प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकारमा प्रा. डा. जगदिश अग्रवाल नियुक्त

काठमाडौं । सरकारले वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षाविद् प्रा. डा. जगदिश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहका अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले अग्रवाललाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का पूर्व डीनसमेत रहेका उनले अब मुलुकको स्वास्थ्य नीति, जनस्वास्थ्यका चुनौती र चिकित्सा शिक्षाको सुधारका विषयमा प्रधानमन्त्रीलाई आवश्यक परामर्श दिनेछन् । प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार अग्रवालको नियुक्तिले स्वास्थ्य क्षेत्र सुधारका लागि महत्वपूर्ण प्राविधिक सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ । 'स्वास्थ्य क्षेत्रका अनुभवी व्यक्तित्व प्रा. डा. अग्रवालको नियुक्तिले स्वास्थ्य नीति र सेवा सुधारमा उपयोगी सुझाव मिल्ने विश्वास गरेका छौँ,' उनले भनिन् । सार्वजनिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आएको सन्दर्भमा प्रधानमन्त्री शाहको यो निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ । अग्रवालले राज्यबाट कुनै पारिश्रमिक वा आर्थिक सुविधा नलिई विशेषज्ञका रूपमा सेवा दिनेछन् ।

वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण

काठमाडौं । वर्षा र हावाहुरीका कारण काठमाडौं उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य सुधार आएको छ । एयर क्वालिटी इन्डेक्स (एक्युआइ) को पछिल्लो तथ्याङ्कअनुसार बुधबार बिहान ११ः०० बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क ४७ मा झरेको छ, जुन ‘राम्रो’ अर्थात् स्वस्थ श्रेणीमा पर्दछ ।      केही साताअघि विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा रहेको काठमाडौं हाल सुधार हुँदै ६६औँ स्थानमा झरेको छ । एक्युआई मापदण्डअनुसार ०–५० सम्म ‘राम्रो’, ५१–१०० ‘मध्यम’, १०१–१५० ‘अस्वस्थ’, १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ ।      गत वैशाख १० गते उपत्यकाको वायु गुणस्तर सूचकाङ्क २४७ सम्म पुगेको थियो, जुन ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्ने भएकाले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर जोखिम देखिएको थियो । विज्ञहरूले त्यसबेला प्रदूषणको उच्चस्तरले श्वासप्रश्वाससम्बन्धी समस्या बढाउने चेतावनी दिएका थिए ।      वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार लामो समयसम्म वर्षा नहुँदा धुलो, धुवाँ र डढेलोबाट उत्पन्न प्रदूषण वायुमण्डलमा थुप्रिने गर्दछ । 'सुक्खा मौसममा वन डढेलो बढ्ने र त्यसबाट निस्किएको धुवाँ उपत्यकामा थुनिने भएकाले प्रदूषण उच्च हुन्छ', उनले भने, 'छिमेकी मुलुक भारतबाट आउने प्रदूषित हावाले पनि काठमाडौंको वायु गुणस्तरमा असर पार्ने गरेको छ ।'      उनले वर्षासँगै धुलो र धुवाँ पखालिने तथा हावाको बहाव बढ्ने भएकाले वायु गुणस्तर सुधार हुने बताए । साथै, दीर्घकालीन रूपमा प्रदूषण नियन्त्रण गर्न दिगो र वातावरणमैत्री विकासका उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक रहेको उनको जोड छ । हालको सुधारले उपत्यकावासीलाई केही राहत दिएको भए पनि विज्ञहरूले प्रदूषण नियन्त्रणका स्थायी उपायमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन् । रासस

नेपाल उद्योग वाणिज्य महासंघ एसोसिएट सदस्यमा भण्डारी निर्वाचित

काठमाडौं । ह्याम्स अस्पतालका अध्यक्ष रामशरण भण्डारी नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट सदस्यमा विजयी भएका छन् ।   १ हजार ४३ मत प्राप्त गर्दै उनी विजयी भएका हुन् । तीन दशकदेखि स्वास्थ्य व्यवसायीको क्षेत्रमा सक्रिय भण्डारी स्वास्थ्य क्षेत्रका व्यवसायी व्यवस्थापक हुन् ।   आजभन्दा करिब तीन दशक अघि सिन्धुपाल्चोकबाट काठमाडौं आएका भण्डारी स्वास्थ्य क्षेत्रका उपकरण व्यवसायीका रूपमा यो क्षेत्रमा छिरेका थिए । करिब १९ वर्षसम्म मेडिकल उपकरणको व्यवसाय गरेका उनी हाल काठमाडौंको धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालको नेतृत्व गरिरहेका छन् भने उनैको नेतृत्वमा भक्तपुरको गठ्ठाघरमा रहेको नागरिक अस्पताल पनि सञ्चालन भइरहेको छ । ह्याम्सलाई अन्तर्राष्ट्रियस्तरको अस्पताल बनाएका भण्डारीले नागरिक अस्पताललाई पनि ह्याम्स जस्तै अन्तर्राष्ट्रियस्तरको अस्पताल बनाउने क्रममा छन् । भण्डारीले स्वास्थ्य क्षेत्रलाई व्यवसायका रूपमा मात्र नभइ सेवा र जिम्मेवारीका रूपमा लिइरहेका छन् । अस्पतालमा दक्ष जनशक्ति, अत्याधुनिक उपकरण र प्रभावकारी व्यवस्थापन प्रणालीमार्फत बिरामीलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने काममा अग्रसर छन् ।