरबाट काठमाडौं जाने क्रममा तामाङको साथबाट स्रोत नखुलेको ११ लाख रुपैयाँ फेला पारेको थियो । त्यसैगरी, शनिबार श्रीएयरको उडानबाट विराटनगरदेखि काठमाडौं जाने क्रममा चेकजाँच गर्दा स्रोत नखुलेको १५ लाख ९८ हजार रुपैयाँसहित अली पक्राउ परेका हुन् । स्रोत नखुलेको रकम २६ लाख ९८ हजार फेला परेकाले दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आयकरको सीमा घटाउनेबारे बोले रवि, घाटामा रहेका कम्पनीलाई आईपीओ निकाल्न नदिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आयकरको सीमा घटाउने विषयमा सरकार सकारात्मक रहेको बताएका छन्। निजी क्षेत्रसँगको छलफलमा उनले आयको ५० प्रतिशत कर तिर्नु न्यायोचित नभएको उल्लेख गर्दै कर प्रणाली सुधार गरिने स्पष्ट पारे । निजी क्षेत्रका उद्योगी-व्यवसायीसँगको संवादमा लामिछानेले आफू धेरै बोल्नभन्दा सुझाव सुन्न आएको बताउँदै रास्वपाले बाचापत्रमार्फत वास्तविक अर्थतन्त्र सुधार, निजी क्षेत्रका समस्या समाधान र सर्वसाधारणको दैनिकीसँग जोडिएका मुद्दामा स्पष्ट रोडम्याप बनाएको बताए । 'तपाईहरूको सरोकारमा विमति राख्ने ठाउँ छैन, हामी समाधानमुखी ढंगले अघि बढ्छौं,' उनले भने । उनले निजी क्षेत्रलाई डराउनुपर्ने अवस्था नरहेको स्पष्ट पार्दै सरकार सुशासन र आर्थिक वृद्धिको नयाँ चरणतर्फ अघि बढेको बताए। केही व्यवसायीले अर्थतन्त्रमा अस्वाभाविक नियन्त्रण जमाउन खोजेकाले नियमनमा कडाइ गरिएको उल्लेख गर्दै उनले इमान्दार व्यवसायीलाई भने कुनै दुःख नदिने आश्वासन दिए । लामिछानेले उत्पादनमुखी अर्थतन्त्रतर्फ रूपान्तरण, प्राकृतिक स्रोतको सदुपयोग, रुग्ण उद्योग पुनः सञ्चालन तथा लाइसेन्स प्रक्रिया छिटो बनाउनेतर्फ सरकार केन्द्रित रहेको बताए। 'रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका मुख्य छ, त्यसैले सरकार सहयोगी बन्न चाहन्छ,' उनले भने । जलविद्युत् क्षेत्रमा घाटामा रहेका कम्पनीलाई आईपीओ जारी गर्न नदिने, सनसेट ल लगायतका नीतिगत विषय सम्बोधन गर्ने, एमआरपी समस्या समाधान गर्ने र एलडीसी ग्राजुएसनपछि देखिने असर न्यूनीकरणका लागि थप कदम चालिने उनले जानकारी दिए । सीमा क्षेत्रमा बढ्दो तस्करी नियन्त्रण, आयातलाई व्यवस्थित गर्दै उत्पादन बढाउने, वन ऐन सुधार र जोखिममा रहेका नागरिकको सुरक्षित स्थानान्तरणजस्ता विषयमा पनि सरकार सक्रिय रहेको उनले बताए। 'हामीले गर्न खोजेको राजनीति अर्थराजनीति हो, सही नीति बनाएर निजी क्षेत्रलाई प्रोत्साहन गर्छौं, कुनै स्वार्थ खोज्दैनौं,' उनले भने । सरकारको स्थिरता र लक्ष्यमा कुनै विचलन नआउने उल्लेख गर्दै लामिछानेले आगामी दिनमा निजी क्षेत्रसँग सहकार्य थप सुदृढ गरिने बताए ।