भट्टको घरमा फेला परेको अमेरिकी डलर र थाई भाट राष्ट्र बैंकलाई बुझाइयो
काठमाडौं । दीपक भट्टको घरमा फेला परेको अमेरिकी डलर र थाइ भाट राष्ट्र बैंकमा बुझाइएको छ । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १७ को उपदफा (१) १२ बमोजिमको कसुरमा तत्कालका लागि दोषी देखिएपछि घरमा फेला बरामद गरिएको विदेशी मुद्रा अमेरिकी डलर र थाई भाट नेपाल राष्ट्र बैंकमा पठाइदिन आदेश दिएको हो । बुधबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले भट्टको नाममा रहेका दशी स्वरूप पेश भएका मोबाइल समेतका सामानहरू अदालतको जिन्सीमा आम्दानी बाँध्न आदेश दिएका हुन् । आरोपपत्रसाथ पेश गरिएको गाडी नम्बर ०१ ०३३ च १ को गाडी प्रचलित कानुन बमोजिम व्यवस्थापनको लागि कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा पठाउन आदेशमा उल्लेख गरिएको छ । अदालतको आदेशपछि बुधबारै सुलभ अग्रवाल र दीपक भट्टलाई डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
अख्तियारले आरजु राणालाई पठाएको पत्र भानु देउवाले बुझे
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ आरजु राणा देउवालाई बयानका लागि म्याद तामेल गरेको छ । आयोगले वडा कार्यालयमा पत्र पठाएकाले देउवा परिवारको सम्बन्धित व्यक्तिलाई बुझाइएको बुढानीलकण्ठ नगरपालिका वडा २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । ‘देउवा परिवारका स्वकीय सचिवलाई पत्र बुझाइएको छ,’ उनले विकासन्युजसँग भने, ‘भानु देउवालाई बोलाएर पत्र बुझाएको छु ।’ देउवाको भनाइ उद्धृत गर्दै श्रेष्ठले राज्यले पत्र पठाएकाले सहयोग गर्ने बताए । आयोगले मंगलबार देउवाको निवासमा आरजु राणाको नाममा पत्र पठाएको हो । उनको घर बुढानिलकण्ठ नगरपालिका वडा २ मा पर्छ । ‘आयोगले दुई दिन भित्रमा देउवालाई उपस्थित हुनु भन्दै पत्र पठाएको छ,’ उनले भने । ई-पासपोर्ट प्रकरणमा आरजुको प्रत्यक्ष संलग्नता देखिएको आशंकामा परराष्ट्रमन्त्रीको हैसियतमा आयोगले बयानमा बोलाएको हो । देउवा दम्पती हाल सिंगापुरमा रहेका छन् । गत वर्षको फागुन १३ गते उनीहरू सिंगापुर उडेका थिए । त्यसपश्चात उनीहरू स्वदेश फर्किएका छैनन् । यद्यपि उनीहरूले दुई महिनाभित्र नेपाल फर्किने जनाएका छन् । देउवा दम्पत्तिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई इमेलमार्फत पत्र पठाउँदै हाल उपचारका क्रममा विदेशमा रहे पनि साउन २८ गतेभित्र स्वदेश फर्किने जानकारी दिएका हुन् । महानिर्देशक अर्यालले सोमबार प्रधानमन्त्रीलाई भेटेका थिए, यस्तो छ घटनाको नालीबेली देउवा दम्पत्तिको पत्र : २ महिनाभित्र नेपाल फर्केर अनुसन्धानमा सहयोग गर्छौं
विपद्मा हेलिकप्टर चढेर राज्यको सम्पत्ति सिध्याउने दिन गए, म आफै पनि चढ्दिनँ : गृहमन्त्री
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विपद्‌मा हेलिकप्टर चढेर राज्यको सम्पत्ति सिध्याउने दिन गएको बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा बिहीबार (आज) सुरक्षा निकायका प्रमुखहरूसँगको बैठकमा उनले यस्तो बताएका हुन् । अघिल्ला सरकारहरूका पालामा बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षणका नाममा हेलिकप्टरको चरम दुरूपयोग भएको टिप्पणी गर्दै गृहमन्त्री गुरुङले वर्तमान सरकारका कुनै पनि मन्त्रीले अनावश्यक भ्रमण गरेर राज्यको सम्पत्ति नसक्न निर्देशन दिए । उनले भने, ‘म आफै पनि हेलिकप्टर चढेर राज्यको सम्पत्ति दुरुपयोग गर्ने छैन ।’ उद्धार कार्य र सुरक्षा निकायका कर्मचारीबाहेक अन्य कसैले पनि विपद्को बहानामा हेलिकप्टर चढ्न नपाउने व्यवस्था कडाइका साथ लागू गरिने उनले जानकारी दिए । मन्त्री गुरुङले विपद् व्यवस्थापन र पूर्वतयारीका सम्बन्धमा विगतको परम्परागत कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले भने, ‘हामी सधैं विपद् आइसकेपछि मात्र उद्धार र राहतमा खटिने गर्छौं, जसका कारण अपेक्षाकृत नतिजा आउन सकेको छैन । अब यो प्रवृत्ति सुधार्दै विपद् आउनुपूर्व नै सजग र पूर्वतयारीमा रहनु आवश्यक छ ।’ गृहमन्त्री गुरुङले देशका उच्च बाढी-पहिरो जोखिमयुक्त क्षेत्रहरूमा पहिल्यैदेखि तयारी अवस्थामा रहन निर्देशन दिए । उनले भने, ‘सबै निकाय एकीकृत टोली बनेर काम गर्ने हो भने विपदमा कसैले पनि ज्यान गुमाउनु पर्दैन । विपद्कै कारण कसैको पनि ज्यान गएको खबर मलाई सुन्नु नपरोस् ।’ उक्त उच्चस्तरीय बैठकमा तीनवटै सुरक्षा निकायका प्रमुखहरूका साथै विपद् जोखिम न्यूनीकरण क्षेत्रमा कार्यरत वरिष्ठ अधिकारी एवं कर्मचारीहरूको सहभागिता रहेको थियो ।