हुण्डीमार्फत पैसा नपठाउन इजरायल र साइप्रसमा रहेका नेपालीलाई दूतावासको आग्रह
काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले इजरायल र साइप्रसमा बसोबास गर्ने नेपालीहरूलाई हुण्डी जस्ता अवैध माध्यमबाट नेपालमा पैसा नपठाउन कडा आग्रह गरेको छ। बिहीबार एक सूचना जारी गर्दै दूतावासले यस्ता गैरकानुनी कारोबारमा संलग्न नहुन सबैलाई सचेत गराएको हो । दूतावासले जारी गरेको सूचनामा भनिएको छ, ‘इजरायल तथा साइप्रसमा रहेका कुनै पनि नेपालीले हुण्डीको काम नगर्न र अवैध माध्यमबाट रकम ओसारपसार नगर्न अनुरोध गरिन्छ ।’ नेपाल सरकारले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणका लागि कडा नीति अपनाएको छ । विदेशमा रहेर अनौपचारिक माध्यम (हुण्डी) बाट कारोबार गर्ने वा संकलित रकम नेपाल नपठाउनेहरूको विवरण संकलन गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ । परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालय वा सम्बन्धित निकायमा यस्ता अवैध कारोबारको सूचना विद्युतीय माध्यमबाट पठाउनुपर्ने कानुनी व्यवस्था रहेको छ । सोही व्यवस्था बमोजिम दूतावासले समय–समयमा यस्ता सूचना प्रकाशित गर्दै आएको हो । दूतावासले अवैध हुण्डी कारोबार गर्नेहरूको पहिचान गर्न र त्यस्ता कार्यलाई निरुत्साहित गर्न सर्वसाधारणको सहयोग समेत मागेको छ । ‘कसैले हुण्डीमार्फत पैसा पठाएको वा कारोबार गरेको थाहा भएमा त्यस्तो कार्य गर्ने र गराउने व्यक्तिको विवरण प्रमाणसहित यस राजदूतावासमा उपलब्ध गराइदिनुहोला,’ दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । दूतावासले सबै नेपाली नागरिकलाई वैध बैंकिङ च्यानलबाट मात्रै नेपालमा रेमिट्यान्स पठाउन र राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुर्याउन पुनः स्मरण गराएको छ।
किर्तिपुरमा साथीको हत्या गर्ने तीन जना पक्राउ
काठमाडौं । किर्तिपुरमा एक युवकको हत्या गर्ने तीन जना पक्राउ परेका छन् । बुधबार २४ वर्षीय बिपिन घिमिरेको हत्या गरेको आरोपमा २४ वर्षीय आशिष महर्जन, २१ वर्षीय रोशन बोहोरा र २३ वर्षीय रविन धामी पक्राउ परेका हुन् । गुल्मी धुर्कोट गाउँपालिका हाल किर्तिपुर नगरपालिका ३ ढाल्पा बस्ने घिमिरेको आज दिउँसो धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । साथी-साथी बीचमा विवाद हुँदा उनको धारिलो हतियार प्रहार गरि हत्या गरिएको प्रहरीले जनाएको छ ।
कीर्तिपुरमा साथीको हत्या, आरोपित फरार
काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा धारिलो हतियार प्रयोग गरी आज एक युवकको हत्या भएको छ । बुधबार दिउँसो धारिलो हतियार प्रहार गरेर गुल्मीको धुर्कोट गाउँपालिकाका विपिन घिमिरेको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । उनले भने, 'धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका विपिनको मृत्यु भएको छ । हतियार प्रहार गर्नेको पहिचान खुलिसकेको छ । प्रहरीले चाँडै पक्राउ गर्ने छ ।' प्रारम्भिक जानकारीअनुसार साथी–साथीबीच झगडा हुँदा हतियार प्रहार भएको प्रहरीले जनाएको छ ।