कमला पुल निर्माणको अन्तिम चरणमा,  दुई महिनाभित्र सञ्चालनमा आउने

काठमाडौं । १५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको कमला नदीको पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

मधेशको मेरुदण्ड मानिने हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन यस पुलको ठेकेदार र बीमा कम्पनीबीचको कानुनी विवादका कारण लामो समयदेखि काम रोकिएको थियो । 

पूर्वाधार विकास मन्त्रालयले समस्याको मुख्य कारण पहिचान गरी आवश्यक सहजीकरण गरेपछि निर्माणले तीव्रता पाएको हो ।

नदीमा भाँचिएको दशौँ नम्बरको पिलर उठाउने, सब स्ट्रक्चरको ढलान तथा तीनवटा पिलरको सबलीकरण र पुलको ’लोड टेस्ट’ समेत सम्पन्न भइसकेको छ । 

पानीको सतह घट्नासाथ सुपर स्ट्रक्चरको स्ल्याब ढलान र धनुषातर्फ वर्षाले बगाएको पहुँच सडकमा पुनः माटो भर्ने काम सकिनेछ । सिराहातर्फको पहुँच सडक भने तयार भइसकेको छ ।

अबको दुई महिनाभित्र पुललाई औपचारिक रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

२०६८ सालमा पप्पु लुम्बिनी जेभीले निर्माणको ठेक्का पाएको यो पुल २०७८ असारमा उद्घाटनको तयारी हुँदा पिलर भाँचिएपछि ठप्प बनेको थियो ।

मन्त्रालयले पुल निर्माणसँगै नदी नियन्त्रणका लागि २५ करोड रुपैयाा बजेट सुनिश्चित गरी प्रक्रिया अगाडि बढाएको छ । 

उक्त कार्यका लागि आह्वान गरिएको टेन्डरमा १९ वटा कम्पनी सहभागी भएका छन्, जसको प्राविधिक मूल्याङ्कन सम्पन्न गरी आगामी हप्ता आर्थिक प्रस्ताव खोलिने तयारी छ ।

Share News