नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको जिम्मेवारी सिटौलालाई सुम्पिँदै बिदा भए स्वाँर

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्व पुण्यप्रसाद सिटौला (सरोज) ले सम्हालेका छन् ।  गत वैशाख २७ देखि ३० गतेसम्म कास्कीको पोखरामा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यकारिणी समितिले बुधबार आधिकारिक रूपमा आफ्नो कार्यभार सम्हालेको हो । कार्यक्रममा निर्वाचन समितिका संयोजक अधिवक्ता कृष्ण ज्ञवालीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराए । कार्यक्रममा निवर्तमान अध्यक्ष विजयबहादुर स्वाँरले नवनिर्वाचित अध्यक्ष सरोज सिटौला लगायतका पदाधिकारीहरूलाई पद हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।  शपथ ग्रहणका क्रममा नवनिर्वाचित पदाधिकारीहरूले सार्वजनिक यातायात क्षेत्रको सुधार, व्यवसायीहरूको हकहित र समग्र यातायात प्रणालीको विकासका लागि विधानको पूर्ण पालना गर्दै इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाएका थिए । नवनिर्वाचित समितिमा वरिष्ठ उपाध्यक्षहरूको जिम्मेवारी  सानुकाजी प्रजापति, ऐन कुमार शाही र केदार प्रसाद पौडेलले सम्हालेका छन् ।  यस्तै, महासंघको महासचिवमा देगनाथ गौतम र सचिवहरूमा उमेश केसी, चेत प्रसाद गौतम ुअर्जुनु र टंक प्रसाद बस्यालले जिम्मेवारी सम्हालेका छन् ।  त्यसैगरी, कोषाध्यक्षमा राजेन्द्र आचार्य र सह–कोषाध्यक्षमा शोभाखर पौडेलले सम्हालेका छन् । महासंघले सातवटै प्रदेशका लागि प्रादेशिक संयोजकहरू पनि पदस्थापन गरेको छ । जसअनुसार कोशी प्रदेशमा सरोज श्रेष्ठ, मधेस प्रदेशमा हरिनारायण यादव, बागमतीमा सुवर्ण गिरी, गण्डकीमा महेश बहादुर खड्का, लुम्बिनीमा सन्जीव रोका, कर्णालीमा नारायण चपाई र सुदूरपश्चिम प्रदेशमा टेकराज जोशीले संयोजकको जिम्मेवारी सम्हालेका छन् । यसका साथै बस, मिनीबस, ट्रक, ट्याक्सी, माइक्रोबस, ट्याङ्कर लगायतका विभिन्न वर्गीय क्षेत्रका संयोजक र केन्द्रीय सदस्यहरूले पनि सोही अवसरमा शपथ लिएका छन्  । पदस्थापन कार्यक्रममा बोल्दै निर्वाचन समितिका संयोजक ज्ञवालीले निर्वाचन प्रक्रिया उत्साहजनक र लोकतान्त्रिक ढंगले सम्पन्न भएको बताउँदै नयाँ नेतृत्वले यातायात क्षेत्रका विद्यमान चुनौतीहरूलाई चिर्दै व्यवसायीहरूको साझा आवाजको प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरे ।  कार्यक्रममा देशभरका विभिन्न यातायात समिति र संघ-संस्थाका प्रतिनिधिहरूको  उपस्थिति रहेको थियो ।

