काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा राखिएको शव एक सातापछि प्रहरीले पुनः शव व्यवस्थापन गर्न थालेको छ । शिक्षण अस्पतालको शव गृहमा राखिएको ५५ वटा शव गोकर्णेश्वरमा शव व्यवस्थापन गर्न थालिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए ।
' शव व्यवस्थापन गर्ने ठाउँको खोजी भइरहेको छ। शव व्यवस्थापनका लागि नयाँ ठाउँ नभेटिएपछि पुनः गोकर्णेश्वरमा लगेर व्यवस्थापन गर्न थालिएको हो,' उनले भने ।
अस्पतालको शव गृहमा अहिले थप शव आएका छैनन् । शव गृहमा राखिएका पुरानै शवलाई व्यवस्थापन गर्न लागिएको अस्पतालको शव गृह परिसरमा रहेका एसपी प्रदीप सिंहले जानकारी दिए ।
एक साताअघि रसुवाको भोंटेकोशी बाढीमा परेर ज्यान गुमाएकाहरूको शव जंगलमा राख्ने ठाउँ अभाव भएको थियो । गोकर्णेश्वरको जंगलमा राख्दै आएका शवहरू ठाउँ अभाव हुँदा व्यवस्थापन गर्न नसकिएकाले अस्पतालमा राख्नु परिरहेको नेपाल प्रहरीले जनाएको थियो ।
अस्पतालमा राखिएको शवबाट दुर्गन्ध फैलिइरहेको छ । शव व्यवस्थापनका लागि ठाउँको खोजी भइरहेको थियो । ठाउँ नभेटिएपछि पुनः गोकर्णेश्वरमा लगेर राखिएको हो ।
त्रिवि शिक्षण अस्पतालमा राखिएको २ सय ३१ वटा शव व्यवस्थापन भइसकेको एसपी सिंहले जानकारी दिए । अस्पतालमा रसुवा, नुवाकोट र धादिङबाट २ सय ९८ वटा शव आएको छ । अस्पतालमा हाल ५५ वटा शव रहेको उनले बताए ।
उनका अनुसार मृतकका आफन्तले २५ वटा शव पहिचान गरेर लगिसकेका छन् । अस्पतालमा पछिल्लो केही दिनयता शव आउन छाडेको उनले जानकारी दिए ।
रसुवाको भोटेकोशीमा आएको बाढीका कारण शुक्रबार ११ बजे सम्म १ हजार ४ सय १० जनाको शव फेला परेको छ । रसुवामा १ सय ९९ जना, नुवाकोटमा २ सय ३ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६४ जना, गोरखामा ७८ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्चिममा २ सय २२ जना गरी १ हजार ४ सय ८ जनाको शव फेला परेको हो ।
साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २ सय ४६ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ ।
शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ९ सय ९१ गरी कुल ३ हजार २ सय ७७ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ३ सय ६२ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ ।
हालसम्म बेपत्ता भएका ४ हजार ९० जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार ८ सय ६ जना व्यक्तिहरूलाई राखिएको छ ।