बैंकिङ कसुर मुद्दाका फरार सलिजा कन्दङवा पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दामा फरार रहेका तेह्रथुमको फिदिम नगरपालिका–४ की ५८ वर्षीया सलिजा कन्दङवालाई पक्राउ गरेको छ । दीपक विश्वकर्माको जाहेरीका आधारमा चेक अनादर मुद्दामा फरार कन्दङवालाई काठमाडौं महानगरपालिका–३१ भीमसेनगोलाबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । निजको चेक अनादर मुद्दामा जम्मा बिगो रकम ४० लाख रुपैयाँ रहेको र निजलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत, फिदिम, पाँचथर पठाइएको प्रवक्ता कार्कीले बताए ।  

अटो व्यवसायी गोल्छा महासंघको एसोसियट सदस्यमा निर्वाचित

काठमाडौं । अटो व्यवसायी तथा नाइमाका सदस्य हेमन्त गोल्छा नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट सदस्यमा निर्वाचित भएका छन् । महासंघको ६०औं वार्षिक साधारणसभाका क्रममा नेतृत्वका लागि भएको निर्वाचनमा उनले एसोसियट सदस्यमा १२०२ मतसहित निर्वाचित भएका हुन् ।  उनी सांग्रिलामोटर्सका प्रबन्ध निर्देशक समेत हुन् । सांग्रिला मोटर्सले नेपालमा सिट्रोन, लीपमोटर, सी-१०, बी-१०, टी-०३ लगायत मोडेल बिक्री गर्दै आइरहेको छ । उनको हुलास रेमिटेन्स पनि छ । 

उपचारको नाममा भिसाको दुरुपयोग नगर्न अमेरिकन दूतावासको आग्रह

काठमाडौं । अमेरिकाले विदेशी पाहुनालाई सरकारी सेवाको दुरुपयोग नगर्न आग्रह गरेको छ ।  नेपालस्थित अमेरिकन दूतावासले चिकित्सा सेवाको खर्च बेहोर्न सरकारी सहायता प्रयोग गर्ने विदेशी आगन्तुकहरूले आफ्नो भिसाका सर्तहरूको दुरुपयोग गरिरहेको जनाएको हो । ‘अमेरिकामा सार्वजनिक सुविधाहरूको दुरुपयोग गरेमा वा त्यस्ता सुविधाहरूमा निर्भर भएमा आगामी दिनमा अमेरिका यात्रा गर्न अयोग्य हुन सक्नेछन्,’ दूतावासले उल्लेख गरेको छ ।