अधिवेशन प्रक्रिया अघि नबढाएको भन्दै कांग्रेसका चार जिल्ला सभापतिको जिम्मेवारी खोसियो

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले १५औं महाधिवेशनअन्तर्गतको अधिवेशन प्रक्रिया अघि बढाउन असहयोग गरेको भन्दै चार जिल्लाका जिल्ला सभापतिको जिम्मेवारी खोसेको छ । पार्टीले उनीहरूको स्थानमा नयाँ नेतालाई कार्यवाहक जिल्ला सभापतिको जिम्मेवारी दिएको हो ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार कञ्चनपुर, मुगु, डोटी र बागलुङका जिल्ला सभापतिको जिम्मेवारी परिवर्तन गरिएको हो । जिम्मेवारी खोसिएका चारैजना सभापति पूर्वसभापति शेरबहादुर देउवानिकट मानिन्छन् ।

कांग्रेसले कञ्चनपुरका सभापति पदम बोगटीको जिम्मेवारी खोसेर हरिचन्द्र रानालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ । त्यस्तै, मुगुका सभापति ऐनबहादुर शाहीको स्थानमा हरिजंग शाहीलाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी डोटीका सभापति नरेन्द्रबहादुर सिंहको जिम्मेवारी नारायणबहादुर बलायरलाई दिइएको छ भने बागलुङका सभापति जित शेरचनको स्थानमा तारानाथ पौडेललाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकिएको छ ।

पार्टीले १५औं महाधिवेशनअन्तर्गतका अधिवेशन प्रक्रिया अघि बढाउन सम्बन्धित जिल्ला नेतृत्वलाई निर्देशन दिँदै आएको थियो। तर तोकिएको प्रक्रियामा अघि नबढेपछि जिल्ला नेतृत्व परिवर्तन गरिएको कांग्रेसको भनाइ छ ।

जिम्मेवारी खोसिएका जिल्ला सभापतिहरू पूर्वसभापति देउवानिकट रहेकाले पछिल्लो निर्णयलाई कांग्रेसभित्र संस्थापन र पूर्वसंस्थापन पक्षबीचको विवादसँग जोडेर हेरिएको छ । यद्यपि, पार्टी कार्यालयले भने निर्णयको आधारका रूपमा महाधिवेशन प्रक्रिया अघि बढाउन आवश्यक सहजीकरण नभएको विषयलाई उल्लेख गरेको छ ।

चार जिल्लामा नयाँ कार्यवाहक सभापति तोकिएसँगै अब ती जिल्लामा रोकिएको अधिवेशन प्रक्रिया अघि बढाउने जिम्मेवारी उनीहरूलाई दिइएको छ । यस निर्णयले कांग्रेसको १५औं महाधिवेशनको तयारीसँगै पार्टीभित्रको आन्तरिक शक्ति संघर्षसमेत थप स्पष्ट रूपमा सतहमा ल्याएको छ ।

Share News