अमेरिकाको सपना देखाएर १५ लाखभन्दा बढी ठग्ने श्रीमान–श्रीमती पक्राउ

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालको दुरुपयोग गरी विवाहको प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गर्ने एक दम्पतीलाई पक्राउ गरेको छ । आफू अमेरिकामा रहेको र नेपाली बोल्न नआउने भन्दै टिकटक र ह्वाट्सएपमार्फत पीडितलाई ठगी गर्ने दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर २ लुगाडाँडा घर भई हाल काठमाडौंको माछापोखरी बस्ने ३९ वर्षीय सञ्जीव नेपाली र उनकी श्रीमती ३३ वर्षीया अनुष्का भन्ने सरिता पराजुली रहेका छन् । सरिताको स्थायी ठेगाना काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १२ रहेको ब्यूरोले जनाएको छ। ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार सञ्जीव नेपालीले टिकटकमा ‘प्रिन्स तामाङ’ नामको नक्कली आईडी बनाएर आफ्नो अनुहार समेत नदेखाई अंग्रेजी भाषामा कुराकानी गर्ने गरेका थिए ।  उनले पीडितलाई विवाह गरी अमेरिका लैजाने आश्वासन दिँदै आफ्नी बहिनी सरगम तामाङ भन्दै आफ्नै श्रीमती सरिता पराजुलीको ह्वाट्सएप नम्बरमा कुराकानी गर्न लगाएका थिए । यसरी योजनाबद्ध रूपमा पटक–पटक गरी पीडितबाट कुल पन्ध्र लाख दश हजार पाँच सय ठगी गरेको भन्दै ब्यूरोमा निवेदन दर्ता भएको थियो ।  प्राविधिक अनुसन्धान र विश्लेषणका आधारमा साइबर ब्यूरोबाट खटिएको विशेष टोलीले जेठ २ गते उनीहरूलाई माछापोखरीबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनामाथि विद्युतीय माध्यम सम्बद्ध ठगी अपराध मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

१५ मिनेट स्थगनपछि खुलेको संसदमा कुर्सी भने रित्तै

काठमाडौं । श्रम संस्कृति पार्टीको विरोधपछि १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक बुधबार पुनः सञ्चालनमा भएको छ । तर बैठक पुनः सुरु भएलगत्तै संसद् भवनभित्र देखिएको दृश्यले सभामा सांसदहरूको उपस्थितिमाथि भने प्रश्न उठाएको छ । मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिइरहँदा सदनका अधिकांश कुर्सी खाली देखिएका छन् ।बुधबारको बैठकमा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफल जारी छ । विभिन्न मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिन मन्त्रीहरू रोस्ट्रममा उभिएका छन् । तर मन्त्रीहरूको जवाफ सुन्नुपर्ने सांसदहरूको उपस्थिति भने अत्यन्त न्यून देखिएको छ । यसअघि बैठक सुरु भएलगत्तै श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध जनाएका थिए । पार्टीका प्रमुख हर्क साम्पाङसहितका सांसदहरू सभामुखको आसनअगाडि पुगेर नाराबाजी र विरोधमा उत्रिएपछि बैठक सञ्चालन प्रभावित बनेको थियो । लगातारको अवरोधपछि सभामुख डोरप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । स्थगनपछि पुनः बसेको बैठकमा मन्त्रीहरूले जवाफ दिने क्रम सुरु भए पनि धेरै सांसदहरू बैठक कक्षमा फर्किएका छैनन् । केही सांसद संसद् परिसरभित्रै विभिन्न छलफल र भेटघाटमा व्यस्त देखिएका छन् भने कतिपय सांसद सिंहदरबार बाहिर नै रहेका छन् । यसका कारण संसद् बैठकको मुख्य कार्यसूची अगाडि बढिरहेका बेला सदनको उपस्थिति फितलो देखिएको एक सांसदले बताए । प्रतिनिधिसभामा बजेट तथा विनियोजन विधेयकमाथिको छलफललाई सरकारको नीति, कार्यक्रम र खर्च योजनामाथि सांसदहरूले निगरानी गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिइन्छ । सांसदहरूले उठाएका प्रश्नको मन्त्रीहरूले औपचारिक जवाफ दिने यो प्रक्रिया संसदीय जवाफदेहिताको महत्त्वपूर्ण अभ्यास मानिन्छ । तर जवाफ दिने समयमै सांसदहरूको उपस्थिति न्यून रहनुले सांसदहरूले मन्त्रीको उत्तरलाई खासै महत्त्व नदिएको रूपमा बुझ्नुपर्ने बताउँछन् नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङ । विगतका वर्षहरूमा पनि संसद् बैठकका क्रममा सांसदहरूको न्यून उपस्थितिको विषय पटक–पटक सवाल उठ्दै आएको थियो । विशेषगरी मन्त्रीहरूको जवाफ, विधेयकमाथिको दफावार छलफल तथा बजेटमाथिको विस्तृत छलफलका क्रममा सदन खालीजस्तै देखिने प्रवृत्तिप्रति नागरिक समाज र राजनीतिक वृत्तबाट विगतमा पनि आलोचना हुँदै आएको थियो ।