नेपाल उद्योग वाणिज्य महासंघ एसोसिएट सदस्यमा भण्डारी निर्वाचित

काठमाडौं । ह्याम्स अस्पतालका अध्यक्ष रामशरण भण्डारी नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट सदस्यमा विजयी भएका छन् ।   १ हजार ४३ मत प्राप्त गर्दै उनी विजयी भएका हुन् । तीन दशकदेखि स्वास्थ्य व्यवसायीको क्षेत्रमा सक्रिय भण्डारी स्वास्थ्य क्षेत्रका व्यवसायी व्यवस्थापक हुन् ।   आजभन्दा करिब तीन दशक अघि सिन्धुपाल्चोकबाट काठमाडौं आएका भण्डारी स्वास्थ्य क्षेत्रका उपकरण व्यवसायीका रूपमा यो क्षेत्रमा छिरेका थिए । करिब १९ वर्षसम्म मेडिकल उपकरणको व्यवसाय गरेका उनी हाल काठमाडौंको धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालको नेतृत्व गरिरहेका छन् भने उनैको नेतृत्वमा भक्तपुरको गठ्ठाघरमा रहेको नागरिक अस्पताल पनि सञ्चालन भइरहेको छ । ह्याम्सलाई अन्तर्राष्ट्रियस्तरको अस्पताल बनाएका भण्डारीले नागरिक अस्पताललाई पनि ह्याम्स जस्तै अन्तर्राष्ट्रियस्तरको अस्पताल बनाउने क्रममा छन् । भण्डारीले स्वास्थ्य क्षेत्रलाई व्यवसायका रूपमा मात्र नभइ सेवा र जिम्मेवारीका रूपमा लिइरहेका छन् । अस्पतालमा दक्ष जनशक्ति, अत्याधुनिक उपकरण र प्रभावकारी व्यवस्थापन प्रणालीमार्फत बिरामीलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने काममा अग्रसर छन् ।

६५ घण्टापछि स्याङ्जामा बिजुली

काठमाडौं । चट्याङका कारण ट्रान्सफर्मरमा क्षति पुगेपछि अवरुद्ध भएको स्याङ्जाको वालिङ र भीरकोट नगरपालिका क्षेत्रको विद्युत् सेवा करिब ६५ घण्टापछि पुनः सुचारु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले सेवा पुनःस्थापनाका लागि समन्वयकारी भूमिका निर्वाह गरेको हो । आइतबार बिहानदेखि विद्युत् अवरुद्ध हुँदा करिब १३ हजार  सेवाग्राही (घर, स्वास्थ्य, सञ्चार र अन्य अत्यावश्यक सेवाहरू) प्रभावित भएका थिए ।  उक्त सूचना मन्त्रालयमा प्राप्त भएसँगै सचिवालय सक्रिय भएको थियो । उक्त क्षेत्रमा बुटवल पावर कम्पनीको वितरण प्रणालीमार्फत विद्युत् आपूर्ति हुँदै आएको छ । कम्पनीको ट्रान्सफर्मर मर्मत गर्न तीन साताभन्दा बढी समय लाग्ने देखिएपछि वैकल्पिक उपाय अपनाइएको हो ।  समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरणको हेटौंडास्थित कार्यालयबाट ३ एमभीए क्षमताको ट्रान्सफर्मर झिकाएर स्याङ्जामा जडान गरिएको छ । कम्पनीको ट्रान्सफर्मर पूर्ण रूपमा मर्मत नहुन्जेलसम्मका लागि प्राधिकरणले उक्त ट्रान्सफर्मर भाडामा उपलब्ध गराएको हो । स्थानीयबासी, नेपाल विद्युत प्राधिकरणका सम्बन्धित शाखाका कर्मचारी तथा बुटवल पावर कम्पनीका प्राविधिक टोलीको सक्रियतासँगै आपतकालीन अवस्थामा छोटो अवधिमै अन्तरनिकायबीच समन्वय गरी सेवा सुचारु भएको हो ।

प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक आह्वान

काठमाडौं । सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा नियुक्तिको प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आह्वान भएको छ ।  परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनअनुसार संवैधानिक परिषद सचिवालयले बिहीबारका लागि बैठक बोलाएको बैठक २०८३ वैशाख २४ गते बिहीबार (भोलि) बेलुका ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने  भएको हो । बैठकको प्रमुख एजेण्डा ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस रहेको सचिवालयले जनाएको छ ।  प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने उक्त बैठकमा सहभागी हुनका लागि परिषद्का सदस्यहरूलाई पत्राचार गरिएको छ ।  बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता, भीष्मराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारी ठाकुरको उपस्थित रहनेछ । संवैधानिक व्यवस्थाअनुसार परिषद्ले प्रधानन्यायाधीशका लागि सिफारिस गरेका व्यक्तिको नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ । समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिद्वारा प्रधानन्यायाधीश नियुक्त गर्ने प्रावधान रहेको छ ।